सिन्हः संस्कृति:
समय र परिस्थितिअनुसार विभिन्न परिवेशमा सिन्हः सिन्दूर उपयोग गरेर सिन्हः संस्कृतिलाई जीवन्त राख्ने गरेको पाइन्छ ।
संस्कृतिको रूपमा विकसित हुँदै गएको सिन्हः प्रथा सांस्कृतिक महोत्सवहरूमा देवीदेवताहरूलाई सिन्हःबाट अभिषेक गरेर सिन्हः जात्रा मनाउनेसम्मको प्रचलन रहेको छ । समाजमा यसरी हुर्कंदै गएको सिन्हः जात्रा संस्कारलाई संस्कृतिको रूपमा सहजै अङ्गीकृत गरिदै आएको
छ ।
हिन्दु समाजमा सिन्हः अर्थात् सिन्दूर समय र परिवेश अनुसार अनेक ठाउँमा प्रयोग गर्ने गरेको पाइन्छ । खासगरी देवीदेवताको पूजाको साधनको रूपमा नियमित प्रयोग गर्ने गरेको पाइन्छ । कतै शोभा बढाउन प्रयोग गर्ने गरिन्छ भने कतै विवाहित महिलावर्गले सिँगारपटारको साधनको रूपमा सिन्हःलाई सिउँदोमा राख्ने गरेको
पाइन्छ ।
विशेषतः जात्रा, उत्सव र पर्वको अवसरमा सिन्हःबाट अभिषेक गरेर खुसियाली मनाउने प्रचलन पनि रहेको
छ । अझ फागु होलिमा सिन्हः अर्थात् रङ्गको प्रयोग गरेर खुसियाली मनाउने परम्परा रहेको छ ।
हुन त, संस्कृतिको अनेक अङ्गहरू छन् । संस्कृतिलाई विभिन्न विद्वानहरूले आआफ्नै तरिकाले परिभाषित पनि गरेका छन् । सबै कुरा यो सानो आलेखमा समेट्न सकिन्न । यद्यपि , समाजमा प्रचलित मौलिक संस्कार र संस्कृतिलाई जीवन्त राख्न हामीले विभिन्न सांस्कृतिक सम्पदाहरूको जगेर्ना गर्नुपर्दछ ।
अझ व्यवहारिक जीवनको रहन सहनमा मनाउँदै आएका विभिन्न सांस्कृतिक जात्रापर्वहरू छन् । यसलाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्दै जीवन्त तुल्याउने कामहरू हुँदै आएको पाइन्छ ।
सामाजिक जीवनमा अङ्गाल्दै आएका संस्कार, संस्कृति र सांस्कृतिक सम्पदा नै हाम्रो पहिचानको मूल आधार हुन् । यसलाई मूर्तरूप दिनु हाम्रो मूल दायित्व पनि हो ।
चन्द्रागिरि नगर परिचय :
प्राचीनकालमा शोणितपुर नामबाट प्रख्याति पाएको यो नगर द्वापर युगमा राजा वाणासुरले नामकरण गरेको
मानिन्छ । सोही नाउँबाट पहिचान कायम राख्दै ऐतिहासिक ख्याति कमाउन सफल भएको थियो ।
लिच्छविकालमा ऐतिहासिक शोणितपुर नगरलाई शिताटीद्रङ्ग नामकरण गरेको पाइन्छ । यिनै नामबाट प्रसिद्धि पनि पाएको थियो ।
सोही शोणितपुर(सुप्रभानगरी)शिताटीद्रङ्ग नगर हुँदै अहिले चन्द्रागिरि नगर नामकरण भएको छ । यो नगरको नाम चन्द्रागिरि भएकाले नगरबासीहरू गौरवान्वित भएका छन् ।
