भक्तपुरको हनुमन्ते खोला बस्तीमा पस्यो, उच्च सतर्कता अपनाउन आह्वान

आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायत क्षेत्रमा परेको भीषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो ।

भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ । बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ । आसपासका घर एवं बस्तीमा पानी पसेको छ ।

भक्तपुरको विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज साँझ हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहमा पुगेको नदी तटीय क्षेत्रमा बाढीको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन सन्देश एवं सूचना जारी गरेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखिएको जानकारी दिएकी छिन् ।

Scroll to Top