युवा शक्तिलाई देशकै श्रम बजार तर्फ कसरी आकर्षित गर्ने भन्नेमा जानुपर्छ : राजेन्द्रकुमार केसी

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई बस्न लायक शहर बनाउन सरकार लागि परेको बताउनुभएको छ ।
शनिबार कीर्तिपुरमा आयोजित नेपाल ट्रेड युनियन कंग्रेसको काठमाडौं प्रथम जिल्ला परिषदका लागि एक सन्देश पढाउँदै मन्त्री सिंहले यसका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएकोले दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार बनेको उल्लेख गर्नुभएको थियो ।
सन्देशमा मन्त्री सिंहले मजदुर आन्दोलन नेपालको राजनीतिक आन्दोलनको जननी भएको उल्लेख गर्दै नेपाली कांग्रेसलाई गतिशिल र व्यवस्थित बनाउन ट्रेड युनियनहरुको भूमिका महत्वपूर्ण रहेको समेत बताउनुभयो ।
नेपाली काँग्रसका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र न १० का प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले ट्रेड युनियनहरुको ध्यान अब मुलुकको स्रोत साधनलाइ कसरी उच्चतम् रुपमा उपयोग गर्ने र युवा शक्तिलाई देशकै श्रम बजार तर्फ कसरी आकर्षित गर्ने भन्नेमा जानुपर्ने बताउनुभयो ।

यसका लागि नेपाली मजदुर आन्दोलनले सुरु देखि नै उठाउँदै आएको श्रमको उचित मुल्य जस्ता मागलाई अब व्यवहारमै पुरा गराउनुपर्ने बेला आएको पनि उहाँले बताउनुभयो । यसका लागि नेपाली काँग्रेसको नेतृत्वलाई उपयुक्त सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको ट्रेड युनियन विभाग प्रमुख हरिशरण नेपालीले ट्रेड युनियन बलियो भए मात्र नेपाली कांग्रेस बलियो हुन सक्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कंग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुँवरले मजदुर आन्दोलनले औपचारिक र अनौपचारिक दुबै क्षेत्र समेटनुपर्ने धारणा राख्नुभयो ।
परिषद् बैठकले नेपाल ट्रेड युनियन कंग्रेसका काठमाडौं, जिल्ला कोषाध्यक्ष वासुदेव भण्डारीको आर्थिक प्रतिवेदन, सचिव प्रकाश मगरको सांगठनिक प्रतिवेदन तथा अध्यक्ष देवीप्रसाद भूषालको आगामी कार्ययोजना सम्बन्धी प्रतिवेदन पारित गरेको थियो ।

Scroll to Top