अर्थ मन्त्रालयलाई संसदको निर्देशन- चिनी, चामल र गहुँमा भ्याटमा पूरै छुट र भन्सार महशुल १% मात्रै लिनू

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडवाडको समयमा अतिआवश्यक खाद्य पदार्थको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले चिनी, चामल, गहुँलगायतका अति आवश्यक खाद्य पदार्थको अभाव हुन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति अब्दुल खानले सुलभरुपमा अतिआवश्यक खाद्य पदार्थको बिक्रीको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएका छन् । समितिले बजारको मागअनुसार मूल्य अभिवृद्धि करमा पूर्णरुपमा छुट हुने गरी अतिआवश्यकीय खाद्य पदार्थको आयात गर्ने विषयमा व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

अतिआवश्यक खाद्य पदार्थको आयात गर्न आवश्यक पर्ने मूल्य अभिवृद्धि करमा पूर्णरुपमा छुट दिन आवश्यक सहमति प्रदान गर्न समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘नजिकिँदो चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायत अति आवश्यक वस्तुको अभाव हुन नदिन र मूल्य नियन्त्रण गरी कार्टेलिङ प्रणालीलाई निरुत्साहित गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छु,’ समितिका सभापति खानले भने ।

सहुलियत मूल्यमा बिक्री गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयमा सहमति माग भए पनि बजारको मागअनुसारको परिमाणमा सहमति प्राप्त नभएको विषयप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘चाडबाडको अवसरमा बजारको मागअनुसारको परिमाणमा उक्त मन्त्रालयबाट माग भएअनुसार मूल्य अभिवृद्धि कर पूरै छुटमा र १ प्रतिशत भन्सार महशुल लिनेगरी आयातका लागि सहमति उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ,’ समितिका सभापति खानले भने ।

यसवाहेक अनुगमनलाई प्रभावकारी बनाउन पर्याप्त जनशक्ति र स्रोत, साधनको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइएको छ ।

चाडवाडमा दैनिक प्रयोग हुने नुन, चिनी, चामल, दाल, तरकारी, तेल, दुध, पानी, औषधिलगायतका उपभोग्य वस्तुमा हुने कालोबजारी, मूल्यवृद्धि, मिसावट, कृत्रिम अभावलगायतका विषयमा समितिले विभिन्न स्थानमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । यसका लागि सभापति खानको संयोजकत्वमा समितिका ४ जना सदस्य र दुई जना कर्मचारी रहने गरी ७ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

समितिकी सदस्य रमा कोइराला (पौड्याल) ले सरोकारवाला निकायले चाडपर्वका बेला जनतालाई सुलभ र सहज रुपमा आवश्यक वस्तुको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन् ।

उनले भनिन्, ‘चाडबाडको केही समयका लागि भए पनि भन्सार छुट हामीले उपलब्ध गराउनुपर्छ । हामीले जनतालाई राहत दिने हो ।’

Scroll to Top