पूर्वगृहमन्त्रीका छोरा प्रतीक थापा पक्राउ

काठमाडौँ । पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

सीआईबीको टोलीले उनलाई बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि थापा फरार रहँदै आएका थिए ।

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट १ करोड रुपैयाँ लिएको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो । भुटानी शरणार्थी प्रकरणमा पीडितबाट प्रतीकले रकम लिएको भन्दै जाहेरी परेको थियो ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, प्रतीक थापा, विचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र कीर्ते गरी ४ वटा कसुरमा ०८० जेठ १० मा मुद्दा दायर भएको थियो । त्यसमध्ये १८ जनामात्रै पक्राउ परेकामा बाँकी फरार थिए । फरार रहेका प्रतीक त्यतिबेलै विदेश भागेको बताइएको थियो । 

Scroll to Top