ब्याँजा नकेगु अर्थात् भ्यागुतालाई भात खुवाउने

  • भीमनारायण श्रेष्ठ
    साहित्यकार , संस्कृति अध्येता


नेवाः सम्प्रदायमा ब्याँजा नकेगु (ब्याँचायात जा नकेगु) अर्थात् भ्यागुतालाई भात खुवाउने प्रचलन छ । नेपाल सम्वत्को पात्रो अनुसार नवौं महिना गुँला (गुँ . नवौं, ला . महिना) मा पर्ने गुन्पुन्ही अर्थात् जनैपूर्णिमा (श्रावण शुक्ल पूर्णिमा) को दिन ब्याँजा नकेगु भनेर भ्यागुतालाई भात खुवाउने प्रचलन रहिआएको छ । नेवाः समाजको प्रमुख चाडपर्वहरू मध्येको यो पनि एउटा ठूलो चाड हो । नेवाः सम्प्रदायले यसलाई मौलिक सांस्कृतिक चाडको रुपमा अङ्गाल्दै आएको छ ।


ग्रेह्र नेवाः एवम् वैदिक सनातन वर्णाश्रम धर्मका तागाधारीहरूले यही श्रावण शुक्ल पूर्णिमाको दिन जनै फेर्ने प्रचलन छ । त्यसैले यस पर्वलाई जनैपूर्णिमा/ऋषि तर्पणी पनि भनिन्छ । यसै दिन गुरुपुरोहित र ब्राह्मणद्वारा हातमा डोरो बाँधी रक्षावन्धन गर्ने प्रचलन पनि रहिआएको पाइन्छ । तराईतिर भने यो दिन दिदीबहिनीले दाजुभाइलाई राखी (डोरो) बाँधी रक्षावन्धन गरिदिने प्रचलन रहेको पाइन्छ ।


अझ नेवाः सम्प्रदायका जनमानसमा यो गुन्पुन्हीलाई क्वातिपुन्ही भन्नेहरू पनि छन् । यो अवसरमा भिजाएर टुसा उम्रिएको नौ थरि गेडागुडी (केराउ, चना, मुँगी, मास, सिमी, भटमास, बोडी, बकुला र मस्याङ) को मिश्रण पकाएर क्वाति खाने प्रचलन छ । क्वाः . तातो, ति . झोल को संयोजन क्वाति हो । अझ भिजाएर टुसा उम्रिएको भटमास/मेथीको मुतुचाको परिकार पनि खाने प्रचलन छ । गैह्र नेवाः सम्प्रदायले क्वाति शब्दलाई क्वाँटी भन्ने गर्दछन् ।
नेपाली संस्कृतिमा नौ सङ्ख्याको विशेष महत्व रहेको पाइन्छ । यसरी गेडागुडीको मिश्रण क्वातिको झोल खानाले शरीरमा स्फूर्ति बढ्ने र चिसो लाग्नबाट जोगाउँछ भन्ने जनविश्वास रहेको पाइन्छ । हुन पनि क्वातिको झोल स्वास्थ्यवर्धक नै छ । अङ्कुरित गेडागुडीमा पौष्टिक तत्वको मात्रा प्रशस्त रहेको हुन्छ । अहिले क्वाति खाने प्रचलन नेवाः जातिमा मात्र सीमित छैन । गैह्र नेवा समुदायमा पनि क्वाति खाने प्रचलन उत्तिकै प्रख्यात भएको छ ।
जब मानिसहरू कविला अवस्थामा थिए । उनीहरूले विस्तारै सँगै बसेर खाने र रमाइलो गर्न सिके । अनि त्यसलाई प्रथा र प्रचलनको रुपमा लिन थाले । पुस्तान्तरणमा त्यस्ता प्रथा र प्रचलनको निरन्तरताले संस्कार र संस्कृतिको रुपमा हुर्कने मौका पाए । कालान्तरमा त्यस्ता कार्यहरूको महत्व झन बढ्दै गए । अझ भनौं त्यसको सांस्कृतिक महत्व बढ्दै गए ।


