लागूऔषध तथा मदिराजन्य पदार्थ नियन्त्रणमा महिलाको भुमिका

  • सुगन्धा सुवेदी सिग्देल

नेपालका सहर होस् वा गाउँको कुना कन्दरामा समेत युवाहरू लागू पदार्थ तथा मदिराको कुलतमा लागेर समाजमा मानसिक र सामाजिक समस्या बढ्दै गइरहेका छ ।

दिनहुँ हत्या, हिंसा, बलत्कार जस्ता घटना बढ्दै गइरहेका कुरा सार्वजनिक भईरहेका छन् । यस्ता घटनामा युवाहरूलाई संलग्न हुनबाट जोगाउनका लागि स्थानिय दिदिबहिनीहरुको सक्रियतामा जिल्ला प्रशासन कार्यलय काठमाण्डौमा मिति २०७१।५।३० गते विधिवत रुपमा दर्ता भएको “जागरण महिला विकास समाज नेपाल”ले नेपाल सरकार गृह मन्त्रालय, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका तथा राष्ट्रिय युवा परिषद्को आर्थिक सहयोगमा लागु औषध दुर्व्यसन विरुद्ध विद्यालयस्तररका युवा, महिला तथा बालबालिका केन्द्रित चेतनामूलक कार्यक्रम तथा नगर स्तरीय वक्तृत्वकला सञ्चालन गर्नुका साथै नगरपालिकाका जनप्रतिनिधिहरुलाई समेत अभिमुखिकरण कार्यक्रम निरन्तर रुपमा सञ्चानल गर्दै आइरहेको छ ।

देश भित्रका अन्य स्थानको जस्तै चन्द्रागिरि नगरपालिका भित्रको पनि सबैभन्दा ठुलो समस्या भनेकै लागु औषध तथा मदिराजन्य पदार्थको बढ्दो दुरुपयोग हो । अझ तथ्यांकहरुलाई आधार मान्ने हो भने चन्द्रागिरि नगरपालिका लागूऔषध प्रयोग र ओसारपसारमा दोस्रो नम्बरमा पर्छ ।

यसै सन्दर्भमा सोही कुराको पहिचान गर्दै विशेष गरी महिलाहरुलाई बढी सचेतना दिने उद्घेश्यले हालसम्म काठमाण्डौ जिल्लाको चन्द्रागिरि नगरपालिका , नागार्जुन नगरपालिका तथा काठमाण्डौ महानगरपालिका भित्रका करिब ४ दर्जन स्कुल, कलेजका बिद्यार्थी, अभिभावक तथा जनप्रतिनिधि समेत गरी हजारौं जनालाई लागुऔषध तथा मदिराजन्य पदार्थले व्यक्ति, परिवार, समाज र राष्ट्रमा पर्ने असर र त्यसबाट बच्ने उपायबारे वृत्तचित्र, पर्चा, पम्पलेट, ब्यानर तथा विज्ञहरुबाट प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

संख्यात्मक रुपमा महिलाको अवस्था :

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जन संख्या २,६४,९४,५०४ जना रहेकोमा पुरुष १,२८,४९,०४१ जना र महिला १,३६,४५,४६३ जना रहेकोमा पुरुष भन्दा ७,९६,४२२ जना बढी महिला देखिएको छ ।

लागूऔषध तथा मदिरा जन्य समस्यामा महिलाको अवस्था :

गृह मन्त्रालय तथा केन्द्रिय तथ्यांक विभागको २०६३ सालको सर्वेक्षण अनुसार कडा खाले लागु औषध प्रयोग गर्नेहरुको संख्या ४६,३०९ पुगेको देखिन्छ । २०६९ मा ९१,५३५ जना पुगेको देखिन्छ । ६ वर्षको अवधिमा ९८ प्रतिशतले बढेको देखिन्छ भने वार्षिक ११.३६ प्रतिशतका दरले वृद्धि भएको देखिन्छ ।

कुल लागु औषध प्रयोगकर्ताहरूमध्ये ६१.४% (२८४३९) ले सुईको प्रयोग गरी लागु औषध लिने गरेको पाइयो । २०६९ को सर्वेक्षण अनुसार लागुपदार्थको दुरूपयोग गर्नेको संख्या काठमाण्डौंमा सबै भन्दा बढी ३६९९८ देखिएको छ ।

६ बर्ष अगाडिको तथ्यांकलाई हेर्दा वार्षिक ११.३६ प्रतिशतका दरले वृद्धि भैरहेको अवस्थामा अहिले यो संख्या बढेर ६२२१५ जनाभन्दा बढिसकेको अनुमान गर्न सकिन्छ ।

लागुऔषधकुल महिलाहरुको संख्या ६३३० देखिएकोमा काठमाण्डौ उपत्यकामा ३४८५ जना मात्र देखिएको छ । तथ्याङलाई आधार मान्दा उपत्यकामा हालसम्म महिलाहरुको संख्या बढेर ५८६० जना नाघिसकेको अनुमान गर्न सकिन्छ ।

उल्लेख गरिएको अनुमान कडा खाले लागुऔषध प्रयोगकर्ताहरुको मात्र हो । यसमा घरेलु मदिराजन्य पदार्थ प्रयोगकर्ताहरुको अवस्था अज्ञात नै छ । नेपालमा परापूर्वक कालदेखि विभिन्न जनजातिहरुको आआफनै संस्कृतिअनुसार जन्मेदेखि विवाह, भोज भत्तेर तथा मृत्यु पश्चात जाँड तथा रक्सीको प्रयोग गर्ने गरेको पाइन्छ ।

यो वा त्यो बहानामा नेपालको हरेक बस्तीमा मदिरा सेवनको लागि सहजै उपलब्ध छ । यसमा मदिरा बनाउने प्रक्रियादेखि पसल खोलेर बिक्री वितरण कार्यसमेतमा महिलाको ठुलो सहभागिता रहेको पाइन्छ ।

खुलेर नबताउने कारण दुर्व्यसनमा लागेका महिलाहरुको एकिन संख्या प्राप्त हुन कठिन छ ।

प्रायः महिलाहरुले अशिक्षा, अज्ञानता तथा गरिबीको कारण यस्ता लागुव्यापार व्यवसाय गरेको पाइन्छ ।

Scroll to Top