नेपाली साहित्यका ३ भेट्रान कविका ३ कविता :

” शनिबार साहित्यबार ” शोणितपुर खबरको साहित्यप्रतिको सम्म्मान र गहिरो अनुराग हो ।

नेपाली साहित्यको कविता विधा निरन्तर यात्रामा रहेको अवस्थामा हाम्रो विवेकले स्पर्श गरेका काव्यिक चेतनालाई क्रमशः प्रकाशन गर्ने अवसर जसरी हामीलाई प्राप्त भइरहेको छ त्यसका निम्ति हामी नेपाली साहित्यका स्वनामधन्य स्रष्टाहरुप्रती निरन्तर अनुग्रहित छौँ / रहनेछौं !

अविनाश श्रेष्ठ सुप्रसिद्द कवि तथा कथाकार स्वत: हुन् भने उनलाई साहित्यमा पर्या चेतना प्रतिपादन र प्रयोगकर्ताकारुपमा समेत ग्रहण गर्न सकिन्छ ।

उषा शेरचन नेपाली साहित्यका निम्ति प्रकृतिको अनुपम उपहार हुन् ! मुक्तक विधामा उनको अतुलनीय योगदान रहेको छ भने , कथा , कविता र निबन्धमा समेत उनको विस्तारित उपस्थिति रहेको छ ।

विश्वविमोहन श्रेष्ठ मुलतः कवि हुन् ! कवि नै हुन् र सारमा कविता हुन् ! नेपाली कविताको क्षेत्रमा उनको मानक भुमिका र योगदान रहिआएको छ ।

यसै सन्दर्भमा आजको ” शनिबार साहित्यबार ” मा नेपाली साहित्यको विस्तार र विकासमा अविरल योगदान दिएका / दिँदै आएका तीन भेट्रान सर्जकहरु : उषा शेरचन , अविनाश श्रेष्ठ र विश्वविमोहन श्रेष्ठका तीन कविता प्रस्तुत गरेका छौं !

भोलिको गीत

अविनाश श्रेष्ठ

चिनाउनुअघि नै गुरुबाले बाह्रखरी
आमाले मलाई चिनाइसक्नुभएको थियो :
रूख
चरा
आकाश
नदी
मान्छे

जङ्गल ।

रूखको साथी थियो चरा
चराको अभिभावक थियो आकाश
आकाशको आत्मीय नदी
नदीको आफन्ती थियो मान्छे
मान्छेको सहयात्री थियो जङ्गल
र जङ्गलले सुसेल्दा शरद् आउँथ्यो
जङ्गलले सुस्केरा काढ्दा थालिन्थ्यो शिशिर
गीत गाउँदा ज़ङ्गलले
जताततै ढकमक्क फक्रिन्थ्यो वसन्त ।

वसन्तसित थियो- फूलहरूको अक्षौहिणी सेना पुतलीहरूका हजारौं-हजार बटालियन
सुगन्धका अदृश्य पल्टनहरू
अनि इन्द्रेनीका रङ्गीन सेवा-पदक
छातीमा भिरेर
हाँसिरहेको हुन्थ्यो – सुकिलो पर्यावरण ।

मेरो बाल्यकाल
कुनै दन्त्यकथाको देश जस्तै सुकसुकाउँदो थियो ।

आज म
उमेरको उनन्चालीसौं मैनबत्ती बालेर
उभिएको छु फोहोरको थुप्रो जस्तो पृथिवीमा

र खोज्दै छु
ती देवदूत जस्ता
रूख
चरा
आकाश
नदी
मान्छे

जङ्गल
कहाँ गए ?

कहाँ गए ती परीकथाका नायक जस्ता रूखहरू ?
रूखहरूमा फूल जस्तै फक्रेका देखिने चराहरू ?
चराहरूका गहनाले झलमल्ल सिँगारिएकी चिरयौवना आकाश ?
आकाशलाई छातीमा राखेर हिँडिरहने सलो नदी ?

नदीलाई पुजेर नअघाउने तत्त्वद्रष्टा मान्छे ? मान्छेको हत्केलामा सभ्यता राखिदिने जङ्गल ? खै कता गए ?

