नेपाली समाजको गतिशील पर्व : गाईजात्रा

गाईजात्रा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाउने गरिन्छ ।

विभिन्न परम्परा , संस्कृतिमध्ये नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो गाईजात्रा ! गाईजात्रालाई नेवार संस्कृतिबाट सुरू भएको जात्राको रुपमा पनि हेर्ने गरिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ ।

गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय अन्तर्गत रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ

गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर मनाइने भएकोले यस पर्वलाई गाई जात्रा भनिएको हो ।

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई एकबार जीवनमा सबै यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।

सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ ।

हिन्दुधर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ ।

गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।

यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ ।

गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोराजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ ।

गाईजात्रा पर्व काठमाडौं उपत्यका लगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, गोर्खा, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाईन्छ ।

Scroll to Top