ऐतिहासिक एवम् धार्मिक महत्त्वको चन्दनागिरि अर्थात् चन्द्रागिरि पर्वत श्रृङ्खला र त्यहाँस्थित भञ्ज्याङ्गको नामबाट नगरपालिकाले आफ्नो परिचय पाएको छ । प्राचीन शोणितपुर नगरभित्र नै चन्द्रागिरि नगरपालिका अवस्थित हुनुले पनि नगरवासीहरू सन्तुष्ट छन् ।
प्राचीन ऐतिहासिक एवम् बेग्लै मूल्य मान्यता रहेको अलग अलग रूपमा गुचमुच्च रहेका बस्तीहरूभित्र धर्म, संस्कृति र सांस्कृतिक महत्त्वका देवालय, शिवालय, मठ, मन्दिर एवम् प्राचीन सभ्यताका पीठ र अमूल्य निधिहरू यथेष्ट मात्रामा पाइन्छन् ।
अडिएका बस्तीमा कला कौशलमा निपूण पौरखी शिल्पी हातहरू प्रशस्त छन् ।
आफ्नै अस्तित्वमा अडिएका ती नेवाः बस्तीहरू यस प्रकार छन् –
थक्वाः, महाद्यःगाँ, किपुल्चा, बल्बु, सतुङ्गः, बोसिगाँ, ल्वहँखा, मच्छेगाँ, तापख्यः, सिंद सिंरःआदि ।
त्यस्तै , तकिंबुँ, टोटीपाखा, बालगाँ, गुमरःचा, सिमर्चा आदि नाउँका साना बस्तीहरू पनि आआफ्नै अस्तित्वमा उभिएका छन् ।
यहाँका नेवाः समाजभित्रका परम्परागत प्रथा, संस्कार, संस्कृति र सांस्कृतिक महत्त्वका अमूल्य सम्पदा र सभ्यताहरू प्रायः पाइलैपिच्छे भेट्टाउन सकिन्छ ।
पौराणिक मूल्य मान्यताका खोलानाला, पाटी पौवा, ढुङ्गेधारा, पोखरी, बाटोघाटो र डाँडा पाखाहरूमा प्राचीन सभ्यताका सांस्कृतिक अवशेषहरू अहिलेसम्म पनि दुरुस्त भेट्टाइन्छन् । यसको ज्वलन्त उदाहरण हो सिन्हः जात्रा संस्कृति !
सिन्हः जात्रा :
प्रचलित धर्म, संस्कार, संस्कृति र सांस्कृतिक पदचिन्हहरूलाई मौजूदा जीवन्त राख्न सकेकाले चन्द्रागिरि नगरपालिका आफ्नो पहिचान कायम राख्न सफल भएको देखिन्छ । यहाँ प्रत्येक वर्ष मनाउँदै आइरहेको बलम्बुको लातिमरः जात्रा, थानकोटको सकिमरः जात्रा र सातगाउँ , पाँगा, नगाँ, किपु, मच्छेगाँ, बोसिगाँ, ल्वहँखा, सतुङ्गःको वखुमरः जात्राहरू यसका ज्वलन्त उदाहरण हुन् ।
यस नगरपालिकामा प्राचीन सांस्कृतिक जात्रा संस्कृतिमध्ये मुख्यतया यिनै तीनओटा जात्राले निकै प्रभाव पारेका छन् । यी जात्राहरूले यहाँको सिन्हः जात्रा संस्कृतिलाई निरन्तरता दिँदै जीवन्त तुल्याउँदै आएका छन् ।
बोलीचालीको भाषामा महःलाई मरः अथवा मदःपनि भन्ने गरेको पाइन्छ । सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट सिन्हः जात्रा संस्कृतिले महत्त्वपूर्ण स्थान ओगटेको छ ।
हुन त, चन्द्रागिरि नगरपालिकाभित्र टेकानपुर, बालागाउँ र किसिपिडिमा पनि छट्टाछुट्टै अवसरमा जात्राहरू हुने गरेका छन्, जस्तै –