थाहा छ
भोलि मलाई
नाति-नातिनाले सोध्नेछन्
पनाति-पनातिनाले सराप्नेछन् खनाति-खनातिनाले राक्षस कोर्नेछन्

मैले जोगाउन सकिनँ
उनीहरूको हिस्साका रूख
उनीहरूको भागका चरा
उनीहरूको अंशको
प्वाल नपरेको नीलो कञ्चन आकाश

मैले जोगाउन सकिनँ
आउने पुस्ताका लागि
चितुवा जस्ता जाँगरिला-फुर्तिला नदी
दानवताका दाँत उम्रनुअघिको सहिष्णुगोत्रीय मान्छे
आशीर्वाद जस्तै सधैं सँगसँगै रहनुपर्ने जङ्गल ।

मेरो खनातिकी आमाले
आफ्नो नाबालक छोरालाई
सबैभन्दा पहिले चिनाउनेछिन्
दुःखजस्तै फैलिएको मरुभूमि
र भन्नेछिन् :

“बाबा !
तिम्रा जिजु-पुर्खा अदूरदर्शी पिचास थिए
तिम्रा च्याप्जु-पुर्खा मात्तिएका दैत्य थिए
तिमी मानिस बन्ने कोशिश गर्नुपर्छ बाबा !
मानिस बन्ने कोशिश गर …!


मेरो जीवन करार

उषा शेरचन

मलाई थाहा छ
म कुनै वस्तु होइन
र पनि वस्तु बनाइएकी छु
म कुनै चिज होइन
र पनि चिज बनाइएकी छु

विवाहका बजारहरुमा
थुप्रै वरहरुकाबीच
परिवारले शोपीस बनाएर
समाजले म्यानीक्विन बनाएर
भरि बजारमा
मलाई
सेलमा राखेको हुन्छ

थरीथरीका
ग्राहक आएर
हेर्छन्
छाम्छन्
मोलतोल गर्छन्
बोली लगाउँछन्
मन परे नपरेको
फैसला गर्छन्

त्यो फैसलामा
मेरो पनि सहमतिको
आवश्यक हुन्छ भनेर
ठान्दैनन् कसैले पनि
मेरो पनि रायको
आवश्यक हुन्छ भनेर
मान्दैनन् कसैले पनि

अरुकै हैकममा
सञ्चालित हुन्छ मेरो जीवन
निर्देशित हुन्छ मेरो जीवन

सबैको निर्देशनलाई
शिरोपर गर्दै
र चुपचाप स्विकार्दै
निस्कनु पर्छ,
कुनै अन्जान यात्रामा

भाग्योदय चिठ्ठामा
निर्भर
मेरो भाग्यको बाटोमा
काँडा बिछ्याइएको पनि हुनसक्छ
फूल ओछ्याइको पनि हुनसक्छ

मेरो भाग्यको परिवेश
अत्यन्तै कुरुप पनि हुनसक्छ
अत्यन्तै सुन्दर पनि हुनसक्छ

मेरो भाग्यको घर
यातनाको शिविर पनि हुनसक्छ
मायै मायाको खानी पनि हुनसक्छ

परिवार र समाजको हातबाट
चल्ने र नाँच्ने
कठपुतली
मलाई
आफू खुसी नाच्ने अधिकार छैन रे
आफू खुसी हाँस्ने इजाजत छैन रे
आफू खुसी बाँच्ने अनुमति छैन रे

जसले जे भने पनि
चुपचाप मुन्टो हल्लाउनु मेरोे धर्म हो रे
चुपचाप शिरोपर गर्नु मेरो कर्म हो रे

हरेक युगमा
समाज र परिवारलाई
पिता र दाजुभाइलाई
पति र पुत्रलाई
समेत
अग्नि परिक्षा
मैले नै दिनुपर्छ रे

आफ्ना सबै इच्छा
र आकांक्षाको
तिलाञ्जली दिएर
आफ्ना लागिभन्दा

अरुका लागि नै नाँच्नु पर्छ रे
अरुका लागि नै हाँस्नु पर्छ रे
अरुका लागि नै बाँच्नु पर्छ रे

लौ तपाईँहरू स्वयंले
भन्नु होस् त हजुर !
गोठमा बाँधिराखेकी
उ…..त्यो गाई

घरमा बाँधिएकी ‘म’मा
कुनै फरक छ त हजुर ?
कुनै फरक छ त हजुर ??