मानव जातिले अझ बिभिन्न समय र सन्दर्भमा वर्षभरिनै प्रकृतिको पूजा गरिरहन्छ । चाहे त्यो पशुपंछी, जीवजन्तु, र देवीदेवता किन नहोस्, अनेक भावार्थमा प्रकृतिको पूजाआजा गरिरहन्छन् । उनीहरू ढुङ्गामा देवता देख्छन् । अझ नेवाः सम्प्रदायमा म्हँपुजा (शरीर पूजा) र किजापुजा (भाइटिका) गरेर दीर्घायु र सुस्वास्थ्यको कामनासमेत गर्छन् ।


त्यसरी जीव पूजा गर्ने प्रचलनको एउटा ज्वलन्त उदाहरण हुन् विद्यमान ब्याँजा नकेगु पर्व । ब्याँजा नकेगु सांस्कृतिक पर्वको छुटैृ महत्व र विशेषता रहिआएको छ । अझ यसलाई जीवन्त तुल्याउने प्रयासमा नेवाः समाज लागिपरेका छन् । आधुनिक समाजमा यदाकदा दिग्भ्रमित नेवाः समुदाय भित्र मौलिक संस्कृति र सांस्कृतिक महत्वको चाडपर्वबाट बिचलित भइरहेका पनि छन् । तर जेहोस्, यो ब्याँजा नकेगु अर्थात् भ्यागुतालाई भात खुवाउने प्रचलन विशुद्ध नेवाः सम्प्रदायले मनाउँदै आइरहेको पर्व हो ।


प्रसङ्ग यहाँ ब्याँजा नकेगु/ब्याँचायात जा नकेगु (भ्यागुतालाई भात खुवाउने) सांस्कृतिक विषय उठान गर्न खोजेको हो । भ्यागुतालाई भात खुवाउने अचम्म लाग्दो कुरा हो । तर नेवाः समाज भित्रको यो मौलिक संस्कृति हो । यो प्रचलन विशेषतः काठमाडौं उपत्यकाका नेवाः समाजमा व्याप्त रहिआएकोछ ।


हुनत, काठमाडौं उपत्यका वरपर बसोवास गर्ने नेवाः समाज पनि यो ब्याँजा नकेगु चाडबाट प्रभावित छन् । आफ्नो गच्छे अनुसार यो संस्कृतिलाई अङ्गाल्दै आइरहेका छन् । त्यसैले नेवाः समाजको सामाजिक जीवनमा यो सांस्कृतिक परम्पराले दह्रोसँग जरा गाडिसकेको छ । अहिलेसम्म पनि यसको अभ्यास हुँदै आइरहेको छ ।


तर भ्यागुतालाई भात खुवाउने प्रचलन कहिलेबाट सुरु भएको भन्ने एकिन तिथी मिति कतै भेटिएको छैन । न त कुनै शास्त्रीय आधार नै भेटिएको छ । दन्त्यकथा र किम्बदन्तीको आधारमा मात्र भ्यागुतालाई भात खुवाउने प्रचलन चलाउँदै आइरहेको पाइन्छ ।
खासमा भ्यागुताको आहार किराफट्याङ्ग्रा हुन्, भात पनि होइन । अझ वर्षको एकचोटी भात खुवाएर पुग्ने पुग्ने पनि होइन । तैपनि संस्कृतिका धनी नेवाः समाजले यसलाई सांस्कतिक महत्व दिँदै आइरहेका छन् ।


यही सांस्कृतिक पर्वलाई निरन्तरता दिन गुन्पुन्ही अर्थात् ब्याँजा नकेगु (भ्यागुतालाई भात खुवाउने) दिन घरमा लिपपोत र सफा सुग्घर गर्दछन् । अनि विशेष परिकारसहित चोखो ब्याँजा (भोजन) तयार गर्दछ । भ्यागुताको चौरासी व्यञ्जन मानिने भात, रोटी, क्वाति (भिजाएको नौ थरि गेडागुडीको मिश्रण), मुतूचा (भिजाएर टुसा उम्रिएको भटमास÷मेथीे), धःपासी (मयल) को परिकार, ब्याँचा पासि (एक किसिमको फल), द्यांख्वःमाय् एवम् अंतलि (खेतको कान्लामा उम्रिने एककिसिमको घाँस) र अन्य पकवानसहित ब्याँचा लप्ते (एकप्रकारको पात) मा अलग अलग भाग राख्दछ । ब्याँचा लप्ते नपाएमा भटमास वा सिमी वा अन्य पातमा भए पनि राख्दछ ।


