बुद्ध कालीन नारी

१. महा प्रजापति गौतमी

महा प्रजापति गौतमी शुद्धोदन महाराजकी कान्छी बडामहारानी थिइन् ।

उनको जन्म नेपाल अधिराज्यको पश्चिमी तराइ रोहिणी नदीको पूर्व पट्टि शाक्य जनपदको देवदह भन्ने समृद्धशाली नगरमा छब्बिससय वर्षअघि भएको थियो । उनी अत्तन शाक्य र सुलक्षणा रानीकी कान्छी छोरी थिइन्, उनकी साखै दिदी माहामायादेवी थिइन् ।

नामकरण गर्ने दिनमा ज्योतिषीहरूले यदि यी राजकन्याले छोरी जन्माएमा चक्रवर्ती राजाकी महिषी र छोरा जन्माएमा चक्रवर्ती राजा हुनेछन् । दुबैका तरफबाट धेरै प्रजाहरू हुनेछन् भनी भविष्यवाणी गरेका थिए । यो भविष्यवाणीलाई ध्यानमा राखी उनको नाम महाप्रजापति तथा गौतम गोत्रकी भएकीले गौतमी राखिएको हो ।

यौवनावस्थामा पुगेपछि महामायादेवी र महा प्रजापति दुवै दिदी बहिनीहरूलाई कपिलवस्तुका सुप्रसिद्ध शुद्धोदन महाराजाले विवाह गरे । विवाह भएको धेरै वर्षपछि सर्वप्रथम महा प्रजापति गौतमीको गर्भबाट राजकुमारी ‘नन्दा’ को जन्म भयो । त्यसपछि महामायादेवी पनि माहतीघर देवदह गइरहेको बेला वैशाख पूर्णिमाको दिन लुम्बनी शालोद्यानमा सिद्धार्थ कुमारको जन्म भयो । सिद्धार्थ जन्मेको एक साता मै महामायादेवीको स्वर्गवास भएकोले शुद्धोदन महाराजले महाप्रजापति गौतमीलाई बडामहारानीको पदमा राख्नु भयो ।

यसै समयमा उनले नन्द कुमारलाई जन्माउनु भयो त्यस बेला उनी चालिस वर्षकी थिइन् । केही समयपछि महाप्रजापति महारानीले आफ्ना दुवै बालकलाई धाइको हातमा सुम्पेर आफू दिदीको बालक सिद्धार्थ कुमारको पालन पोषण गर्न थालीन् । सिद्धार्थको लालन पालनमा सक्रीय रहन्थिन् । उनको सिद्धार्थ प्रतिको व्यवहारमा सानीमा पन नभएर मातृत्व छचल्किन्थ्यो ।

सिद्धार्थ कुमारले गृह त्याग गरे पछि छ वर्षसम्म उनले सिद्धार्थको दर्शन पाउन सकिनन्, र सातौं वर्षको अंतिमतिर बुद्धत्व प्राप्त गरिसकेका पुत्रलाई देख्दा के दिउँ भनी छटपटाएर आखिर आफ्नै हातले कपडा तयार गरी बुद्धलाई चढाइन् ।
वहाँका पुत्र नन्द कुमार र नाति राहुल कुमार समेत बुद्धधर्मी भएपछि बुढा भएका शुद्धोदन महाराजाको सेवा टहल गरी दिन बिताउन थालिन् । तर , शुद्धोदन महाराजा पनि परिनिर्माण हुनु भएपछि चित्त अत्यन्त बैरागी हुनु स्वाभाविक नै थियो ।

त्यसबेलासम्म बुद्ध धर्ममा नारी जातिलाई प्रवेश गर्न’ दिइएको थिएन । त्यसैले ५०० पाँचसय शाक्य पत्नीहरूको अनुरोधमा आफ्नो पूर्व समयदेखिको प्रवर्ज्या हुने इच्छालाई दृढ बनाउँदै उनिले ती स्त्रीहरूका साथ भगवान कहाँ गई ‘नारी जातिको निमित्त प्रवर्ज्या दिलाई पाउँ’ भनी बिन्ति गरिन् । तर , महा – कारूणिक बुद्धले ‘गौतमीलाई यस्तो इच्छा नराख भनी तीन पटकसम्म जवाफ दिए । यस्तो जवाफले गर्दा महाप्रजापति गौतमी अत्यन्त दुःखी तथा दुर्मन भई फर्केर गइन् । भगवान बुद्धसँग प्रवर्ज्या माग्दा पनि स्वीकृति नदिनु भएको कारणले गर्दा नाउलाई बोलाई केश क्षौर गरी भगवान बुद्धकै अदोषण लिई कषाय वस्त्र धारण गरी राजदबार मैं प्रवर्ज्या भेष धारण गरी ती पाँचसय शाक्य स्त्रीहरूलाई पनि कषाय वस्त्र धारण गराइ महाप्रजापति गौतमीले भगवान बुद्ध वैशाली तर्फ प्रस्थान गरिसक्नु भएकोले वैशाली तर्फ नै प्रस्थान गरिन् ।