टेकानपुरमा महालक्ष्मी जात्रा, बालागाउँमा गणेश, महालक्ष्मी र वन महालक्ष्मी जात्रा तथा किसिपिडिमा गणेश, कालिका र भैरवका जात्राहरू हुनेगर्छन् । तापनि यस नगरपालिकाभित्र मुख्य रूपमा बलम्बु, थानकोट र सातगाउँका जात्राले प्रमुखता पाएका छन् ।
प्रमुख रूपमा रहेकाले यी जात्रालाई सिङ्गो गाउँ नै जुरुक्क उठ्ने गरी महोत्सवको रूपमा मनाउँदै आएको पाइन्छ । यी तीनैओटा जात्राले चन्द्रागिरि नगरपालिकाभरि नै महत्त्वपूर्ण स्थान ओगटेको छ । यी जात्राले जनमानसमा निकै प्रभाव पारेका छन् । यसैले यो सानो आलेखमा चन्द्रागिरि नगरपालिकाको सिन्हः जात्रा संस्कृतिको सविस्तार चर्चा गर्न खोजेको छु ।
सिन्हःयाः जात्राका लागि देवीदेवतालाई खटमा विराजमान गराइन्छ । खटमा राखिएका देवीदेवतालाई सिन्हः अर्थात् सिन्दूरले अभिषेक गरेर रमाइ रमाइ धुमधामकासाथ जात्रा गर्ने गरिन्छ ।
जात्राका लागि तयार गरेका खट अनुसार बोक्ने मान्छेको सङ्ख्यामा फरक हुनसक्छ । खटलाई बाँसको नोलको भरमा ८ वा १२ वा १६ जनासम्मले बोकेर नचाउँदै जात्रा गर्छन् ।
बाजागाजाको तालमा ताल मिलाई खट बोकेर नचाउँदा साहै रमाइलो हुन्छ । यी जात्राहरूमा विशेष गरी स्थानीय नेवाः समुदायहरू प्रत्यक्ष सहभागी हुन्छन् । साथै अन्य जातिका रैथानेहरू पनि सम्मिलित हुने गर्दछन् ।
देवीदेवताको जात्रा हुने भएकाले लगभग जात्रा मनाउने तरिका उस्तै हुने गरेको पाइन्छ । तर पनि हरेक जात्राको भित्री स्वरूप नितान्त फरक हुन्छ । जस्तै – जात्रा तयारीको पहिलो दिनमा छ्वय्ला भू भ्वय् , दोस्रो दिनमा मू भ्वय् , मूख्य भोज र तेस्रो दिनमा मू याः अर्थात् सिन्हः जात्रा मनाउने गर्दछन् । यो दिन नै सिन्हः जात्राको मू भ्वय् , मुख्य भोजदिन हो ।
बलम्बुको लातिमरः जात्रा
प्रत्येक वर्ष मनाउने बलम्बुको लातिमरः जात्रा कार्तिक शुक्ल अष्टमीको दिनदेखि सुरु हुन्छ । यो अष्टमीलाई लातिमरः अष्टमी भनिन्छ । नेपाल संवत्को नयाँ वर्ष र तिहारको अवसरको खुसी र उमङ्ग सेलाउन नपाउँदै बलम्बुमा जात्राले पाइला टेक्छ ।
नेपाल संवत्को तिथि अनुसार पहिलो आउने अष्टमीमा यो जात्राको सुरुवात हुन्छ ।
लातिमरः अष्टमीमा मनाउने बलम्बुको जात्रामा विशेष गरी महालक्ष्मीको जात्रा हुने गर्दछ । त्यसका साथै गणेश र कुमारीको समेत जात्रा गर्ने परम्परा छ ।
यहाँ जात्राको जिम्मेवारी थकाली गुथि, जुवाः गुथि र नासः खलःले लिने गरेको पाइन्छ । यो जात्रालाई लातिमरः जात्रा भनिन्छ । लातिमरः भन्नुको अर्थ ला . मासु, ति . झोल, मरः . भात हो भन्ने बुझिन्छ । यस जात्रामा गुठीबाट पूजा आराधना गर्दा मासुको झोल भातमा राखेर देवीदेवतालाई चढाउने प्रचलन रही आएको छ । यसैले लातिमरः भन्ने गरेको मानिन्छ ।
