नौबिसे-मलेखु सडक खण्ड आजदेखि राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने 

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडक खण्ड आजदेखि १७ दिनसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

सिम्लेदेखि मलेखु सडक खण्ड चौडा बनाउन पहरो कटान गर्नुपर्ने भएका कारण राति चार घण्टा यो खण्डमा गाडी आउजाउ बन्द गर्न लागिएको हो ।

आजदेखि २० गतेसम्म खयरघारी र पोखरेखोला नजिक गाडी आउजाउ रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए । यो समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको गाडीबाहेक अन्य गाडी चलाउन पाइने छैन ।

नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डले सूचना निकालेर यो खण्डमा दिउँसोको समयमा मात्र यात्रा गर्न अनुरोध गरेको छ । काठमाडौँबाट बाहिरने गाडीलाई धादिङको थाक्रे गाउँपालिका-१ को एक्लेफाँटमा र काठमाडौँ भित्रिने गाडीलाई गजुरी गाउँपालिका-५ घाटबेसी पुलमा रोकिने सूचनामा उल्लेख छ ।

Scroll to Top