प्रखर युवा कवि अविनाश भट्टराईका ३ कविता

समालोचकहरूले नयाँ पुस्ताका सिर्जना र प्रतिबद्धतालाई लिएर आसावादी धारणा व्यक्त गर्नुले नेपाली साहित्यमा युवा उपस्थितिको सघन व्याप्तिले अनुमोदन प्राप्त गरेको दृष्टान्त प्रस्तुत भएको छ !

साठीको अन्तिम दशकदेखि ८० को प्रारम्भिक कालसम्म आइपुग्दा नेपाली साहित्यको समग्र विधामा युवा लेखकहरूको गुणस्तरीय सहभागिता उल्लेखनीय देखिन्छ !

गहिरो अभ्यास र अनवरत साधनाको प्रक्रिया मार्फत कतिपय युवाहरूले नेपाली साहित्यको मुलधारमा अल्प समयमै आफुलाई स्थापित समेत गरिसकेको उदाहरण थुप्रै छन् !

आफ्नो भिन्नै शैली र सामर्थ्य सहित हाल “एकै” समयमा “धेरै” कविहरू कविता लेखिरहेका छन् । र , कविताको शक्ति र प्रभावलाई सिद्ध गर्ने प्रयत्नमा ती लागिरहेका छन् !

पछिल्लो समय जागरुकताका साथ कविता लेखिरहेका कविहरूमध्ये कर्जन्हा , बन्दिपुर , सिरहाका अविनाश भट्टराई पनि एक हुन् !

आजको शनिबार – साहित्यबारमा उनै युवा कवि अविनाश भट्टराईका ३ ओटा कविता प्रस्तुत गरिएको छ ।

 

आगो

कहिलेकाँही मलाई झोँक चल्छ
उठाएर एक चिम्टी धुलो
लगाउँछु निधारबीचमा टीका
सम्झिन्छु माटोको माया, श्रद्धा
किन एकाएक पोल्न थाल्छ- टीकाभरिको निधार
कस्तो आश्चर्य? यो माटोको धुलो हो या आगोको झिल्को ?

झ्यालको काँच छेडेर एकहोरो बगिरहन्छ आँखा आकाशतिर
किन उडिरहन्छ त्यो जहाज आगो बोकेर माथिमाथि
किन उडिरहन्छन् ती चराहरु
झिल्को बोकेर बताससँगसँगै ?

पार्टी कार्यालयतिर
अध्यक्षको टेबुलमा आरामले सुस्ताइरहन्छ नेपाली झण्डा
उसै हृदय झण्डाको रङमा पोतिन खोज्छ
सुम्सुम्याउँन भ्याइहाल्छु
आथ्था ! पोल्छ नमज्जाले हत्केलाहरु

जब त्यहाँ गुलाब फुल्छ
लाग्छ मौजुद छ एउटा स्वर्णिम साम्राज्य
पिटिक्क बनाउँन मन लाग्छ
कसैको ओंठमा फुलाईदिउँझैं लाग्छ
कसो कसो छोईहाल्छु
ओहो ! डाम्छ पत्रले औँलाहरु

सायद मलाई ‘पाईरोफोबिया’ छ
कि त मेरो मस्तिष्क केही विचलित छ
नत्र किन देख्छु म हरेक कुरामा आगो ?
‘लिपिस्टिक’मा आगो
सिन्दूरमा आगो
टोपीमा आगो
धोतीमा आगो

अचेल यी माहुरीहरु कुन्नी के खान्छन् ?
घारमा आएर आगो ओकल्छन्
बेवारिसे पत्करहरु एकैठाउँ बटुलिन्छन्
र आँफै झोसिन खोज्छन्
के लेख्छन् यी लेखकहरू ? अक्षर बलिरहन्छन्

अरे म त यात्री न हुँ
हिँडिरहन्छु जिन्दगीको पूर्व-पश्चिम राजमार्ग
थाक्छु अनि सुस्ताउँछु- चौतारीतिर
आजभोलि मलाई घामले मात्र पोल्दैन, छहारीले पनि पोल्छ
आगोले मात्र पोल्दैन, पानीले पनि पोल्छ
फेरि पनि
म आगोबाट बच्नँ आगो नै समाउँछु !

