कुनैपनी देशको महान ग्रन्थ त्यो देशको संविधान नै हुनेगर्छ ।
किनकि , इतिहास , संस्कृति , भाषा , समता , समानता , अधिकार , र सर्वोच्च मानवीय दायित्वबाट त्यो निर्माण भएको हुन्छ ।
लामो वैचारिक विमर्श , आवश्यक आन्दोलन र वृहत्तर चेतनाको सम्मतिबाट संविधान निर्माण भएको हुन्छ ।
अपितु –
प्रत्येक पल ग्रन्थतुल्य संवैधानिक मार्गदर्शनबाट न्यायिक अभ्यास मार्फत नागरिकका दैनिकीहरू
गतिशील हुनेगर्छन् – भनिन्छ !
तथापि –
शासकवर्गको अकर्मण्यताले जब – जब त्यो प्रस्तावना खल्बलिन्छ र नागरिक तहमा निरासा ओर्लिन्छ ।
तब
तब
कि , विद्रोह जन्मिन्छ
कि , विद्रोही साहित्य !
“एक्लो पृथ्वी / एक्लो मान्छे” कविता सङ्ग्रहबाट यस अर्थमा –
“शनिबार – साहित्यबार शृङ्खला अन्तर्गत कवि दीप दर्पणका ३ ओटा कविता प्रस्तुत गरिएको छ !
______________________________
आकाशवाणी
आकाशवाणी भएको सुन्यौ तिमीले ?
चाँडै
घनघोर वर्षा हुनेछ
चट्याङ र अविरल झरी पर्नेछ
भिषण आगलागी हुनेछ
ज्वालामुखी फुट्नेछ
भेल,पहिरो र बाढी आउनेछ ।
र, भत्किनेछ
माइतीघर मण्डलाको जस्तो घुमाउरो बाटो
जसले घुमाएर पुऱ्याइरहेछ
र घोप्ट्याइरहेछ
आज पनि निर्दोष निधारहरूलाई दरबारको आँगनमा ।
छातीभरि चट्याङ
र, मुखभरि कविताका हरफहरू बोकेर
गर्जिएको सुन्यौ कि सुनेनौ ?
कविता पङ्क्तिहरूलाई
चेतनाका बिम्बहरूले शृङ्गार गरेर
परिवर्तनका सूत्रहरूले बाँधेर
कवितामै आगो भरेर
दरबारको मूल ढोकामा
एक मुठ्ठी चट्याङ खसाल्न
आकाशवाणी भएको सुन्यौ तिमीले ?
थोरै पर्ख, थोरै धैर्य गर ।
चाँडै नै
बादल, वर्षा, झरी, बाढी, पहिरो
आँधी, हुरी बतास, तुफान
चट्याङ, आगो, ज्वालामुखी
एकैपटक पुग्नेछन्
दरबारको मुख्य द्वारमा
अनि
वादशाहका आँखाहरू बन्द हुनेछन् दृश्यहरू काला देख्नेछन्
कानहरू थुनिनेछन्
आवाजहरू सुनिने छैनन्
जिब्राहरू टुक्राटुक्रा हुनेछन्
र वादशाहहरू निष्प्राण शालिक भएर थन्किरहनेछन् सङ्ग्रहालयमा !
आकाशवाणी भएको सुन्यौ तिमीले ?
~~~~~~~~~~~~~~~~~~~
मुठ्ठी
महोदय !
मुठ्ठी नकस्नुहोस्
नउठाउनुहोस् मुठ्ठी
तपाईंको माझीऔंलामा
घुसारिएको सुनको औंठी
आन्दोलनको नारालाई जिल खुवाउने गरी
उखरमाउलो टल्किरहेछ ।
नोटहरूको घर्षणले
तपाईंको हत्केलामा घाउ परेको छ नाडीमा बाँधिएको आयातित महँगो घडी विद्रोहको विपरीत दिशा भएर घुमिरहेछ
हेर्नुस् आफ्ना हातहरू
उठेका छैनन् त्यहाँ ठेला
जहाँ कोरिएको हुन्छ देशको नक्सा ।
देखिदैन हत्केलामा थोपा पसिनाका
जहाँ देशको सुगन्ध मग्मगाउँछ ।
अझै मुठ्ठीहरू
शिर भन्दामाथि लगेर उठाउनुपर्नेछ । फेरि एकपटक
बोक्नु छ राष्ट्रिय झन्डा !
महोदय !
मुठ्ठी नकस्नुहोस्
तपाईंका मुलायम हातहरूले
मुठ्ठीको वजन थेग्न सक्तैनन् ।
~~~~~~~~~~~~~~~~~~~~
कविता
कविताका पङ्क्तिहरूले
भोकाहरूको भोक मेटोस् ।
खेतमा कोदालो चलाउने किसान
हरेक दिन
कविताको बलले
सम्याओस् गराहरू
कलम बोकी हिँड्ने श्रमजीवीले
पढेर कविता
लेखोस् मुक्तिको फिराद
नाङ्गै चोकमा उभिएको
शासकको शालिक
सुनेर कविता
बुझोस् लाजको अर्थ
अचेल कविताका हरफहरूमा
कसका कथाहरू लेखिएका छन् ?
किन कोरिएका छैनन् कालिगडका औंलाका चित्रहरू ?
कविताहरूले शासकको
स्तुतिमा किन थपडी बजाइरहे यतिन्जेल ?
अचेल कविताका पङ्क्तिहरूले
कसलाई धाप दिइरहेछन् ?
किन सुमसमुम्याउन सकेनन्
बैसाखी टेक्ने योद्धाका काँधहरू ?
एक जोडा सुकिलो दौरा सुरुवालसँगै ठाँटिएर
सधैं झुकिरहने कविताहरूले
चाकडीको पलिसले टल्किएको आफ्नै जुत्तामा
कसको अनुहार देख्छ ?
कविको कि मालिकको ?