नवौं धादिङ महोत्सव आजबाट शुरु

काठमाडौं।
नवौं धादिङ महोत्सव आजबाट शुरु भएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा गजुरी गाउँपालिकाको संरक्षकमा ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूलनारासहित गजुरी–५ गलौदीस्थित त्रिशुली नदीको किनारमा महोत्सव शुरु भएको हो ।
महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए ।
उद्घाटनपछि सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशले कृषि उत्पादनलाई देशकै आधुनिक मोडलमा लैजान लागेको बताए।
महोत्सवको उद्घाटन पूर्व पृथ्वीराजमार्ग अन्तरगत गजुरीबजारबाट महोत्सव स्थलसम्म बाजागाजा सहित जिल्लाका विभिन्न जातीय पहिचान र भेषभुषा झल्काउने सास्कृतिक -याली निकालिएको थियो ।
जिल्ला भित्रका कृषिजन्य उत्पादन र जल यात्रालाई प्राथमिकता दिन, पर्यटन, घरेलु उद्योग, व्यापार तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पु-याउने उद्धेश्यले पृथ्वी राजमार्ग र त्रिशुली नदीको किनारमा महोत्सव आयोजना गरिएको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले जानकारी दिए।

२५० स्टलहरु रहेको महोत्सवमा कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन हुने,महोत्सव अवधिभर रमाइलो मेला,राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान गरिने धादिङ उद्योग बाणिज्य संघका महासचिव तिलक सिंखडाले बताए ।

माघ २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच करोड बढीको व्यापार हुने आयोजकले बताएको छ।

Scroll to Top