युवाहरूको लागि दुई दिने प्रतिरक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेसनल डिभलपमेन्ट इन्स्टिच्युट (एनडीआई) को आयोजनामा दुई दिने नेकपा एमालेका युवाहरूको लागि प्रतिरक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका ४० जना युवालाई धुलिखेलमा आवासीय तालिम प्रदान गरिएको हो । प्रशिक्षणको उद्घाटन नेकपा एमाले उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रम उद्घाटन सत्रमा ज्ञवालीले कुशल नेतृत्व विकास र प्रभावकारी रणनीति सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसै गरी विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत दीपेश विष्टले प्रभावकारी विद्युतीय सुशासन, प्राविधिक माध्यम, डाटा संरक्षण र आर्टीफिसियल इन्टिलिजेन्सी शासन र विद्युतीय स्थानीय सुशासनका चुनौती तथा अवसर सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
नेपालको प्रशासनिक क्षेत्रमा कसरी डाटा छिटो र सुरक्षित विकास गरी जनतालाई जनतालाई कागज बोकेर हिँड्ने झञ्झटबाट मुक्त गराउन सकिन्छ भन्ने विषय अहिलेको प्रमुख विषय भएको विष्टले बताउनुभयो । यस कार्यमा प्रधानमन्त्री शर्मा ओली लाग्नु भएको बताउँदै उहाँले नेपाल छिट्टै डिजिटल युवामा प्रवेश गर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा युवा र अर्थतन्त्रका विषयमा विज्ञ गिरिधारी पौडेलले प्रशिक्षण दिनुभएको थियो । सरकारको नीति तथा कार्यक्रम, बजेट र आर्थिक योजना, बजेटका प्रमुख सूचक, अर्थतन्त्रमा युवाका लागि चुनौती र अवसर लगायतका विषयमा उहाँले जानकारी दिनुभएको थियो । आर्थिक विकासमा युवा उद्यमशीलताको महत्त्व, पार्टीको आर्थिक नीति अभिवृद्धिका युवाको दृष्टिकोण लगायतका विषयमा उहाँले प्रष्ट पार्नुभयो ।
पार्टी र नागरिक समाजका साझा मुद्दामा वकालतका लागि नागरिक समाजसँगको सहकार्यका सिप, युवाका एजेण्डा, गठबन्धन निर्माणका आधार र महत्त्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, पार्टी सञ्चालन र चुनौती लगायतका विषयमा भावना भट्टले प्रशिक्षण दिनुभएको थियो ।

Scroll to Top