हेटौंडा-काठमाडौं जोड्ने दक्षिणकाली र सिस्नेरी सडकखण्ड अवरुद्ध 

काठमाडौं  । अविरल बर्षाको कारण दक्षिणकाली सडकखण्ड र सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर दिएको जानकारी अनुसार गएरातीदेखि आएको अविरल बर्षाको कारण दक्षिणकाली सडकखण्ड र सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको हो । 

दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारेमा बर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै सिस्नेरी सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ । अहिले पनि अबिरल बर्षा भइरहेका कारण तत्काल बाटो खुलाउन नसकिने प्रहरीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौं जाने कुलेखानी फाखेल सडकखण्ड भने सुचारु रहेको छ ।

Scroll to Top