देशजस्तो

किनारै किनार हिँड्न बिर्सिएको नदीजस्तो
के हो त्यो –
लय बिग्रिएको गीतजस्तो
हरियो इस्टकोट खोलेर बसेको पहाडजस्तो
सेतो ह्याट् फुकालेर फ्याँकेको हिमालजस्तो

मलाई जवाफ दिनोस्,
कसले काट्यो पखेँटा चराहरूको ?
र भिराईदियो पखेँटा पासपोर्टको
के हो त्यो –
विमानस्थलमा आँखाको बाँध भत्काएर
बगेको खोलाजस्तो
त्यही खोलाको भेलमा
बगेको सपनाजस्तो

अचेल जहीँतहीँ देख्छु म
माटोको खून चुसिरहेका जुकाहरू
झाडीमा रगत लत्पतिएका सलबारहरू
सुदूर गाउँका आदिम भोकहरू
सिटामोल पनि नदेखेका रोगहरू
के हो त्यो –
गरीबको छालाबाट बनेको कोटजस्तो
गरीबकै छालाबाट बनेको नोटजस्तो

सायद मलाई स्किजोफ्रेनिया हुन सक्छ
नत्र किन देख्छु म अनौँठा दृष्यहरू
म देख्छु –
मसानघाटमा शहीदको कंकालबाट झरेको आँशु
इतिहासको काँधमा फर्फराईरहेको क्रान्तिको झण्डा
त्यही झण्डाले बेरेर लुकाइएको
महँगो मदिराको बोतल
म देख्छु –
कालो इनामेल पोतिएको आकाशको छाती
दम लागेको बतासको फोक्सो
कहिले म देख्छु –
तलाउ हेरेर कपाल कोरिरहेको जून
रातको भित्तामा पहेलो रङ्ग पोतिरहेका जूनकिरीहरु
फेरि तिनै जूनकिरीलाई नै कालो पोतिरहेका अन्धकारहरू

मलाई सोध्न मन लाग्छ,
के हो त्यो –
झलमल्ल हुन नपाएको
अध्याँरोले पनि छोपी नभ्याएको
के हो त्यो –
अगाडि दौडन नसकेको
पछाडि पनि सर्न नजानेको
गियर फसेको गाडीजस्तो
कस्तो कस्तो
मेरै देशजस्तो ।

मौनता

कसरी चुपचाप खस्छ दूवोमाथि शीत
र चुपचाप रित्तिन्छ घामको कमजोर चुम्बनमा
कस्तो आवाज सुनिन्छ –
कपास भित्तासँगको घर्षणमा,
फूल पत्थरमाथि खस्दा,
र एउटा पातले हाँगाबाट आत्महत्या गर्दा

किन यस्तो लाग्छ ?
यो दिन आज मस्तसँग निदाईरहेछ,
सीमाना पारीको गोली लागेर निदाईरहेको निर्दोषजस्तो
यो मौसम रोक्किइरहेछ,
जसरी रोक्किन्छ – आन्दोलनकारीको टाउकोभित्र पड्किसकेको बुलेट
कहिले यो मौसम मौन बगिरहन्छ,
जसरी बग्छ – भरियाको निधारबाट श्रम
जसरी बग्छ – बलात्कारपछि बालिकाको योनीबाट रगत

यो समय मौनताको ‌करङमाथि सुस्ताईरहेछ
जसरी सुस्ताउँछ – भयङ्कर भीर तल झरेको थोत्रो यात्रुवाहक
यो समय मौन हल्लाउँछ हातहरु – मुगलान बिदाईमा
मौन खसाउँछ आँखाहरु –
कफिनको स्वागतमा

त्यो बादल मौन मौन खियाईरहेछ डुङ्गा – नीलो तलाउमा
फुलहरु चुपचाप नाचिरहेछन् –
बतासको मौन सङ्गीतमा
केही नबोली हेरिबसेकोछ लाटो घाम
पहाडको पर्दामा – हिउँको मौन चलचित्र !

म पनि त मौन बसेको छु ,
जसरी बस्छ रातो ‘क्यानभास’मा –
सेतो चन्द्र – सूर्य
म मौन मौन जलिरहेछु ,
जसरी जलिरहन्छ राँको –
मसाल जुलुसमा
म केही नबोली चलिरहेछु ,
जसरी चल्छ दुब्लो छाल –
जलाशयको छातीमा

मौनता मेरोलागि मसी बनेको छ – मसी ,
जुन पोखिन खोज्छ सावधानीपूर्वक –
यो माटोमा
लेखिन खोज्छ माटोभरि ठूला अक्षरहरु ,
र सुनिन खोज्छ कानको जाली नै फुट्नेगरी
मौन आवाजहरु !

Scroll to Top