लिच्छवीकालमा नारी जातिको अवस्था

त्यसताका सर्व साधारणमा नारी शिक्षाको व्यवस्था थियो भन्न त सकिदैन तर मानदेव प्रथम की माता राज्यवती र उनकी रानीहरू शिक्षित भएको पाइएको तथा मानदेवकी पुत्री विजयवती इ.स. ५०५ को काठमाडौं सूर्यबाट अभिलेखमा उल्लेख भए अनुरूप विविध कला (संगीत, ललितकला, घरेलु कार्य, शील्प, वादविवाद ) हरूमा निपुण थिइन् भनी थाहा भएबाट सामान्यतया भन्न सकिन्छ ।

त्यस बखत राजपुत्रीहरूलाई पुराण, रामायण, महाभारत र केहो अंशमा नीति शास्त्रको शिक्षा दिने चलन थियो ।

लिच्छवीकालमा मातालाई साक्षात् देवी बराबर मानिन्थ्यो भन्ने ज्वलन्त उदाहरण राजा मानदेव (प्रथम) को इतिहासमा वर्णित मातृ भक्तिबाट लिन सकिन्छ । उनले सती जान तत्पर भएकी मातालाई ‘पहिले म आफू मर्छु’ र मेरो पछि मात्र स्वर्गमा पाल्नु होला, तपाईं बिना यो सम्पूर्ण राज्य मलाई बेकार हुँनेछ ।” भनी अत्यन्त करूणा विनयसाथ अनुरोध गरी सती जानबाट रोके । उनले आफ्नी माताको नाममा विष्णु विभ्रांतको मूर्ति स्थापना गरे । साथै आफ्नी माताको हातबाट दान पुण्य गर्नको निम्ति मातालाई जति पनि धन दिएको कुरा पनि इतिहासबाट जान्न सकिन्छ ।

लिच्छविकालमा नारीलाई पति परलोक भएमा, हराएमा ( बेपता भएमा), जोगी भएमा, वा पतित भएमा (अथवा पंचपराध मध्ये कुनै एकको दोष सावित भएमा ) आइमाईहरूले पति परिवर्तन गर्ने स्वतंत्रता थियो । यदि कुनै आइमाइले माथि लेखिएका कुनै पनि दोष नभएको लोग्नेलाई छाडी अर्को लोग्ने गमन गरे त्यस अवस्थामा उनीहरूमाथि मारचोक अधिकरणले उचित कानून लाउँथ्यो तर यति भएर पनि यदि त्यो पछिल्लो लोग्नेबाट सन्तान भएमा मारचोक अधिकरणले कानूनी कारवाही गर्दैनथ्यो ।

तसर्थ लिच्छवीकालको अध्ययनबाट के थाहा हुन्छ भने त्यसबेलाका नारीहरूका लागि संतान जन्माउनु नै ठूलो सम्पत्ति थियो । संतान नभएका नारीजातीलाई मारचोक अधिकरणले दोषलगाई कानूनी कोर्रा लगाउने चलन थियो ।

मानदेव (प्रथम) जो मानाङक मुद्राको उल्टो भागमा जमलको फुल भएको चित्र अंकित छ । त्यस फूलमा एउटी देवी प्रतिष्ठित छन् । त्यहाँ भोगिनीको नाम लेखिएको छ । मानदेवकी पृय तथा मुख्य रानी भोगिनी हुन् । यसरी महारानी भोगिनीलाई देवीको रूपमा सम्मान दिइएकोबाट त्यसताकाका नारीहरूको सामाजिक स्थिति उच्च रहेको अनु‌मान गर्न सकिन्छ ।

लिच्छवीकालीन महिलाहरूलाई आंशिक रूपमा भए पनि धार्मिक र आर्थिक स्वतंत्रता थियो भन्ने कुराको पुष्टि मानदेव प्रथमकी रानीहरू क्षेम सुन्दरी, गुणवती र विजय स्वामिनीले शिवलिंग स्थापना बेग्ला बेग्लै रूपमा गरेकोले गर्दछ ।

