नेपालमै पहिलो पटक काखीमुनि प्वाल पारेर मुटुको भल्ब फेरियो, कति लाग्छ खर्च ?

काठमाडौं । नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा पोखराकी एक ५३ वर्षीया महिलाको काखीमुनि सानो प्वाल पारेर (मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि) माइट्रल भल्ब परिवर्तन गरिएको हो ।

डा अनिल भट्टराईले एक साताअघि मुटुको भल्ब परिवर्तन गरिएको बिरामीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । यसअघि छाती चिरेर मुटुको भल्ब परिवर्तन गरिँदै आएको थियो ।    
“अलि जटिल खालको शल्यक्रिया हो तर हामीसँग सबै उपकरण थियो र सजिलै शल्यक्रिया गरेर माइट्रल भल्ब परिवर्तन ग-यौँ,” उहाँले भन्नुभयो, “हामीले केही दिन बिरामीलाई राखेर ‘डिस्चार्ज’समेत गरिसकेका छौँ ।” उक्त कृत्रिम भल्ब अमेरिकाबाट ल्याइएको थियो ।    
 डा. भट्टराईले इटालीबाट आफूले उक्त प्रविधिबाट मुटुको भल्ब परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको बताउनुभयो ।

 उहाँका अनुसार उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न भारतमा रु २४ लाख लाग्छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न रु सात लाख लाग्ने जनाएको छ ।   

Scroll to Top