सहिद स्मृति प्रकृति प्रतिष्ठानले मालपोत कार्यालयलाई लेख्यो संशोधन सम्बन्धी पत्र

चन्द्रागिरि (काठमाडौं) । २०११ सालमा स्थानीयहरूको जग्गा अधिकरण गरि स्थापना गरिएको त्रिभुवन स्मारक समिति ( हाल : सहिद स्मृति प्रकृति प्रतिष्ठान ) ले मालपोत कार्यालय कलंकीको नाममा संशोधन सम्बन्धी पत्र लेखेको छ !

मिति २०८१ साल श्रावण २९ गते गरिएको उक्त पत्र अनुसार २०६५ साल फाल्गुन ३० मा साविक त्रिभुवन स्मारक समिति संघसंस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा नयाँ नामाकरण “सहिद स्मृति प्रकृति प्रतिष्ठान” राखी दर्ता भएको साथै संस्थाको स्वामित्वमा रहेको करिब १६६ रोपनी जग्गाको विषयमा मालपोत कार्यालय कलंकीको श्रेस्तामा घर , आवादी लेखिएकोमा अहिले “आवादी” र “सरकारी” उल्लेख गरिएको पाइएकोले सो विवरण संशोधन गरि पहिलेकै अवस्थामा ल्याउन पत्राचार गरेको छ !

त्रिभुवन पार्कले चर्चेका कित्ता जग्गाहरू सहिद स्मृति प्रकृति प्रतिष्ठानको अचल सम्पत्ति भएको तथा कुनै किसिमले सरकारी जग्गा जमीन नभएको हुँदा “सरकारी” शब्द हटाई संशोधन गरिदिन पत्रमा उल्लेख गरिएको छ ।

उपत्यकाकै इतिहास बोकेको सहिद स्मृति प्रकृति प्रतिष्ठान ( त्रिभुवन पार्क ) लामो समयदेखि विवादमा पर्दै आएको र यस पार्क संचालन सम्बन्धी सम्पूर्ण जिम्मेवारी हाल “बागमती सरकार संस्कृति , पर्यटन तथा सहकारी मन्त्रालय मातहत रहेको छ !

सहिद स्मृति प्रकृति प्रतिष्ठानले पार्कभित्रका जग्गा जमीन आफ्नो स्वामित्वमा रहेको दाबी गरेपनि अधिकांश जग्गा जमीनको लगत कट्टा बाँकी रहेको र अहिले पनि धेरै जग्गा विभिन्न गुठी , व्यक्तिको नाममै रहेको साथै सार्वजनिक , पर्ती लगायत अवस्थामा रहेको छ ।

सहिद स्मृति प्रकृति प्रतिष्ठानको पछिल्लो संशोधन सम्बन्धी पत्रको बारेमा स्थानीय सरोकारवालाहरूले गठन गरेको “सहिद स्मृति प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) संरक्षण तथा समन्वय समिति”ले पनि चासो व्यक्त गरेको छ ।

समन्वय समितिका संयोजक तथा बागमती प्रदेश सभा सदस्य बिन्दु श्रेष्ठले पार्क सम्बन्धी विषयमा स्थानीय सरकार , स्थानीय बासिन्दा र बागमती सरकार समेतसँग छलफल भइरहेको र त्रिभुवन पार्क कुनैपनि हालतमा स्थानीयस्तरबाट संचालन गर्नेगरी आफुहरूले पहल गरिरहेको बताइन् !

“हाल सहिद स्मृति प्रकृति प्रतिष्ठान” संस्थालाई जिल्ला प्रशासन कार्यालयले नविकरण गर्न तथा अन्य गतिविधिमा रोक लगाएको छ !

Scroll to Top