चेक बाउन्स मुद्दामा दोषी ठहर भए पाँच प्रतिशत जरिवाना र दुई वर्षसम्म कैद

काठमाडौं । चेक अनादर (बाउन्स) मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आईतबार बसेको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भइ सर्वसम्मत रुपमा पारित भएको हो ।

संशोधन विधेयकमा सांसदहरु बीच सहमति भएसँगै अब चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ ।

छलफलमा बोल्दै समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषयमा सर्वसहमतिले पास भएको घोषणा गरे ।

उनले १५ लाखसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको बताएका छन् ।

सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रूप दिइने उनले सुनाए । छलफलमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयकमाथिको बुँदा ७ माथिको छलफल मुख्य बुँदा बनेको बताए ।

उनले संशोधन विधेयकमाथि समितिले व्यवस्था गर्ने विषयमा समिति स्वतन्त्र रहने भन्दै समितिमा भएका छलफल सकारात्मक रहेको बताए ।

Scroll to Top