अझ बलि चढाएका राँगाको आन्द्रा सफा गरी हावा भरेर फुलाई माला बनाएर देवीलाई पहिऱ्याउने चलन रहेको छ ।
जात्राको पहिलो दिन अष्टमीमा छ्वय्ला भू ,भ्वय् मा मासु पोलेर साँधेको छ्वय्लासंगै अन्य परिकार तयार गरेर भोज खाने गर्छन् । यो दिनमा नेवाः समाजमा प्रचलित नेवाः भोजको मौलिक मासुको परिकार तःखाः थलथले पकाउने गरिन्छ ।
त्यसको भोलिपल्ट नवमीको दिनमा मू भू भनेर बिहानैदेखि देवीदेवताहरूको पूजा आराधना गरेर रमाउँदै भोज खाने चलन छ । खास गरी यही दिनमा पाहुनालाई निम्तो दिने प्रचलन रहेको छ ।
जात्राको तेस्रो दिन अर्थात् दशमीको दिनमा मुख्य सिन्हः जात्रा हुन्छ ।
देवीदेवतालाई सिन्हःसिन्दूरबाट अभिषेक गरेर जात्रा गर्ने भएकाले यो दिन सबभन्दा महत्त्वपूर्ण हुन्छ । त्यसदिन थकाली गुथिका ९ जना बिहान उज्यालो हुनुभन्दा अगि नै कुमारीको मठमा विधिवत् पूजाआजा गर्न जान्छन् । त्यो पूजा गर्न गएको अरू कसैले पनि हेर्न हुँदैन भन्ने भनाइ छ । त्यो पूजा सकेपछि नासःद्यः नाट्यश्वरको पूजा पनि विधिवत् गरिन्छ ।
त्यसपछि थकाली गुथिका ४ जना थकालीहरूले कुमारीको प्रतिमूर्ति नाट्यश्वर मन्दिरमा पुऱ्याउँछन् । त्यसको लगतै जुवाः गुथिका गुठियारहरू महालक्ष्मीको पूजा गर्न मन्दिरमा
जान्छन् । महालक्ष्मीको पूजा आजा गर्दा देवीको शिरबाट एउटा फूल झर्छ । अनि दशमीको जात्रा विधिवत् आरम्भ हुन्छ ।
उक्त पूजा सकेपछि जात्रा गर्न मन्दिरमा रहेका देवदेवी खटमा राखिन्छ ।
कुमारीको प्रतिमूर्ति ढक्कीमा राखेर थकाली गुथिका ४ जना थकालीहरूले बोकेर पिईंगः अर्थात् पीठमा पुऱ्याउँछन् । अनि गणेशको खट पीठमा लगेपछि महालक्ष्मीको खट पनि पीठमा लाने गर्छन् ।
खटहरू पीठमा पुऱ्याएपछि प्रत्येकको घर घरबाट श्रद्धाले पूजाआजा गर्न पीठमा जान्छन् । उक्त पूजा सकिनासाथ द्वारेहरू सरकारी पूजा गर्न क्वाथ कोतघरबाट पीठमा जान्छन् ।
सरकारी पूजा सकिनासाथ गणेशको खट उठाएर जात्रा गर्दै गाउँमा प्रवेश गराउँछन् । त्यसको सँगसँगै ढक्कीमा राखिएकी कुमारी पनि गुथिका चार जना थकालीले बोकेर ल्याउँछन् । त्यसपछि मात्र महालक्ष्मीको खट जात्रा गर्दै गाउँ प्रवेश गराउँछन् ।
गणेशको खटलाई महालक्ष्मीको खटको अगिअगि जात्रा गर्दै गाउँ परिक्रमा गराउँछन् । महालक्ष्मीको खट गणेशको खटको पछि पछि लाने गरिन्छ ।
बाजागाजाको तालमा ताल मिलाएर खट नचाउँदै विभिन्न टोलहरू परिक्रमा गराईसकेपछि साँझपख जात्रा सम्पन्न हुन्छ ।
