युवा कवि अमर दीपका ३ कविता

शोणितपुर खबर अन्तर्गत “शनिबार – साहित्यबार”मा आज युवा कवि अमर दीपका ३ कविता प्रस्तुत गरेका छौं !

सपाट दृष्टि र सजग शब्दहरू मार्फत कविता लेख्ने अमर दीप एक कोमल कवि हुन् !

उनका कविताहरूमा निश्चलता र जटिलता दुवै तत्व समानरूपमा अभिव्यक्त भएको पाइन्छ !

म एक नदी हुँ

म आफ्नै रफ्तारमा
अघि बढिरहेको एक नदी हुँ !

नायल, यांगत्जी अमेजन आदी हुँ ।

मलाई नसम्झनू अञ्जुलीको पानी
जो भूईंमा पोखिएर
क्षणभरमै सुकिजान्छ ।

मलाई निल्न सक्दैनन् घामको ताप
र आगोको रापहरूले !

मैले अनेकौं चुनौतीहरू चपाएर
पचाइसकेको छु
र त जस्तै सुख्खा खडेरीहरूमा पनि निरन्तर बगिरहन मैले सिकेको छु !

तोड्न सक्छु कयौं अजंगका पहाडहरू फोड्न सक्छु
भीमकाय चट्टानहरू

मलाई जाबो बाँध हालेर रोक्ने कोशिस नगर्नू !

यदाकदा मेरो स्वतन्त्रतामाथी
बाधक भएर खसिदिने गर्छन्
वरपरका फुसे पाखाहरू
जसद्वारा म थोरै धमिलिन्छु !

पहिरोले बनेका तगारोहरूमा केहिछिन अलमलिन्छु
तर , कदापी म निसासिन्नँ
म त झन् शक्तिशाली भएर निस्कन्छु !

तोडिदिन्छु तगारोहरू
छिचोल्दै गल्छी कतै नअल्झि अनवरत बगिरहन्छु , बगिरहन्छु ।

ए वैरी ,
तिमीले हानेको ढुङ्गाका झट्टीहरूले
अहँ , दुख्दैन मलाई ।

नसोच मलाई जाबो खहरे
म त्यति कमजोर पनि छैन
जसले यात्राका अवरोधहरूलाई बाढी बनेर पेल्न नसकुँ !

नसोच मलाई त्यतिविघ्न कायर
यात्रामा भेटिने आँधी र तूफानहरूलाई लपेटेर निल्न नसकुँ !

हो ,
म आफ्नै रफ्तारमा अघि बढिरहेको
एक नदी हुँ !

नायल , यांगत्जी , अमेजन आदि
हुँ !

प्रेमको संग्रहालय

सजाइदिनेछु तिमीलाई
शब्द-शब्दमा खिलेर
चोखो प्रेमको इतिहासमा
बचाइ राख्नेछु हाम्रो मायालाई
एउटा मिठो कथाभित्र !

तिमीसँग बिताएका
प्रत्येक सुनौला क्षणहरू
जीवन भोगाईका अवशेषहरू सजाइदिनेछु
प्रेमको संग्रहालयमा ।

सजाई दिनेछु तिमीलाई प्रेम कथाकी परी बनाएर हृदयमा
ताकि , पढुन् युगौं युगसम्म तिमीलाई
प्रेमिल पाठकहरूले !

पढुन हामीलाई पवित्र प्रेमको
सबै भाषा , व्याकरण र उत्सर्गहरूमा ।


हेरेर भनुन तिमीलाई
“अमरदीपकी प्यारी कल्पना !”

मोक्ष

म त बन्जर मरुभूमि हुँ ।
जहाँ तिमी मन रोपेर
माया फुलाउँने आसै नगर

म आग्नेय चट्टान हुँ
मलाई हिउँ सम्झि
पगाल्ने कोसिस नगर

म त्यो मारियाना हुँ
जसको गहिराईसम्म सहजै पुग्ने दुस्साहस भो तिमी नगर

वास्तवमा
म एक मोक्ष आत्मा हुँ
मभित्र लौकिक जीवन खोज्दै नखोज

हो म बुझ्न सक्छु तिमीलाई
तिमीभित्र अगाध प्रेम उर्लिएको छ
थाहा छ
तिमी मेरो आडैमा बस्न चाहान्छौ
मलाई बेस्सरी अँगालोमा कस्न चाहान्छौ

तिम्रा ती आँसुले भिजेका
गहहरूले पटक्कै ढाँटेका छैनन्

तिम्रा थर्थराएका ओठहरूले किन झुटो प्रेमबिन्ती गर्थ्यो र ?

मैले छर्लङ्गै देखेकोछु
तिमीभित्रकी स्फटिक झैं तिमीलाई
महसुस गर्न सक्छु म तिमीभित्रका
अनन्त ज्वारभाटा
र प्रेमिल संवेगहरू !

तथापी , मलाई माफ गर !
अब मलाई छुन सक्दैनन्
कसैका प्रेमहरूले

अब मलाई छुन सक्दैन
कुनै मोह र आसक्तिहरूले

किनकी
म एक मोक्ष आत्मा हुँ !

Scroll to Top