अनि ब्यांँचा स्वां, दुबो, इताः, जजंका, धुपाय्, सिन्हः, जाकि र फलफुलका टुक्रा आदि राखेर पूजा सामाग्री तयार गर्दछ । भ्यागुताको भोजन र पुजा सामाग्री कलः (विशेष पूजामा पूजा सामाग्री राख्ने भाँडा) मा राख्दछ । अनि कम्तिमा घरको एकजना सदस्यले ती कलः लिएर “ब्याँजा नकः वनेगु” भनेर भ्यागुतालाई भात खुवाउन धान रोपेको आफ्नो खेतमा जान्छन् । धेरै खेत हुनेहरू आफूहरू बाँडिएर एक एक ठाउँमा जाने गर्दछन् ।
खेतको अलावा प्रत्येक घरमा पनि भ्यागुताको चौरासी व्यञ्जन भोजन घरको अगाडि पिखालखु (मूल ढोकाको सामुन्ने वाहिर मण्डलाकार लिपेको कुमार अथवा भैरवको रुपमा पूजा गर्ने ठाउँ) र अन्य इष्टदेवीदेवतालाई चढाउने गर्छन् । साथै खेत नभएकाहरूले पनि यो विधि त्यसरीघरमै सम्पन्न गर्छन् ।
खेतमा भ्यागुतालाई भात खुवाउँदा जाँदा खेतको धःम्वः क्वाः (ढल पानी लाग्ने पहिलो गरो) को उद्गमस्थल वा ठूलो गरोको जाबि (आलीबाट पानीको निकास दिने समाहा) मा रहेको धानको गाँजमा पूजा गरेर भ्यागुताको भात चढाउँछन् । अनि भ्यागुतालाई भोजन गर्न आव्हान गर्दै धूपदीप बालेर आराधना गर्दछन् । यसरी भ्यागुतालाई भात चढाउने कार्य सम्पन्न गर्दछन् । यही विधिलाई बोलिचालीको भाषामा ब्याँजा नकेगु (भ्यागुतालाई भात खुवाउने) भनिन्छ ।


भ्यागुतालाई भात खुवाउने प्रचलन किन गरेको भन्ने विषयमा अनेक तर्कबिर्तकहरू पाइन्छ । किसानले रोपाईको बेलामा कोदाली तथा अन्य सामाग्राी चलाउँदा वा कुल्चेर मरेका कीटपतङ्गको नाममा पिण्डदान गरेको पनि भनेका छन् । तर त्यतिबेला धान रोप्ने किसान पक्कै पनि नेवाः समुदाय मात्र होइन होला । सबैले समुदायले धान रोपेका हुन्छन् भने किन गैह्र नेवाः समुदायले भ्यागुतालाई भात खुवाउने नगरेको ? अझ यसमा ब्याँजा नकेगु भनेर किन नाम रह्यो भन्ने विषय अहं प्रश्न पनि छ ।


हुनत, मानिसहरू कविला अवस्थादेखि नै प्रकृतिका पूजारी हुन् । कुनै न कुनै रुपमा प्रकृतिको पूजा गरिरहन्छन् । मानिसको भौतिक शरीर पनि प्रकृतिबाट नै प्रभावित छ । किनकी, मानव शरीर पञ्चतत्व (आकाशतत्व, वायुतत्व, अग्नीतत्व, जलतत्व र पृथ्वीतत्व) अर्थात् (पञ्चमहाभूत) को मिश्रणबाट बनेको छ । त्यसैले पाँचतत्वलाई नै प्रकृति भनिन्छ ।