वास्तवमा बलम्बुको महालक्ष्मी जात्रा भनिए तापनि गणेश र कुमारीसमेतको जात्रा हो । महालक्ष्मीको जात्रा भन्ने गरेकाले गणेश र कुमारीलाई ओझेलमा पारेको देखिन्छ । यसरी बलम्बुको लातिमरः जात्रा मनाउने परम्परा अध्यावधि छ ।
थानकोटको सकिमरः जात्रा
थानकोटमा सकिमरः जात्रा, जसलाई सिन्हः जात्रा पनि भनिन्छ, कार्तिक शुक्लचतुर्दशी बैकुण्ठ चतुर्दशीबाट आरम्भ हुन्छ । कार्तिक शुक्लपूर्णिमा सकिमना पूर्णिमा र त्यसको भोलिपल्टसम्म ३ दिन भव्यरूपमा जात्रा मनाउने गर्दछन् ।
खास गरी सिन्हः अर्थात् सिन्दूर जात्रा पूर्णिमाको भोलिपल्ट बिहान धुमधामले मनाउने गरेको छ, तापनि यस जात्राको तयारीका लागि दुई दिन अगावैदेखि विशेष चहल पहल सुरु हुन्छ ।
पहिलो दिन प्रत्येक वर्ष कार्तिक शुक्लचतुर्दशी बैकुण्ठ चतुर्दशीका दिनमा छ्वय्ला भ्वय्बाट जात्रा आरम्भ हुन्छ । यो दिनमा टोल छिमेकीहरू मिलेर राँगो काटेर घरघरमा भोजका लागि मासु भित्राउने कार्य गरिन्छ ।
मुख्य रूपमा छ्वय्ला अर्थात् पोलेको मासुको परिकार राखेर परिवारमा हाँसीखुसी छ्वय्ला भ्वय् खाएर जात्राको सुरूवात हुन्छ । अनि त्यही दिन घरघरमा तःखाः पकाउने कार्य पनि गरिन्छ ।
सोही दिन राति स्थानीय व गुथिबाट महालक्ष्मी मन्दिर प्राङ्गणमा तान्त्रिक विधिबाट वँ याय्गु होम गर्ने गरिन्छ ।
उक्त होमका लागि जुवाः क्वाथ अर्थात् कोतघरका मुख्य पूजारी थकाली भएर आचाःजुबाट तान्त्रिक विधिबाट पूजाआजा गर्ने प्रचलन छ ।
परापूर्वकालमा उक्त होम गर्दा माछा, सर्प, भ्यागुता, गँगटो र बोकासहितको जोडीको पञ्चबलि दिने प्रचलन रहेको पाइन्छ । हाल ती पञ्चबलिमा माछा, सर्प, भ्यागुता र गँगटो तान्त्रिक विधिअनुसार प्रतिस्थापन गरी साङ्केतिक बलि दिने गरिएको छ । बोकाको बलि दिने प्रथा भने हालसम्म यथावत् नै छ ।
दोस्रो दिन कार्तिक शुक्ल पूर्णिमा सकिमना पुन्हिको बिहानैदेखि घरघरबाट देवीदेवताहरूको पूजाआजा गर्ने प्रचलन रहेको छ । यो दिनलाई भूयाःभन्ने
गरिन्छ ।
त्यसदिन बिहानीपख लण्ठ टोलस्थित क्षेत्रपाल मण्डःपीठमा मण्डः म्येय् राँगो बलि दिई पूजा गरिन्छ । यो पूजाका लागि गोपाली गुथि र देसार गुथि जात्रा गर्ने अनन्त भैरवनाथको प्रतिमूर्ति रहेको गुथिबाट पूजा सामाग्री तयार गरी ल्याउँछन् ।
पूजामा खड्गी गुथिका थकाली पनि सरिक हुने गर्दछ ।
सोही दिन गाउँमा भात र च्वकिबजि छरेर सीमा रेखा कोरिन्छ । उक्त बलि चढाएका राँगोको मासुको टुक्रा खड्गी गुथिका दुई जनाले नाडीमा घडी जस्तैगरी बाँधेर भात छर्न जानेहरूको साथमा जान्छन् ।