लिच्छवीकालीन अभिलेखहरूमा उच्च एवं मध्य कुलकी (सम्पन्न) नारीले आफ्ना स्वर्गीय पति या स्वर्गीय पिताको नाममा शिवलिंग, शैवालय या बौद्ध धर्मावलम्बी भए चैत्य बनाउने एवं जिर्णोद्धार गर्ने परम्परागत चलन रहेको पनि पाइन्छ ।

नरेन्द्रदेव (ए. डी. ६४१ टु ६८०) (वी० एस० ६९८ टु ७३७) को अनन्त लिंगेश्वर अभिलेखमा बीस ओटी दासीको उल्लेख छ। जसबाट सो समयमा नारीहरू कृत दासीको रूपमा पनि थिए कि भन्ने आभास पाइन्छ ।

भीमार्जुनदेव र विष्णु गुप्तको (ए, डी० ६४०) (वी० एस० ६५७) को एङगाला हिटी अभिलेख अनुसार लिच्छवीकालमा कल्ली, बाजु र पाउजेब उच्च कुलीन वर्गका नारीले बाहेक निम्न कुलका नारीले लगाउन पाउँदैनथे भन्ने कुरा बुझिन्छ । ती गहना बाहेक अन्य बहुमूल्य गहनाहरू निम्न वर्गका नारीले लगाउन पाउँदैनथे भन्ने कुरा व्यंग्य वृतान्तबाट पनि थाहा हुन्छ ।

लिच्छवीकालको इतिहास अध्ययनबाट सो समयमा भित्रेनी राख्ने चलन पनि थियो भन्ने बुझिन्छ । यसको पुष्टि पाटन चपटोले अभिलेखमा मुभेवी नामकी महिलाले आफूलाई धर्मपालकी मुख्य भित्रेनी भनी उल्लेख गरेकोले गर्दछ ।

तर , सोही अभिलेखबाट भित्रेनीलाई विवाहिता सरह अधिकार नभएको कुरा पनि ज्ञात गराउँछ ।

लिच्छविकालीन अभिलेखहरूमा नारी जातिहरू न कुनै जागीर न उच्च राजकर्मचारी अथवा न पाञ्चाली सदस्या नै भएको पाइन्छ । यसबाट त्यसबेला राजघराना बाहेकका नारी वर्गहरू शिक्षित थिएनन् या त शिक्षितै भए तापनि घरको चार पर्खाल बाहिर निस्कने चलन नै नभएको हुन सक्छ भन्ने अनुमात गर्न सकिन्छ ।

लिच्छवीकालीन कुनै पनि अभिलेखमा वेश्याको संकेत नपाइएकोमा स्त्री जातिले पनि पति परिवर्तन गर्ने चलनले गर्दा तथा भित्रेनी प्रथाले गर्दा आर्थिक कारणले नारी जाति वेअवस्थित वेआश्रित नहुनु पर्दा वेश्यावृत्ति नभएको पनि हुन सक्छ ।

लिच्छविकालमा अनुलोभ, प्रतिलोभ, अन्तर्जातिय र अन्तर्देशीय विवाह गरी चार किसिमका विवाह प्रचलनमा भएको उदाहरण पाइएको छ । त्यसबेला जारी प्रथा पनि भएको कुरा लिच्छविकालीन अभिलेखहरूको अध्ययनबाट थाहा पाइन्छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने लिच्छवीकालीन नारीहरूमा उच्चवर्ग (राजघराना) का नारी वर्ग बाहेक मध्यम र निम्न वर्गीय नारी जातिको अवस्था सन्तोषजनक थिएन । नारी वर्गको महत्त्व संतानमा निहीत थियो । संतान नभएमा मारचोक अधिकरणले केवल नारीलाई मात्र दोषारोपण गरेर कानूनी कारवाही समेत गर्दथ्यो । पतिको चरित्रहिनतामाथि अभिलेख मौन एवं अस्पष्ट समेत भएको पाइन्छ ।

( “एक फूल – अनेक रंग ? बाट )

Scroll to Top