यी पाँचतत्व हरेक वस्तुमा समेत समाहित भएको छ । यिनै पाँचतत्वको संयोजन नभई कुनै पनि चिजको कल्पना पनि गर्न सक्दैन । किनकी, पञ्चतत्व प्रकृतिको अभिन्न अङ्ग हो । त्यसैले पर्यावरणप्रति संवेदनशील मानिस वर्षभरिनै अनेक किसिमका पूजाआजा गरिरहन्छन् ।
भ्यागुतालाई कृषि सभ्यतासँग पनि जोडेर पनि हेर्न सकिन्छ । भ्यागुता वर्षा प्रणालीसँग सम्बन्धित जीव हो । भ्यागुता पानी भएको ठाउँमा बस्ने जीव हो । भ्यागुता करायो भने पानी पर्छ भन्ने जनविश्वास छ । त्यसैले भ्यागुतालाई प्रकृति र पर्यावरणको सन्तुलन कायम राख्न मद्दत गर्ने असल जीवको रुप लिन सकिन्छ ।


अझ भ्यागुताको आहार किराफट्याङ्ग्रा हुन् । किसानको बालीनालीमा हुने हानिकारक जीव किराफट्याङ्ग्रा भ्यागुताले खाइदिन्छन् । त्यसैले किसानको असल साथीको रुपमा पनि लिन सकिन्छ ।


कतिपय समाजमा रोपाईं गर्ने समयमा पानी नपर्दा मान्छेलाई भ्यागुता बनाएर घुमाउने र भ्यागुताको स्वरमा कराउन लगाउने चलन पनि रहेको पाइन्छ । खडेरी लागेको समयमा पानी माग्न भ्यागुताको बिहे गरिदिए पानी पर्छ भन्ने जनविश्वास रहेको पनि पाइन्छ ।


संस्कृतिविद् ओम धौभडेलको भनाईमा – वर्षा सुरु हुनुभन्दा अगाडि खेतमा काम गर्दा अन्जातमा कोदालीबाट मारिएका कीरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका लागि भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको छ ।


संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठको भनाई अनुसार – नेवार समुदायमा यस दिनको महत्व धेरै रहेको छ । नेवार समुदायमा यस दिन नौ थरिको गेडागुडी खाएर, नौ जोर कपडा लगाएर तीर्थस्थान गरेमा यमलोकमा सुख, शान्ति, समृद्धि प्राप्त हुने, निरोगी हुन आनन्दले जीवन कट्छ र मोक्ष प्राप्त हुने समेत मान्यता रहेको छ ।


उहाँकै भनाईमा अनुसार भ्यागुता हाम्रो समाजमा वैद्धिक कालमा भएको गुरुचेला परम्परा हो । गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणाली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ । यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान गुरु भ्यागुतो हो । भ्यागुताबाटै नै पूर्वजहरूले शैक्षिक विद्याको सुरुवात गरेको छ ।


अझ कसैले भ्यागुतालाई भात खुवाउने सांस्कृतिक पर्वलाई गथांमुगः पर्वसँग जोडेको पनि पाइन्छ । जुन तर्कसंगत व्याख्या होइन । जहाँ गथांमुगः र भ्यागुतालाई खुवाउने पर्वको सन्दर्भ बेग्ला बेग्लै रहेको पाइन्छ ।


भरपर्दो एउटा किम्वदन्तीअनुसार तत्कालीन समयमा शोणितपुर (थानकोट) भेगमा एउटा नरभक्षी राक्षसले गाउँलेलाई मार्दै खाने क्रम तीब्र पार्दै थिए । क्रमशः गाउँका बासिन्दा निख्रिँदै जान थाले । गाउँमा एक प्रकारको आपत्ति सिर्जना भएर त्रास, सन्नाटा छाए । जथाभावी मान्छे खाने क्रम बढेपछि यसलाई कम गराउन ती दानवसँग सल्लाह गरे ।


गाउँलेद्वारा दिनको एकजना उनको आहार बन्न आउने बाचा गरे । तर दिनहुँ एकजना राक्षसको आहार बन्न जानु त्यति सजिलो थिएन । ज्यानको माया त सबैलाई लाग्छ नै । त्यसमा पनि विना दोष, रोग, घरपरिवार, आफन्त सबैलाई रूवाएर मृत्युको मुखमा जानु पर्ने । दुष्ट राक्षसका लागि आफ्नो व्यर्थ आफ्नो ज्यान दिनुपर्ने कसैका निम्ति पनि स्वीकार्य थिएन ।


