काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै छ ।

आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।

महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबि गरेका छन् ।

Scroll to Top