राधिका कल्पितको बरफका कोइलाहरुबाट ३ कविता

बि.एन. पुस्तक संसार प्रा.लि.ले २०७७ सालमा प्रकाशन गरेको राधिका कल्पितको “बरफका कोइलाहरू” मा जम्मा ७५ थान कविताहरू रहेका छन् ।

साहित्य सिर्जनामा लामो काल बिताएकी तर नेपाली साहित्यमा सुस्तरी प्रवेश गरेकी कल्पितका कविताहरु बोधगम्य , प्रभावी एवम् सम्प्रेषणीय छन् ।

विषयगत दृष्टिबाट अवलोकन गर्दा परम्परागत नारीवादीय चिन्ता र चिन्तन वरपर परिक्रमा गरेको देखिए पनि प्रस्तुतिकरणमा विविधता र नुतन स्वाद पाइन्छ ।

पछिल्लो समय नेपाली साहित्यमा कविता विधाको उल्लेखनीय उपस्थिति देखिएको र बहुआयामिक पक्षबाट समेत काव्य विधाले उत्तरोत्तर स्वरुप ग्रहण गर्दै गइरहेको सन्दर्भमा कल्पितको ” बरफका कोइलाहरू” एउटा बलियो काव्यकृतिको रुपमा आएको छ ।

स्वभावतः नारी स्रष्टाहरुको सामयिक लेखन प्रवाहमा व्यक्त हुने कोमल नारी भावना र अस्तित्व रक्षा तथा विद्रोहजन्य आवेगबाट सर्वथा विमुक्त नदेखिए पनि ” “बरफका कोइलाहरू” अति नारीवादी नाराबाट जोगिएर समता र सह अस्तित्वको प्रस्तावनामा आधारित कृति बन्न गएको मान्न सकिन्छ !

अधिकत्तर दोहोरिरहने बिम्ब, विषयका बाबजुद कतिपय कविता शक्तिशाली र उत्कृष्ट रहेका छन् !

आजको शोणितपुर ” शनिबार – साहित्यबार”मा पहिलो कविता कृतिमार्फत नै आफ्नो जबर्जस्त पहिचान स्थापित गर्न सफल उनै राधिका कल्पितको “बरफका कोइलाहरू”बाट ३ ओटा कविता प्रस्तुत गरिएको छ

 

मेरो सहरमा एउटा यस्तो मान्छे छ

मेरो यो सहरमा एउटा यस्तो मान्छे छ
जो लगाएर विभूति र गेरूवस्त्र
बोकेर चन्दन, अक्षता र फूलको झोली
हानिन्छ एकाबिहानै पशुपतितिर
फलैंचामा बसेर फलाकिरहन्छ
शास्त्रका नबुझिने श्लोक
ग्रहदशा र भाग्यरेखा हेर्ने निहुँमा मुसारिरहन्छ युवतीका नरम हत्केला
अनि हेरेर टुंडालहरूमा रतिक्रिया
बाफिंदै ओर्लन्छ गौरीघाटतिर
र नाङ्गो लास हेर्दै
गर्छ हस्तमैथुन
पोलेको मासुको गन्धको लामो सास तान्दै
उक्लन्छ गौशालाको महम्मद महसुरको
होटल
दन्काउँछ बिफ बिरयानी र फर्कन्छ कोठामा ।

मध्यान्हतिर
मगन्तेको हुलिया फेरेर हुइँकिन्छ रत्नपार्कतिर
रातो मलम दलेर बेदाग कुर्कुचाभरि लमतन्न सुतिरहन्छ
ओछ्याएर भुइँमा बटुको
र टाँसेर आँखामा आर्तनाको आहत मागिरहन्छ भोकको भीख ।

सम्साँझै पस्छ भोटेनीको भट्टिभित्र तनतनी तन्काउँछ दुई बटुको तोङ्बा उडाइदिन्छ धुरीतिर नशालु धुमौरो धुवाँ
र कान छोपेर कुनामा
निदाइदिन्छ नकचरो निद्रा ।

मध्यरातमा
टिलिक्क टल्कने कोट र चमक्क चम्कने बुट लगाएर
हानिन्छ ठमेलको सातघुम्तीतिर नेपाङ्ङ्ग्रेजीमा बोल्छ विदेशीहरूसँग
अनि सासै सासमा साउती गर्छ
रातमा चारो खोज्न निस्केका चराहरूलाई कानमै मुख जोतेर सोध्छ-
माल खोजेको हो माल ?
आउनुस् म मिलाउँछु
आउनुस्
कस्तो चाहियो भन्नुस्
तान्ने कि खाने ?
बस्ने कि लाने ?

मेरो सहरमा एउटा यस्तो मान्छे छ
जो बिहानभरि भगवानलाई बेच्छ दिनभरि इमानलाई बेच्छ
साँझभरि आफैलाई बेच्छ
र रातभरि सप्पैलाई बेच्छ

के तपाई उसलाई चिन्नुहुन्छ ?