भात छर्नका लागि देसार गुथिको तर्फबाट भात र गोपाली गुथिको तर्फबाट च्वकिबजी च्यूराको कनिका ल्याउनु पर्ने प्रचलन छ ।
तान्त्रिक विधिसम्मत भात र च्वकि बजिलाई जुठोको रूपमा लिने गरिन्छ ।
त्यसरी भात र च्वकिबजि छरेर सीमा रेखा कोरेपछि सो सीमाभित्र कुनै दुष्ट पिशाच छिर्न सक्दैनन् भन्ने जनविश्वास छ । यही पूर्णिमाको दिनमा सकि अर्थात् पिँडालु उसिनेर खाने प्रचलन पनि रहेको छ । त्यसैले यो दिनलाई सकिमना पिँडालु उसिन्ने पुन्ही भन्ने गरेका होलान् ।
यही पूर्णिमाको जुनेली रातको शीतलतामा भगवान् आदिनारायणको खटजात्रा सुरु हुन्छ । बाजागाजाकासाथ जात्रा गर्दै गाउँ परिक्रमा गराइन्छ । जात्रा गर्दै चाफः, नासः, बाकुननी, ताहाफः, लाय्ब टोल परिक्रमा गराउँदै लंथ टोल हुँदै पुनः आदिनारायण मन्दिर प्राङ्गण पुऱ्याएर जात्रा सम्पन्न गरिन्छ ।
भगवान् आदिनारायणको जात्रा सम्पन्न हुनासाथ गुठियारको घरमा राखिएको सिद्धिगणेशको प्रतिमूर्ति इमाखेलस्थित आफ्नै पीठ गणेशस्थानमा कुहाँ बिज्याकेगुु तल लाने भनेर लगिन्छ ।
त्यहाँ विधिवत पूजाआजा सम्पन्न भएपछि पुनः सिद्धिगणेशको प्रतिमूर्ति थहाँ बिज्याकेगुु माथि लाने भनेर ल्याई महालक्ष्मी मन्दिर प्राङ्गणमा राखेको खटमा विराजमान गराइन्छ । त्यसपछि महालक्ष्मीको मूर्ति पनि खटमा विरामान गराइन्छ ।
त्यसको लगत्तै महाननीस्थित देसार परिवारको घरमा राखेका भैरःद्यः अनन्त भैरवनाथको प्रतीक तामाको भ्यलु रघ्याम्पो सिङ्गारपटार गरेर गाउँको पुछारस्थित भैरवस्थान मसानघाट पीठमा कुहाँ बिज्याकेगु भनेर पुऱ्याउने क्रम सुरु हुन्छ । त्यहाँ विधिवत् पूजाआजा गर्ने गरिन्छ । पूजा सकेपछि जुगी कुसुले र कपाली थकाली भएर भोज खाने परम्परा छ ।
यो एउटा जातीय विभेदको उदाहरणीय भोज भन्न सकिन्छ । पूजाआजा र भोज सकेपछि भैरः द्यः थहाँ बिज्याकेगु भनेर पुनः बोकेर गाउँको किनारास्थित चाफल टोलस्थित भैरवको मण्डपमा विराजमान गराइन्छ । दुई जनाले मात्र बोक्ने यो भैरवको प्रतीक भ्यलुरघ्याम्पो निर्दिष्ट स्थानमा मात्र बिसाउने गरिन्छ । बोक्ने मानिसलाई बिचमा कसैले पालो फेर्न नहुने भन्ने भनाइसमेत रहेको छ । यति बेलासम्ममा करिब करिब बिहानको उज्यालो भइसकेको हुन्छ । त्यसपछि सिद्धिगणेश र महालक्ष्मीको सिन्दूर जात्राका लागि तयारी हुन्छ ।
तेस्रो दिन प्रतिपदाको बिहान । महालक्ष्मी मन्दिर प्राङ्गणमा सिद्धिगणेश र महालक्ष्मीको सिन्हः सिन्दूर जात्रा सुरू हुन्छ ।
