मन्त्री आलेमगरद्वारा वनदेवी सामुदायिक भवन उट्घाटन

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ७ मा रहेको वनदेवी सामुदायिक भवनको आज उट्घाटन गरिएको छ ।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रमा आलेमगरद्वारा आज एक कार्यक्रमबिच सो भवन उट्घाटन गरिएको हो ।

वनदेवी सामुदायिक भवन संरक्षण समितिले आयोजना गरेको सो कार्यक्रममा वडा नं ७ का वडा सदस्य भुवन केसी लगाएत स्थानीय संघसंस्थाका पदाधिकारी , वन उपभोक्ता समितिका प्रतिनिधि तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष कुमार शाह सभापति रहेको कार्यक्रममा मन्त्री आले प्रमुख अतिथि थिइन् भने , संस्थाका सचिव बालाजी खातीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रम संचालन गर्नेक्रममा समितिका सचिव समेत रहेका खातीले विभिन्न चरणमा भवन निर्माण कार्यमा सहयोग गर्ने उपभोक्ता समिति र सम्बद्ध व्यक्तिहरूलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री रमा आलेमगरले आफ्नो निर्वाचन क्षेत्रभित्रको समग्र विकास आफ्नो उच्च प्राथमिकतामा रहेको र स्थानीयहरूको चाहना र आवश्यकताप्रति प्रतिबद्ध रहेको बताइन् । साथै , वनदेवी सामुदायिक भवनको निर्माण र संरक्षणमा खटिएका सबैलाई धन्यवाद दिएकी थिइन् ।

कार्यक्रमका सभापति एवम् वनदेवी सामुदायिक भवन संरक्षण समितिका अध्यक्ष समेत रहेका कुमार शाहले भवन सम्बन्धि विषयमा अहिलेसम्मको गतिविधि र भावी योजनाकाबारे बोलेका थिए ।

कुनैबेला वनदेवी विद्यालय क्षेत्रमा पर्ने सार्वजनिक स्थलमा निर्माण गरिएको वनदेवी सामुदायिक भवनको उपयोगितालाई लिएर स्थानीय राजनीतिकर्मी, बुद्धिजीवी र स्थानीयहरूको राय तथा सुझाव अनुसार हाल वडा नं ७ को आफ्नो भवन नभएको र सोही भवनलाई वडा कार्यालयको रुपमा संचालन गर्न र अन्य सामाजिक उद्देश्यलाई समेत जोडेर सामुहिक छलफलबाट बहुआयामिक प्रयोजनका लागि सो भवन प्रयोग गर्न सकिए सार्वजनिक सम्पत्तिको उचित संरक्षण र सदुपयोग हुने देखिन्छ !

उट्घाटित वनदेवी सामुदायिक भवन, चन्द्रागिरि नपालिका र बागमती प्रदेशको सहयोगमा निर्माण सम्पन्न गरिएको हो ।

Scroll to Top