भोलि देशभरका सामुदायिक क्याम्पसहरु बन्द हुने

काठमाडौँ । बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरेको घटनाको छानबिनमा दबाब दिन नेपाल पब्लिक क्याम्पस संघले आइतबार देशभरको सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको छ ।

कुशवाहाको घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्श कोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि शुक्रवार अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।

संघले घटनाको दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकारलाई माग गरेको छ । ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा यस्ता अमानवीय घटनाको पुनरावृत्ति नहोस् र राज्य तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षणका लागि नेपाल पब्लिक क्याम्पस संघले देशभरिका आफ्ना सबै सदस्य सामुदायिक क्याम्पसहरूको पठनपाठन आइतबारका दिन बन्दको आह्वान गरिएको नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुध्न प्रसाद गुप्ताले बताउनुभयो । संघले सबै सामुदायिक क्याम्पसहरूलाई नियमित पठनपाठन बन्द गरी शोक मनाउन अनुरोध गरेको छ ।

Scroll to Top