सो समयमा राजदरबारबाट निस्केर जान लाग्दा शाक्यराजाहरूले उनको यात्राको निमित्त सुवर्णमय पालकी सहित अन्य चाहिने व्यवस्था गरिदिए । तर , बुद्धप्रति अटल श्रद्धा भएकी तथा त्यागलाई नै सर्वोपरी सम्झने असी वर्षीय विधवा महारानीले सो पालकीमा जानु उचित नसम्झी कपिलवस्तु देखि वैशालीसम्मको एकाउन्न (५१) योजन लामो बाटो पैदल नै हिंडेर गइन् । जीवनमा कहिल्यै पनि पैदल यात्रा नगरेकी महारानीका यात्राले खुट्टा सुन्निएका थिए, ठाउँ- ठाउँमा फोकाहरू पनि उठेका थिए र शरीरभरि धुलैधुलो भरिएको थियो ।

वैशाली पुगेर कुटागार विहारमा भगवान बस्ने कोठाको दैलो बाहिरै गहभरी आँसु गरी सुँक्क सुँक्क रूँदै महाप्रजापति गौतमी उभिइरहिन् ।

त्यसबेला भगवानको कोठाबाट बाहिर निस्कनु भएका आनन्दस्थवीरले अकस्मात त्यस्तो भेष लिइ तथा त्यस्ती बेहाल भइ रुँदै उभिएकी ठूलो आमा महाप्रजापतिको अनुहार देखेर वहाँलाई सारै आश्चर्य र मनमा दुःख पनि लाग्यो ।

उहाँले गौतमीसँग सहानुभूति पूर्वक सोध्नुभएको जवाफमा गौतमीले सबै पुषहरुसँग वियोग भई विधवा समेत हुनु परेको हुनाले राज प्रासादमा बस्न नसकी भगवान कै शासनमा प्रवर्जित भएर बस्ने चाहना गरी नारी जातिको निमित्त प्रवर्ज्या मागेको तर भगवानले तीन तीन पटकसम्म पनि अनुमति दिन नचाहनु भएकोले यस्तो भेष धारण गर्नु परेको कुरा अवगत गराइन् ।

यस्ता कुरा सुनी मातृ स्नेहको कारणले भावुकतामा आउनु भएका आनन्द स्थवीरले भगवानसँग नारी जातिको निमित्त प्रवर्ज्या माग्नु भएको हो ।

यसरी महाप्रजापति गौतमीको प्रयत्नबाट बौद्ध धर्ममा नारीले प्रवेश पाएका हुन् । त्यसैले बुद्ध धर्म रहुन्जेल महाप्रजापति गौतमी नारीवर्गका निमित्त अविस्मरणीय रहनेछन् ।

भगवान बुद्धले महाप्रजापत्ति गौतमीलाई शास्त्रज्ञा भिक्षुणी श्राविकाहरू मध्ये महाप्रजापति गौतमी अग्रणी छिन् भन्नु भएको छ ।

यस प्रकार चालिस वर्षको उमेरमा छोरा जन्माई ८० वर्षको उमेरमा भिक्षुणी भई १२० वर्षको उमेरमा परिनिर्वाण कसैको शवयात्रामा बुद्ध सामेल हुनु भएको छ, भने त्यो महाप्रजापति गौतमीकै शवयात्रामा हुनु भएको थियो ।

२. सुजाता उपासिका

यिनको जन्म सिद्धार्थ बोधिसत्वको जन्म हुनुभन्दा अगाडिनै उरुवेल स्थित सेनानी निगमको सेनानी कुलमा भएको थियो । युवती भएपछि एकदिन यिनले उरुवेल नजिकैको एक न्याग्रोथ (वर) वृक्षमा गई, यदि समान जातीय कुलमा गई पहिलो पटक मै छोरा पाउन सके भने तपाईं (वर) न्याग्रोध वृक्ष देवतालाई मैले सालिन्दा भव्य रूपले पूजा चढाउने छु भनी भाकल गरेकी थिइन् । नभन्दै , उनले चिताए झैं पूर्ण भयो । वाराणसी देशका धनाढय कुलमा गई पहिलो गर्भ मै उनले पुत्र जन्माइन् , त्यसपछि सेनानी निगमको न्याग्रोध वृक्ष देवतासँग आफूले गरेको प्रतिज्ञालाई पालन गर्दै उनी प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन भव्य रूपले पूजा गर्थिन् ।

यसै क्रममा बुद्धले उरुवेल वनमा तपस्या गर्न थाल्नु भएको छ वर्ष पुगेपछि वैशाख पूर्णिमाको दिन भन्दा केही दिनअघि नै सुजाता उपासिका आफ्नो घरबाट माइतीघर आइन् । वैशाख पूर्णिमाको दिनमा न्याग्रोध वृक्षदेवतालाई पूजा गर्ने उद्देश्यले उनले खीर पकाई, सो खीर आफ्नै टाउकोमा राखी रूखमनी पुगेर सिद्धार्थलाई देखेर साक्षात् वृक्ष देवता ठानी खीर चढाउदै जस्तो मेरो मनोरथ पूर्ण भयो उस्तै तपाईको पनि मनोरथ पूर्ण होस् भनी शुभकामना व्यक्त गरी फर्केर गइन् ।