————————————–

यात्रा

विश्व विमोहन श्रेष्ठ


छिनाले निरन्तर खोपेपछि
ढुङ्गाको पनि मूर्ति बन्छ ।
यात्रामा अनन्त
अवरोधहरु हुन सक्छन्
निरन्तर हिंडेपछि
एक दिन
गन्तव्यमा पनि पुगिन्छ ।
वर्षामा बाढी आएर
नदीनालाहरु बढ्न सक्छन्
हिउँदमा तुसारोले
नागी र फाँटहरु
ढाक्न सक्छन्
पहिरोले कतै बाटाहरु
भत्केका होलान्
बाढीले कतै
करेसा र बारीहरु
लगेका होलान्
सल्लाको चिसो स्याँठले
उसै पनि मुटु हल्लाउँछ
अल्छी बोकेर आङमा
सिकुवामा त्यसै
पल्टिने हो भने
छेपारोले पनि घर बनाउँछ
यात्राम अनन्त
अवरोधहरु हुन सक्छन्
निरन्तर हिँडेपछि
एक दिन
गन्तव्यमा पनि पुगिन्छ ।
अँध्यारोमा धूपीहरु
भूत जस्ता देखिन्छन्
माथिबाट गुडुल्किँदै आउने
रोडाले मात्र होइन
ओरालीको चिप्लेटीले पनि
आँटहरु धर्मराउँछन्
सारंगीको धुन सुसेल्दै
निरन्तर बहिरहने
सौम्य र शान्त
तमोरलाई हेर
अनन्त हाँकहरुलाई सहँदै
निरन्तर बहिरहेछन्
उसै हाई काढेर
मौसमकै चर्चामा
चर्किने हो भने त्यसै
हुटिट्याउँले पनि सागर थाम्छ
यात्रामा अनन्त
अवरोधहरु हुन सक्छन्
निरन्तर हिँडेपछि
एक दिन
गन्तव्यमा पनि पुगिन्छ ।
माथि लेकतिर
बुकीका फूलहरु
फूल्छ भन्छन्
त्यहाँसम्म पुग्न
चिउरीको उकालो चढ्नु पर्छ
मधेसको यो उखरमाउलो
घामलाई सहन
घुमाउनेको मुस्कानलाई
सम्झनुपर्छ
हेर
यात्रामा निस्केपछि
फर्कनु अशुभ हुन्छ
अब हिलेको
हुस्सु र कुहिरोलाई पनि छिचोल्दै
अगाडि निस्कुपर्छ
उसै क्षितिजलाई हेरेर
सपनामैहराउने हो भने त्यसै
हत्केलाले पनि
सूर्यलाई छेक्छ
यात्रामा अनन्त
अवरोधहरु हुन सक्छन्
निरन्तर हिंडेपछि
एक दिन
गन्तव्यमा पनि पुगिन्छ ।
पारि अरुणको पानीमा
सूर्यास्त तैरिरहेछ
बाल–बच्चाहरु खेलेर
यस बेला घर आए होलान्
चुराको छङछङ र
तुलसीको मठमा बज्ने
घण्टीको टिङटिङले
खुट्टा अझै लरबराउँछ
यसरी यात्रामा
सम्झेर बारम्बार
प्रेयसीलाई
मन डोलाउने हो भने
कोलम्बसको पाइतला पनि
जहीँको तहीँ रोकिन्छ
हेर –
बकैनाको रुखबाट फड्फडाउँदै
एक हूल ढुकुरहरु
भर्खरै
आकाशको अनन्ततामा उडे
उसै टाउको अडयाएर घुँडामा
भाग्यमै बस्ने हो भने त्यसै
डोकामा पनि दुध दुहिन्छ
यात्रामा अनन्त
अवरोधहरु हुन सक्छन्
निरन्तर हिँडेपछि
एक दिन –
गन्तव्यमा पनि पुगिन्छ ।

Scroll to Top