अकस्मात तिम्रो याद आयो
म फर्कंदै गर्दा
वेश्यालयको अँध्यारो छिंडीमा
स्वर्गवासी आमा देखें
र अकस्मात तिम्रो याद आयो ।
उस्तै नाक
उस्तै कान
उस्तै उदास आँखा र उस्तै उदाङ्गो वक्ष !
म फर्कंदै गर्दा
अभिसापग्रस्त अभावको गल्लीमा
भेटें लुरुलुरु हिंडिरहेको दिवंगत पिताको छाँया
र अकस्मात तिम्रो याद आयो ।
उस्तै चिन्ता
उस्तै वेचैनी
र उस्तै विषाद र उस्तै विक्षत मनोदशा !
वर्षातको छालमा बगिरहेको मुढाजस्तो
दुस्वप्नको भुमरीमा
घरी यता घरी उता छचल्किरहँने
कुनै वृद्ध वृक्षबाट खसेको पहेंलो पात
किनारामा देखेपछि
अकस्मात तिम्रो याद आयो ।
उस्तै पिडा
उस्तै नियति
उस्तै अवस्था र उस्तै परिणति !
सिमसारको छेउछाउ गड्यौंला खोजिरहेको
शरणार्थी बकुल्लाको निर्वस्त्र घाँटीमा
समस्त विश्वको भोक र शोक देखें
घाइते सभ्यताको खण्डहर माटोमा
विकृत राजनीतिको भयावह दृश्य
र विचारको स्खलन देखें
सर्वत्र अभाव / कुहिरो / निस्सारता / शुन्यता
एवम् जिवनहिनता देखेपछि
अकस्मात तिम्रो याद आयो ।
ए , जिन्दगी !
मेरो चिन्तनको मृत कोशहरूमा आशा ल्याईदेउ
भत्केको हृदयमा प्रेम ल्याईदेउ
– म युगौंदेखी प्रतीक्षामा छु !
मैले
मेरो आत्मामा मलाई नदेखेपछि
मेरो यात्रामा मलाई नभेटेपछि
अकस्मात तिम्रो याद आयो !
मेरो समाधी स्थल
लुकिलुकी राती राती आउनु पर्दैन
बिहानको चिया खाएर आउनू
खाना खाएर आउनू
छोराछोरीहरूलाई
स्कुल पुर्याएर आउनू ।
श्रीमानलाई नढाँटीकन आउनू
बरु , सोधेर आउनू ।
तिम्रो घरबाट
धेरै टाढा छैन
मेरो समाधी स्थल !
कहिलेकाहिँ फुर्सद मिलाएर आउनू !
मध्यान्तर
जंगलको मध्यभागमा आईपुगेपछि
कसरी कसरी म झस्किएको छु !
मसँग डोरी छ
जंगलमा रुखहरू छन्
अब मैले कुनै न कुनै रुखमा झूण्डिएर मर्नुपर्नेछ !
हुन त
मसँग किताब पनि छ
चक्कु पनि छ
बाउ – आमा र छोराछोरीसँग हाँसेर खिचेको
सुन्दर फोटो पनि छ !
मसँग टर्चलाईट पनि छ
सलाई पनि छ
जिवनलाई चाहिंने प्रशस्त उज्यालो भएर पनि
कसरी म यो घोर अन्धकारमा आईपुगें ?
बिहान उठेर कतै गएपनि
राती उठेर कतै गएपनि
घरमैं आइपुग्ने मान्छे कसरी जंगलमा आईपुगें ?
अब मलाई विषालु सर्पहरूले डसेर मार्नेछ
जंगली जनावरहरूले आक्रमण गरेर मार्नेछ
कसैगरी बाँचेछु भने
मलाई मेरै जिन्दगीले किचेर मार्नेछ !
उसो त
मेरो झोलामा विष पनि छ
पेस्तोल पनि छ
विभिन्न धर्मग्रन्थ र राजनीतिक घोषणपत्र पनि छन् ।
मलाई डर लाग्न थालेको छ
के म कसैको हत्या त गर्न लागिरहेको छैन ?
के म आत्महत्या त गर्न लागिरहेको छैन ?
जंगलको मध्य भागमा आइपुगेपछि
कसरी कसरी म झस्किएको छु !
जिवनको मध्य भागमा आइपुगेपछि
कसरी कसरी म झस्किएको छु !