बागमती प्रदेश सरकारले त्रिभुवन पार्क सम्बन्धमा काट्यो दुईटा पत्र

काठमाडौं । लामो समयदेखि विभिन्न विवादमा फस्दै आएको थानकोटस्थित ऐतिहासिक त्रिभुवन पार्क ( सहिद स्मृति प्रकृति प्रतिष्ठान ) भित्र भइरहेको पछिल्लो व्यथिति र लापरबाहीप्रति केन्द्रित रहेर बागमती प्रदेश , संस्कृति , पर्यटन तथा सहकारी मन्त्रालयले दुईटा छुट्टाछुट्टै पत्राचार गरेको छ ।

जसमा पहिलो पत्र मिति २०८१ / ४ / १६ को सचिवस्तरिय निर्णय अनुसार पर्यटन कार्यालय , बबरमहल , काठमाडौंलाई जाँचबुझ तथा प्रतिवेदन सम्बन्धमा पत्राचार गरेको छ ।

पत्रमा निम्नानुसार व्यहोरा उल्लेख गरिएको छ –

“बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्‌को मिति २०८१/०२/०२ को निर्णयानुसार शहिद स्मारक प्रकृति प्रतिष्ठान, थानकोट पार्कको व्यवस्थापन गर्ने जिम्मेवारी यस मन्त्रालयलाई तोकिएको र हाल उक्त पार्क क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भएको भनि बुझिन आएकोले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी यस मन्त्रालयमा १० (दश) दिनभित्र प्रतिवेदन पेश गर्नहुन यस मन्त्रालयको मिति २०८१/०४/१६ (सूचिवस्तर) निर्णायनुसार अनुरोध छ ।”

त्यस्तै , मिति २०८१ / ४ / १७ मा सहिद स्मारक प्रकृति प्रतिष्ठानको नाममा लेखिएको ध्यानाकर्षण पत्रमा निम्नानुसार व्यहोरा उल्लेख गरिएको छ –

“प्रस्तुत विषयमा बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्‌को मिति २०८१/०२/०२ को निर्णयानुसार शहिद स्मारक प्रकृति प्रतिष्ठान, थानकोट पार्कको व्यवस्थापन गर्ने जिम्मेवारी यस मन्त्रालयलाई तोकिएको जानकारी गराउन चाहन्छु । साथै यस मन्त्रालयबाट विभिन्न मितिमा भएको पत्राचार तथा उद्योग, पर्यटन तथा वातावरण समिति, बागमती प्रदेश सभा, हेटौडाको निर्देशन बमोजिम त्रिभुवन पार्क, थानकोटभित्र सहमती बेगर भौतिक पूर्वाधार निर्माण नगर्न, जग्गा, स्थिर सम्पत्ति संरक्षण गर्न, अवैध रुपमा निर्माण भएको घरटहरा तत्काल हटाउन, शहीद स्मारक प्रकृति प्रतिष्ठान र विभिन्न फर्म/कम्पनीबीच भएको लिज र कथित सम्झौताहरूको कार्यान्वयन रोक्ने तथा अतिक्रमण भएको जग्गाको संरक्षण गर्ने व्यवस्थाका लागि पुनः ध्यानाकर्षण गराइएको यस मन्त्रालयको मिति २०८१/०४/१७ (सचिवस्तर) निर्णायनुसार अनुरोध छ ।”

स्मरण: रहोस् –
२०११ सालदेखि नै स्थानीय बासिन्दाहरूको जग्गा अधिग्रहण गरि निर्माण गरिएको त्रिभुवन पार्क विभिन्न राजनीतिक खिचातानी र पार्क संचालनको जिम्मा लिएको पन्चायतकालिन शैली र संरचनामा आधारित मदन ताम्राकार अध्यक्ष रहेको समितिको अकर्मण्यताका कारण लथालिङ्ग अवस्थामा रहेको छ !

Scroll to Top