वसुदैव कुटुम्वकमको भावले रहेका गाउँलेबीच अप्रत्याशित आएको त्राशदीपूर्ण सङ्कटले मर्माहित हुन थाले । असामाजिक र अशिष्ट त्यस राक्षसको शोषणबाट मुक्ति पाउनका लागि गाउँलेहरूले अनेक उपायको खोजी गरे । यसै क्रममा गाउँको बीचमा अवस्थित भगवान आदिनारायण समक्ष विन्ति विसाउन पुगे । भक्तजनको चित्कारसहितको पुकारबाट आराध्यदेव आदिनारायणलाई दया लाग्यो । अनि राक्षसबाट मुक्ति दिलाउने आश्वासन वचन दिए ।


त्यसपछि भगवान आदिनारायणले भक्तजनको जीवन रक्षा गर्न शिव (महादेव) को आराधना गरी भ्यागुताको रूप धारणा गरे । एकदिन भ्यागुता रूपी भगवान नरभक्षी राक्षसको आहार हुन उपस्थित भए । आफ्नो आहार भ्यागुता, त्यो पनि पेट नै नभरिने देखेर राक्षस क्रोधित बने । उनको क्रोधलाई झन बढावा दिँदै भ्यागुताले राक्षसको घमण्डलाई चुनौति दिँदै आफूलाई खान पटक–पटक अनुरोध गरे । फुच्चे भ्यागुताको चुनौतिबाट चुर भएका राक्षसले भ्यागुतालाई समाउन खोज्छ । तर भ्यागुतालाई समाउन सकेन ।


ती राक्षसले भ्यागुतालाई समाउन ठूलै शक्तिको प्रयोग गरे । भ्यागुता भने उफ्रिँदै उफ्रिँदै धापिलो ठाउँमा गए । भ्यागुता समाउने प्रयत्नमा राक्षस त्यही धापको दलदलमा जाक्किन पुगे । यो खवर वायुवेगमा नगरवासीमा छायो । मान्छे मारेर खाने राक्षसलाई बचाउँन कोही तयार भएनन् । बरू सारा गाउँले मिलेर त्यस दुष्ट नरभक्षीलाई ढुङ्गामुडाले हिर्काउन थाले । त्यतिले पनि चित्त नबुझी उसको टाउको काटेर नगर परिक्रमा गर्न गाउँलेहरू एकजुट भए ।
यता भ्यागुता रूपी भगवान आदिनारायण पनि खुशी भएर पूर्ववत् रुपमा रही शिवलाई शिरमा राखी सबैबाट पूजित भई रहे । त्यसैले थानकोटस्थित भगवान आदिनारायणको शिरमा शिवलिङ्ग रहेको भनिन्छ ।


यता आफ्ना पतिको वियोगमा ती राक्षसकी पत्नी रूदै चिच्याउँदै त्यहाँ आए । उनलाई पनि गाउँलेहरूले समातेर पाता फर्काइ बाँधे । आफन्तलाई जिउँदै खाएर सताउने राक्षसलाई मार्न पाएकाले विगतका शोक सम्झिँदै सारा गाउँवासी उत्तेजित भए । त्यस राक्षसनीलाई पनि दुईजनाले पाखुरा समाती सिस्नोपानीले पिट्दै बेरूप बनाए । अनि ती राक्षनीको अघि अघि राक्षसको टाउको बोकेर नगर परिक्रममा गर्न थाले । त्यस पश्चात गाउँको किनारामा अवस्थित सिलाफः पुखु (सिलाफल पोखरी) तीनचोटी परिक्रमा गरी दक्षिण–पूर्वी कुनाबाट ती राक्षसको टाउको पोखरीमा फालिदिए । राक्षसनीलाई पनि सोही पोखरी खसाले ।