सिन्हः जात्राका लागि कोतघरबाट स्थानीय सरकारी गुठीका जुवाः कोतघरका पुजारीको नेतृत्वमा कोतघरका पुजारी टोली, स्थानीय प्रशासनिक निकायका पदाधिकारी एवम् समाजमा प्रतिष्ठित गन्यमान्य व्यक्तित्वहरू सिन्हः प्वः सिन्दूरको पोका लिएर जान्छन् । अनि खटमा बिराजमान सिद्धिगणेश र महालक्ष्मीलाई सिन्दूरले अभिषेक गरी सिन्हः सिन्दूर जात्रा आरम्भ हुन्छ ।
जात्राका लागि तयार पारेका खट बाँसको नोलमा बाँधिएको बोकेर बाजागाजाको तालमा ताल मिलाई नचाउँदै रमाईलो वातावरणमा जात्रा गरिन्छ । अनि पालैपालो सिन्हः फय्गु भनेर सिन्दूर अभिषेक गर्ने थकाली आदि गन्यमान्यको सामुन्ने खट लैजान्छन् र सिन्दूरबाट अभिषेक गरिन्छ ।
जात्राको क्रममा समय समयमा सिन्दूरले अभिषेक गरिने भएकाले यस जात्रालाई सिन्हः सिन्दूर जात्रा भन्ने गरिन्छ ।
सिन्हः जात्राको क्रममा खट पालैपालो चाफलस्थित भैरवस्थानमा समेत परिक्रमा गराउन लाने गरिन्छ । त्यसरी लगभग एक डेढ घण्टा जति जात्रा गरेर खट बिसाएपछि सिन्हः जात्राको पहिलो चरण टुङ्गिन्छ ।
त्यसपछि दिनभर खट जात्रा गर्दै गाउँ परिक्रमा गराइन्छ । साँझमा चाफलटोलमा विराजमान अनन्त भैरवनाथसँग त्वाय् चिंकेगु मित लगाउने कार्य सम्पन्न गराइन्छ । त्यसपछि खटहरू जात्रा गर्दै नासः टोलमा पुाँइछ । त्यहाँ केही समय खट नचाएर बिसाइन्छ । अनि थानकोटको सिन्हः जात्रा औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ ।
सातगाउँको बखुमदः र बखुमरः जात्रा
प्रत्येक वर्षको मङ्सिर शुक्ल अष्टमीलाई नेपालभाषामा बखुमदः अष्टमी भनिन्छ । यसैले सातगाउँको जात्रालाई बखुमरः बखुमदः जात्रा भनिन्छ ।
न्हय्गाँ अर्थात् सातगाउँ भन्नाले कीर्तिपुर, पाङ्गा, नगाउँ, ल्वहँकोट, बोसिगाउँ, सतुङ्गल र मच्छेगाउँको एउटा समुचित नाउँ हो । कीर्तिपुर, पाँगा र नगाउँ कीर्तिपुर नगरपालिकाअन्तर्गत रहे तापनि सातगाउँभित्र नै परेकाले चन्द्रागिरिको सिन्हः जात्रामा यसलाई समेटिन खोजिएको हो ।
चन्द्रागिरि नगरपालिकाको बःखु खुसि अर्थात् बल्खु खोला किनारस्थित विष्णुदेवी पीठमा सातगाउँको मुख्य सिन्हः जात्रा हुने गर्दछ । यो जात्रालाई नै बखुमरःरबखुमदः जात्रा भन्ने गरेको छ ।
मुख्यगरी विष्णुदेवीको जात्रा हुने भए तापनि जात्रा हुने गाउँ ठाउँ अनुसार विष्णुदेवी, इन्द्रायणी, बालकुमारी, ब्रम्हायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याधिनी आदि अष्टमातृका तथा गणेश र भैरव आदिको समेत पूजाआजा गरी जात्रा मान्ने गरिन्छ ।
