नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने २३ फागुनको साइत

थानकोट ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल आगामी २३ फागुन (६ मार्च)मा ‘ब्रेक थ्रु’ गरिने भएको छ । आयोजनाको दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको छ । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग भने २३ फागुनमा ब्रेक थ्रु गर्ने तयारी गरिएको हो । 

मुख्य टनेलमा अब ४५.६ मिटर खण्ड मात्रै खन्न बाँकी छ । दैनिक औसत चार–पाँच मिटरसम्म सुरुङ खन्न सकिन्छ । त्योअनुसार लगातार काम गरेमा दुई हप्तामै सुरुङमार्ग ब्रेक थ्रु गर्न सकिन्छ । तर, साइत हेराउँदा २३ फागुनमा सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्न उपयुक्त हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले नेपाल सरकार र जापानका उच्च अधिकारीहरूको उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रु गरिने बताए । ब्रेक थ्रु समारोहमा भौतिक पूर्वाधारमन्त्री, नेपालका लागि जापानी राजदूतलगायतका उच्च व्यक्तित्वहरू उपस्थित गराउने योजना छ । 

Scroll to Top