त्यसपछि गाउँमा त्रासको भावना विस्तारै हराउँदै गए । ती नरभक्षी राक्षस अन्त्य भएको खुसियालीमा अर्को वर्षदेखि नगरवासीले उत्सव मनाउन थाले । जनैपूर्णिमाको भोलिपल्ट (गाईजात्रा) को दिन ती राक्षसको प्रतीक राङ्गाको टाउको बोकेर गाउँ परिक्रमा गरी सोही सिलाफः पुखुमा फालेर उत्सव मनाउने प्रचलन गरे । यही परम्पराले साँस्कृतिक रूप लिँदै आएको छ । हालसम्म पनि गाईजात्राको दिन बेलुकीपख उनै राक्षसको प्रतीक राङ्गाको टाउको सोही पोखरीमा फाल्ने प्रचलन रहिआएको छ ।


तिनै राक्षसको हात खुट्टा किसिपिडी, मच्छेगाउँ र कीर्तिपुरका बासिन्दाले लगे । ती राक्षसको हात खुट्टा बोकेर जात्रा गर्दै आ–आफ्नो गाउँ परिक्रमा गरेर त्यहीँकै पोखरीमा फालिदिए । ती ठाउँहरूमा पनि हालसम्म उत्सव मनाउने क्रममा गाईजात्राको दिनमा तिनै राक्षसको प्रतीक राङ्गाको खुट्टा बोकेर जात्रा गर्दै पोखरी फाल्ने प्रचलन रहिआएको छ ।


त्यसरी राक्षस मारिदिएको खुशियालीमा भ्यागुतालाई चौरासी व्यञ्जन खानेकुरा तयार गरी श्रावण पूर्णिमाका दिन अर्थात् गुन्पुन्हीको दिनमा ब्याँजा नकेगु भनेर भ्यागुतालाई भात खुवाउन सुरु गरे । यसरी भ्यागुतालाई भात खुवाउने पारम्परिक प्रचलन कालान्तरमा यसले सांस्कृतिक पर्वको रुप लिन थाले । यसरी प्रत्येक श्रावण पूर्णिमा (जनैपूर्णिमा) अर्थात् गुन्पुन्हीका दिन भ्यागुतालाई भात खुवाउने र पूजाआजा गर्ने प्रचलन नेवाः समाजले गरिआएको पाइन्छ । सायद यो परम्परा थानकोटबाट सुरु भएको हुन सक्छ ।


हुनत, नेवाः समाज ब्याप्त सांस्कृतिक परम्पराको ब्याँजा नकेगु प्रचलन कुनै धर्मसँग सम्बन्धित रहेको पाईदैन । न त अन्य कुनै समाजमा नै यो प्रचलन रहेको पाइन्छ । कुनै शास्त्र सम्मत नभए तापनि नेवाः समाजको सामाजिक जनजीवनमा यो परम्पराले दरोसँग जरा गाडेको छ । यसको अभ्यास अहिलेसम्म पनि निरन्तर भइरहेको पाइन्छ ।


हाल ब्याँजा नकेगु यो परम्परामा केही धलपल आएको देखिन्छ । तैपनि संस्कृतिमा अभिरुचि राख्ने जागरुक नेवाः समाजले यसलाई निरन्तरता दिंँदै आइरहेका छन् । प्रमुख मौलिक चाडको रुपमा अङ्गाल्दै यसलाई जीवन्त तुल्याउँदै आएका छन् । नेवाः समाजले परम्परागत संस्कृतिको रुपमा अङ्गालेको यो सांस्कृतिक पर्वको सुक्ष्म अध्ययन गर्न सकेमा हाम्रो समाजको प्राचीनतम् जीवन दर्शन अध्ययन गर्ने मार्ग दर्शन बन्न सक्छ ।
हुनत, आधुनिक समाजमा यसलार्ई जीवन्त राख्न खोज्दा खोज्दै पनि कतै कतै यसलाई झारा तार्ने हिसावले मात्र मानिआएको पनि पाइन्छ । यसैबाट स्पष्ट हुन्छ कि, जुनसुकै प्रथा र प्रचलन अपनत्व ठान्दै निरन्तरता दिन सकेममा कालान्तरमा त्यसले संस्कृतिको रुप धारण गरिँदै जान्छ । सायद यसमा कसैको द्विमत रहने छैन ।
०१ भाद्र, २०८१

Scroll to Top