वैशाख ३ गते हुँदैछ नागढुंगा-सिस्नेखोला सुरुङ्गमार्गमा ‘ब्रेक थ्रु’, सवारीसाधन गुड्न कति समय लाग्छ ?

काठमाडौं । सरकारले आगामी वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरुङ्गमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने भएको छ ।

यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ । यहि २ मिटर क्षेत्रलाई ब्लास्टिङ्ग गरेर सुरुङ्गमार्गको पूर्वनागढुंगा र पश्चिम सिस्नेखोलातर्फबाट एकआपसमा मुख जोड्ने कार्यतालिका तयार पारिएको छ ।

चैत ५ गतेदेखि पुनः निर्माण कार्य सुरु भएपछि सुरुङ्ग खन्न बाँकी रहेको १४ मिटरमध्ये सोमबारसम्म ११ मिटर सुरुङ्ग खन्ने काम सम्पन्न भएको छ । यस्तै मंगलबार थप १ मिटर खन्ने काम सम्पन्न हुँदैछ ।

यसरी मंगलबारसम्ममा १४ मिटरमध्ये १२ मिटर सम्पन्न गरि २ मिटर दूरीको क्षेत्र सुरक्षित रुपमा राखेर बैशाख ३ गते अन्तिम ब्रेक थु्र गर्ने तयारी भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

त्रिभुवन राजमार्गको धादिङ्गको सिस्ने खोलादेखि सुरु भएको उक्त सुरुङ्गमार्ग काठमाडौंको चन्द्रागिरी वडा नम्बर २ को किसिपिडिसम्म अवस्थित छ ।

आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु गरेको थियो । यसको कूल लागत भने २२ अर्ब छ । अहिलेसम्म मुआब्जामा ६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

२ हजार ६ सय ८८ मिटर लम्बाई भएको यो सुरुङ्गमार्ग ३.५ मिटर चौडाई भएको दुई लेनको निर्माण भइरहेको छ ।

२ हजार ६ सय ८८ मिटर लम्बाई भएको यो सुरुङ्गमार्ग ३.५ मिटर चौडाई भएको दुई लेनको निर्माण भइरहेको छ ।

सुरुङ्गमार्ग छेड्ने काम सम्पन्न भएपनि भेन्टिलेसन, लाइटिङ्ग, सेफ्टीका बिषयमा पूर्वाधार निर्माणलगायतका कामहरु पछि हुने भएकाले सम्पूर्णरुपमा यो मार्ग सम्पन्न हुन भने अझै १ बर्ष ६ महिना लाग्छ ।

त्यसपछि मात्रै यो सुरुङ्गमार्गमार्फत सवारी साधन ओहोरदोहोर गर्न पाउने सुविधा प्राप्त हुनेछ ।

एक महिनाको अवरुद्धपछि अहिले फ्लाई ओभर, एक्सेस रोड निर्माण तथा कालोपत्रे, लाइनिङ्ग कंक्रिट फिनिसिङ्गको काम तिव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ । एउटा रहेको फ्लाई ओभरको काम पनि आगामी ५ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Scroll to Top