काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने ऐतिहासिक निर्णय गरेका छन्। यो सेवा काठमाडौंको कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपलब्ध हुनेछ।
मन्त्री पौडेलको सचिवालयका अनुसार यो सेवा मंसिर १ गतेदेखि लागू हुनेछ। नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको तथ्यांकलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो। “आर्थिक अभावका कारण कुनै पनि बालबालिकाले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो,” मन्त्री पौडेलले बताए।
नेपालमा सन् २०२२ मा २२ हजार नयाँ क्यान्सर बिरामीमध्ये १४ हजारभन्दा बढीले ज्यान गुमाएको तथ्यांकले देखाएको छ। नेपालमा कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ, जसमध्ये ११ प्रतिशत क्यान्सरका कारण हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।