प्राचीनकालमा शोणितपुर नै हालको चन्द्रागिरि नगर

प्राचीनकालमा शोणितपुर नामबाट प्रख्याति पाएको यो नगर द्वापर युगमा राजा वाणसुरले नामकरण गरेको पाइन्छ ।

सोही नाउँबाट पहिचान कायम राख्दै ऐतिहासिक ख्याति कमाउन सफल भएको थियो । लिच्छविकालमा ऐतिहासिक शोणितपुर नगरलाई शिताटीद्रङ्ङ्ग नामकरण गरेको पाइन्छ । यिनै नामबाट प्रसिद्धि पनि पाएको थियो ।
सोही शोणितपुर–सुप्रभानगरी–शिताटीद्रङ्ग (नगर) हुँदै अहिले चन्द्रागिरि नगर नामकरण भएको छ । यो नगरको नाम चन्द्रागिरि भएकाले नगरवासीहरू गौरवान्वित भएका छन् । ऐतिहासिक एवम् धार्मिक महत्त्वको चन्दनागिरि अर्थात् चन्द्रागिरि पर्वत श्रृङ्खला र त्यहाँस्थित भञ्ज्याङ्गको नामबाट नगरपालिकाले आफ्नो परिचय पाएको छ । प्राचीन शोणितपुर नगरभित्र नै चन्द्रागिरि नगरपालिका अवस्थित हुनुले पनि नगरवासीहरू सन्तुष्ट छन् ।

शोणितपुर–सुप्रभानगरी–शिताटीद्रङ्ग (नगर) हुँदै अहिले चन्द्रागिरि नगर नामकरण भएको छ ।


प्राचीन ऐतिहासिक एवम् बेग्लै मूल्यमान्यता रहेको अलग अलग रूपमा गुचमुच्च रहेका बस्तीहरू भित्र धर्म, संस्कृति र सांस्कृतिक महत्त्वका देवालय, शिवालय, मठ, मन्दिर एवम् प्राचीन सभ्यताका पीठ र अमूल्य निधिहरू यथेष्ट मात्रामा पाइन्छन् । नेवाः समुदायको वाहुल्यताम अडिएका बस्तीमा कला कौशलमा निपूण पौरखी शिल्पी हातहरू प्रशस्त छन् ।
आफ्नै अस्तित्वमा अडिएका ती नेवाः बस्तीहरू यस प्रकार छन्– धक्वाः, महाद्यःगाँ, किपुल्चा, बल्बु, सतुङ्गः, बोसिगाँ, ल्वहँखा, मच्छेगाँ, तापख्यः, सिंद (सिंरः) आदि । त्यस्तै तकिंबुँ, टोटीपाखा, बालगाँ, गुमरःचा, सिमर्चा आदि नाउँका साना बस्तीहरू पनि आ–आफ्नै अस्तित्वमा उभिएका छन् ।
यहाँका नेवाः समाजभित्रका परम्परागत प्रथा, संस्कार, संस्कृति र त्तांस्कृतिक महत्त्वका अमूल्य सम्पदा र सभ्यताहरू प्रायः पाइलैपिच्छे भेट्टाउन सकिन्छ । पौराणिक मूल्यमान्यताका खोलानाला, पाटी पौवा, ढुङ्घारा, पोखरी, बाटोघाटो र डाँडा पाखाहरूमा प्राचीन सभ्यताका त्तांस्कृतिक अवशेषहरू अहिलेसम्म पनि दुरुस्त भेट्टाइन्छन् । यसको ज्वलन्त उदाहरण हो – सिन्हः जात्रा, बलम्बुको लातिमरः जात्रा, थानकोटको सकिमरः जात्रा, सातगाउँको बखुमदः/बखुमरःजात्रा आदि हुन् ।

  • चन्द्रागिरि अनुशीलन (सांस्कृतिक पक्ष)बाट
Scroll to Top