काठमाडौंका ९ सहकारीमा सीआईबीको अनुसन्धान: पक्राउ परेका केही धरौटी तिरेर छुटे, केही थुनामा

सुवास गोतामे
  • सुवास गोतामे

काठमाडौं महानगरपालिकाको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ९ वटा सहकारीको अनुसन्धान गरेको छ । अनुसन्धानपछि केही सहकारीका सञ्चालक पुर्पक्षका लागि जेल चलान भएका छन् भने केही धरौटी बुझाएर छुटेका छन् । 

महानगरको सहकारी नियमन महाशाखाको अनुगमन समितिले विभिन्न मितिमा ९ वटा सहकारीमाथि छानबिन गर्न सीआईबीलाई पत्राचार गरेको थियो । 

गत वर्ष असारमै महानगरले कुलेश्वरमा सञ्चालित युक्त बहुउद्देश्यीय सहकारी संस्थामाथि अनुसन्धान गर्न सीआईबीलाई परिपत्र गरेको थियो । 
जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत युक्तविरुद्ध उजुरी परेकाले सीआईबीले फाइल उतै पठाएको थियो । काठमाडौं परिसरले अहिले पनि अनुसन्धान गरिरहेको छ ।

गत वर्षै साउन ११ मा महानगरले काठमाडौंको बाँसबारीमा सञ्चालित साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा छानबिन गर्न सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीले अनुसन्धान गर्दा उक्त सहकारीको लेखासमितिका संयोजक रामहरि अधिकारीलाई पक्राउ गरेको थियो । 
अन्य पदाधिकारीलाई फरार सूचीमा राखेर सीआईबीले अधिकारीविरुद्ध मुद्दा दर्ता गरेकै छ । काठमाडौं जिल्ला अदालतले अधिकारीसँग २० लाख धरौटी मागेको थियो । उनी धरौटी बुझाएर छुटिसकेका छन् ।

सीआईबीका अनुसार गत जेठ १४ गते महानगरले कालिमाटीमा सञ्चालित सुमेरु बचत तथा ऋण सहकारी संस्थामाथि अनुसन्धान गर्न परिपत्र गरेको थियो । महानगरको परिपत्रअनुसार अनुसन्धान गरेको सीआईबीले सुमेरुका कोषाध्यक्ष रामकृष्ण अवाले र सदस्य सरोज महर्जनविरुद्ध काठमाडौं अदालतमा मुद्दा दर्ता गरेको थियो ।

गत साउन २८ गते काठमाडौं जिल्ला अदालतले अवाले र महर्जनद्वयलाई जनही २० करोड धरौटी मागेको थियो । उनीहरू धरौटी बुझाएर छुटेको सीआईबीले जनाएको छ । 

महानगरकै आग्रहमा सीआईबीले मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान गरेको थियो । गत जेठ १४ गते महानगरले गरेको परिपत्रअनुसार अनुसन्धान गर्दा सहकारीका अध्यक्ष बाशुदेवमान जोशीलाई पक्राउ गरेको थियो । जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले एक करोड धरौटी मागेको थियो । धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । ​

न्यूरोडमा सञ्चालित महावौद्ध बचत तथा ऋण सहकारी संस्थाको उजुरी जिल्ला प्रहरी कार्यालय चितवनमा परेका कारण सीआईबीले उतै फाइल पठाएको छ । महानगरले गत असार २४ गते उक्त फाइल पठाउँदै सीआईबीलाई अनुसन्धानको लागि आग्रह गरेको थियो । 

एसपी बोगटीले महावौद्ध सहकारीको चितवनमा उजुरी परेकाले उतै अनुसन्धान गर्न फाइल पठाएको बताए । न्यूरोडमा सञ्चालित अभिमत बचत तथा ऋण सहकारी संस्थामाथि अनुसन्धान गर्न महानगरले पठाएको फाइल सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ । परिसरमै उजुरी परेर अनुसन्धान भइरहेको भन्दै सीआईबीले उतै फाइल पठाइदिएको हो । 

सामाखुसीमा सञ्चालित सत्कार बचत तथा ऋण सहकारी संस्थामाथि पनि सीआईबीले महानगरकै आग्रहमा अनुसन्धान अगाडि बढाएको थियो । गत साउन २७ गते महानगरले सीआईबीलाई परिपत्र गरेको थियो । सीआईबीले अनुसन्धान गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्दा उक्त सहकारीका सचिव गोविन्द पुरीलाई ५० लाख, कोषाध्यक्ष महेश श्रेष्ठलाई एक करोड र चावहिल शाखाका व्यवस्थापक धुव्रराज कार्कीलाई ५० लाख धरौटी मागेको थियो । 

धरौटी बुझाउन नसकेपछि उनीहरू सुन्धारास्थित जगन्नाथ देवल कारागार चलान भएको एसपी बोगटीले जानकारी दिए । सीआईबीका अनुसार विरगंज नगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान गर्न पत्राचार गरेको थियो । उक्त सहकारीको काठमाडौं परिसरमा समेत उजुरी परेकाले उतै फाइल पठाइएको जानकारी बोगटीले दिए । 

महानगरपालिकाको सहकारी नियमन एवं अनुगमन समितिले रुरल डेभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आधारभूत बहुउद्देश्यीय सहकारीमाथि अनुसन्धान गर्न सीआईबीलाई गरेको पत्राचारमा थप अनुसन्धान भइरहेको एसपी बोगटीले जानकारी दिए । 

बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले अनुसन्धानका लागि ब्यूरोमा फाइल पठाइएको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

सीआईबीको अनुसन्धानबाट यी सहकारीहरूले उद्देश्यविपरीत लगानी गरेको, क्षेत्राधिकार बाहिरको बचत स्वीकार गरेको तथा लगानी गरेको पाइएको छ । यसैगरी सदस्यभन्दा बाहिर लगानी गरेको, एकाघरका व्यक्ति नियमविपरीत सञ्चालक भएको र लगानी लिएको र दिएको पाइएको छ । 
महानगरभित्र १ हजार ९२२ वटा सहकारी संस्था नियमन क्षेत्राधिकारभित्र छन् । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दिपक थापाले सहकारी ठगीलाई लिएर सीआईबीमा परेका उजुरीउपर केहीको अनुसन्धान भइरहेको र केही अनुसन्धान सकेर अदालतमा मुद्दा बुझाइसकेको बताए । 

उनले भने, ‘सीआईबीमा जति पनि सहकारी ठगीको उजुरी आएका छन्, छुट्टै पिलरबाट अनुसन्धान भइरहेको छ, दोषी देखिएकाविरुद्ध मुद्दा दर्ता गरेका छौं । कोही पूर्पक्षमा कारागार समेत चलान भइसकेका छन् ।’

Scroll to Top