आइमाई

हे ! परमेश्वरका प्रथम आविष्कार
प्रिय आदिपुरुष
महिलालाई सजिलै मैला बनाउन सक्ने वरदान पाएका
सफेद सफारीमा सजिएर सुकिला देखिने ज्यूँदा सालिकहरू !
ॐ गुमाएर अहम् भएका
हाम्रा मालिकहरू !
हो म आइमाई हुँ ।

आइको अर्थ आमा अनि माई माने देवी
देवी र माताको उच्च ओहोदाबाट पदच्यूत गरेर मलाई
बनायौ अहिलेसम्म
‘आइ’ ‘माई’ अर्थात् म र मेरी मात्रै !

ए ! होमोसेपियन्सका भाले प्रजातिहरू स्त्रीको शरीर, स्वरूप र स्वतन्त्रताको एक्लो हकदार बनाएर आफैलाई अहिलेसम्म
सुगा बनाएर राख्यौ सुनकै पिंजडाभित्र रटाइरह्यौ पितृसत्ताका निकै पुराना
परिभाषाहरू
कहिले बुझ्छौ खै आइमाईलाई तिमीले
म र मेरीको परिधिभन्दा बाहिर राखेर ।

ए ! अहम्‌ले उन्मत्त कामदेवहरू
पञ्च इन्द्रियभन्दा अलि माथि उठेर
छुने प्रयास गर छैटौं इन्द्रियलाई पनि मैनको मादक मूर्तिभन्दा अलि बढी सम्मान गर्ने गर मन मस्तिष्कलाई पनि गाजलु नजर, नशालु अधर र छिनेको कम्मर मात्र
हैन स्वास्नीमान्छे ।

योनिधारी विवेकशून्य प्रजाति मात्र पनि हैन स्वास्नीमान्छे
चेतना र चैतन्य पनि हो स्वास्नीमान्छे अनि शारदा पनि हो स्वास्नीमान्छे ।

जब तिम्रा नजरका नक्षत्रहरू
केवल मेरा वक्षस्थलको कक्षमा परिक्रमा गर्छन्
जब अभिमानी भाले
आफ्नै घरमन्दिरको देवीलाई छाडेर
धाइरहन्छ देवालयतिर व्यर्थ
जब बिर्सन्छन् शिवहरूले
अर्धनारीश्वरको अर्थ
बिर्सन्छन् शक्तिस्वरूपा जननी
र सतीको अस्तित्व
तब प्रश्न गर्न मन लाग्छ मलाई
तिमीले फेरेको पहिलो सास कसको थियो ?
तिमीले चाखेको पहिलो स्वाद के को थियो ?
भन- कहाँ उभिएको छ शिवलिङ्ग ?
भन- कहाँ फस्टाउँछ तिम्रो वीर्य ?
जब नाजबाफ भएर हेर्छौ तिमीले मलाई आफैले जन्माएको नादान सन्तानलाई झैं छातीमा टाँसेर माफी दिँदै भन्नेछु –
ए ! मैले प्रेम गर्ने प्रिय पुरुष
मलाई स्वतन्त्र आइमाई हुन देऊ
मलाई ” आइ” “माई” मात्रै नबनाऊ ।

छोरीलाई आह्वान

म भन्दिन तिमीलाई छाउगोठ जाऊ
म भन्दिन तिमीलाई भो खेल्न नजाऊ
म भन्दिन तिमीलाई सपना नदेख
म लाउँदिन तिमीलाई कुनै परहेज ।

म त भन्छु
जाऊ पहाड चढ
बेसी झर
जङ्घार तर
जाँच आफ्नो सामर्थ्य
नाप आफ्नो आयतन
उक्ल आफ्नो उचाइ
उड आफ्नो आकाश ।

म भन्दिन तिमीलाई
सहनशीला सुशीला मात्रै बन
म भन्दिन कसैको नाम र आसमा मात्रै बाँच्ने बँधुवा पशुजस्तै होऊ

म त भन्छु
भयो भन्ने साहस जुटाऊ
अन्याय फोर्ने आँट जुटाऊ
हो तिमी कोमल फूलजस्तै छ्यौ
तर यो होइन कि जसले पनि चुडेर च्यात्न सकोस् ।

यो कुरा बुझ छोरी
तिम्रो शरीर कसैको दाइजो हैन
न कसैको बिरासत हो यो
तिम्रो मन कसैको डस्टबिन हैन
जब चाह्यो बिकारहरू फ्याँक्ने
तिम्रो मन कसैको प्रयोगशाला हैन
जब चाह्यो आवेग र पागलपन जाँच्ने तिमी बुख्याचा पनि होइनौ
कसैको इशारामा नाचिरहने

तिमी गीत हौ तिम्रै ढुकढुकीको
तिमी सङ्गीत हौ तिम्रै अस्तित्वको
तिमी त हौ
एउटा हीरा
जसलाई चम्कन न प्रकाश चाहिन्छ
न पालिस चाहिन्छ ।

Scroll to Top