स्थानीय तहमा पठाएको छात्रवृत्ति विद्यार्थीले पाए नपाएको केन्द्र सरकारले अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पठाएको छात्रवृत्ति विद्यार्थीले पाए नपाएको केन्द्र सरकारले अनुगमन गर्ने बताउनुभएको छ । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको जानकारी लिनुभएको छ । ‘सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए-नपाएको अब सरकारले अनुगमन गर्ने छ’, ओलीले लेख्नु भएको छ । 

सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ हजार र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको ओलीले जानकारी दिनुभएको छ । ‘यसका लागि ६० करोड रुपैँया अनुदान दिएको छ’, ओलीले लेख्नु भएको छ । 

दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचिकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक १ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभएको छ । । गैर आवासीय छात्रवृत्ति अन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ । ‘यसका लागि ५० करोड रुपैँया रकम विनियोजन भएको छ’, प्रधानमन्त्रीले सर्वसाधारणलाई जानकारी दिनुभएको छ ।  

शैक्षिक दृष्टिले पछि परेका समुदाय, अति बिकट हिमाली जिल्लाका विद्यार्थी लगायत सात वटा लक्षित समूहका ११ हजार ४ सय विद्यार्थीको लागि मासिक ५ हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभएको छ । ‘माथि उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रति विद्यार्थी लागत हिसाब गरी सशर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको छ, यस सम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ’, ओलीले लेख्नु भएको छ ।

Scroll to Top