मनसुन भित्रिएसँगै प्राकृतिक विपत्ति : ३३ जिल्ला प्रभावित, २८ जनाको मृत्यु

काठमाडौँ । मनसुन भित्रिएसँगै आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

जेठ २८ देखि असार १२ गते सम्ममा ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी, दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

मनसुन भित्रिएको जेठ २८ देखि असार १२ गतेसम्म कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ ।

सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटनाको अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ ।

Scroll to Top