सो खीर खाएपछि गौतम बोधिसत्वले एक पीपलको रूखमनी बसी बुद्धत्त्व प्राप्त गरी सात हप्तासम्म कुनै आहार ग्रहण नगरी विमुक्ति सुख अनुभव गर्नु भयो ।

बुद्धलाई प्रथम भोजन ख्वाएकोले तथा सो भोजन खाएर सिद्धार्थ गौतमले बुद्धत्व ज्ञान प्राप्त गर्नु भएकोले सुजाता उपासिकाको नाम बुद्धको नाम लिदा स्मरणीय भएर आउँछ ।

बुद्ध धर्ममा तीन वचनद्वारा प्रथमत शरण पर्ने त्रैवाचिक उपासिका मध्ये सुजाता र उनकी बुहारी नै हुन् । एक दिन भगवान बुद्धले सुजाता उपासिका प्रथमत त्रिशरण जाने उपासिकाहरू मध्ये अग्र हुन् भन्ने घोषणा गर्नु भएको थियो ।

३. विशाखा महाउपासिका

विम्बिसार राजाको मगध राज्यमा भएका पाँच अमृत भोगी कुवेरपतिहरू मध्ये मेण्डक श्रेष्ठी सर्वश्रेष्ठ थिए । यिनकै घरमा विशाखाको जन्म भएको थियो यिनकी आमाको नाम सुमना देवी र बाबुको नाम धनञ्जय थियो तथा यिनी मेण्डक श्रेष्ठीकी नातिनी थिइन्, यिनकी बज्यैको नाम चन्द्रपद्मा हो । धनन्जय सेठ मेण्डक श्रेष्टीका जेठा छोरा हुन् । यिनीहरू अंग देशको भद्रवती नगरमा बस्दथे । विशाखा बालिका हुँदै नै आफ्ना हजुरबुबाको आदेशमा भगवान बुद्धको स्वागत गरी आफ्ना पाँचसय परिवारहरूका साथ निर्वाण श्रोतमा पुगेकी थिइन ।

यिनी पञ्च कल्याण गुणले युक्त भएकीले यिनका पतिको इच्छानुसार यिनको विवाह भयो । यिनका पिताले असंख्य धन खर्च गरी यिनको विवाह गरेका थिए । प्रशस्त दाइजो दिएका थिए तथा ९ कोटीको लागतले तयार गरिएको महालता प्रशाधन भन्ने अलंकार यिनलाई दिएका थिए जस्को ज्याला मात्र १ लाख रूपैया परेको थियो । यिनको विवाह त्यस ताकाको भारतमा हुने नमुना विवाह थियो ।

विशाखाका सम्बन्धमा उनी अत्यन्त बुद्धिवती, रूपवती, शीलवती, गुणवती थिइन् भनी भनिएको छ । मृगार श्रेष्ठी जस्ता ससुरालाई आफ्ना बुद्धिले ठिकमा ल्याई कुशल बुहारी भएकी थिइन् ।

समाजमा पनि त्यतिकै मिलनसार तथा सहयोगी समेत थिइन् । यिनले आफ्ना पिताले दाइजो स्वरूप दिएको अत्यन्त मूल्यवान अलंकार महालता प्रशाधन बेची त्यसबाट पूर्वाराम विहार भन्ने भव्य विहार निर्माण गरिन् । जस्को निर्माणको निम्ति २७ कोटि धन खर्च गरिन् ।

विशाखा महाउपासिका बुद्धसहित भिक्षु संघका निमित्त परम विश्वासिनी उपासिका थिइन् । १२० वर्षसम्म अत्यन्त स्वस्थ्य भएर वाँचिन विशाखाका छोरा, छोरी, नाति, नातिनी, पनाती, पनातिनी गरी ८४२० सन्तान भएको बताइएको छ ।

भगवान बुद्धको परिनिर्वाणको निकै समयपछि आफ्नो कर्मानुसार उनी परलोक भइन् । यिनको देहान्त भएको पच्चिससय वर्ष भन्दा बढी भएपनि उनको आदर्शमय जीवनको यश कीर्तिले गर्दा बुद्ध धर्म संसारमा रहुन्जेलसम्म अमर नै रही सबै मानिसहरूका निमित्त प्रेरणाको श्रोत भएको छ ।

यस सन्दर्भमा , स्वयं भगवान बुद्धले “भिक्षु हो ? मेरा श्राविका दायिकाहरू मध्ये विशाखा मृगारमाता अग्रछिन्” भन्नु भएको छ ।

(“एक फूल अनेक रंग ?”बाट )

Scroll to Top