विष्णुदेवीको पीठ रहेको ठाउँको नाउँ कसरी बःखु अर्थात् बल्खु रहन पुग्यो भन्ने सन्दर्भमा एउटा किंवदन्ती पाइन्छ ।
सो किंवदन्ती अनुसार काठमाडौँको विष्णुमति खोलाको किनारमा अष्टमातृकामध्येकी एक तान्त्रिक देवी इन्द्रायणी कङ्केश्वरीरलति अजिमा शक्ति पीठ अवस्थित छ । उक्त पीठमा बालाचतुर्दशीको दिन यज्ञ हवन पूजाआजामा परेवा, भँगेरा, सर्प, माछा र फट्याङ्ग्रा आदिको पञ्चबली चढाउनु पर्ने प्रथा थियो ।
एक समय उक्त होममा चढाएका पञ्चबलिमध्येका परेवा नेवाः भाषामा बःखूँ उडेर गयो । त्यो परेवा उडेर तीनथानास्थित विष्णुदेवीको यज्ञ कुण्डमा बस्यो । त्यसैले बःखूँ बसेको ठाउँलाई बःखु भन्न थालेको भनाइ पाइन्छ ।
उडेर गएको त्यो परेवा खोज्न जाँदा भेटाउन सकेनन् अनि नेवाः भाषामा बःखुमदु भन्न थालियो । त्यही शब्द अपभ्रंश हुँदै बखुमदः भन्न थालेको जनविश्वास पनि पाइन्छ । हाल त्यस ठाउँलाई बल्खु समेत भन्न थालेको छ ।
अर्को किंवदन्ती अनुसार परापूर्वकालमा बल्खुस्थित विष्णुदेवी माताको पीठमा तपस्वीहरू आई पूजाआजा गरिरहेको अवस्थामा लुतिअजिमा इन्द्रायणी पीठबाट उडेर आएको अलौकिक परेवा विष्णुदेवी माताको हवन कुण्डमा बस्यो ।
त्यो परेवा हवन कुण्डमा बस्ने बित्तिकै दीप प्रज्वलित भएर परेवा अलप हुनपुगेको भनाइ पाइन्छ ।
त्यसरी बःखूँ अर्थात् परेवा ज्वालामा पर्दा हवन सिद्धि भएको घटना सातगाउँभरि फैलियो । त्यसरी अकस्मात बःखुमलः बःखूँ परेवा, मलः ज्वाला . बःखुमलः अर्थात् परेवाको ज्वाला निस्केको हुँदा शक्तिपीठको रूपमा सातगाउँका बासिन्दाहरूले बखुमदः बखुमरः जात्रा मान्ने गरेको जनश्रुति पाइन्छ ।
बखुमलः शब्द अपभ्रंश हुँदै बखुमदः बखुमरः भन्ने गरेको बुझिन्छ ।
बखुमदः अष्टमीमा सातगाउँको जात्रा भनिए तापनि पाँगामा नवमीको दिनमा मनाउँछन् । त्यस्तै त्यस्तै नगाउँ, कीर्तिपुर, ल्वहँकोट, बोसिगाउँ, सतुङ्गल र मच्छेगाउँमा दशमीको दिनमा मनाउने गर्दछन् । मुख्यतया सातगाउँको सिन्हः जात्रा दशमीको दिनमा विष्णुदेवी पीठमा मनाउने गर्दछन् । यो नै जात्राको मुख्य दिन हो ।
जात्राको तयारीमा सबैजना दुईदिन अगिदेखि नै छ्वय्ला भूर मू भू भनेर जुटेका हुन्छन् । तेस्रो दिनमा सिन्हः याः अर्थात् सिन्दूर जात्रा मनाउने गर्दछन् ।
यो दिन चन्द्रागिरि नगरपालिका र वरपरका लगभग सबैजसो जात्रा हेर्न उत्सुक भएर लागेका हुन्छन् । जात्रामा भेटघाट र भलाकुसारीले एकआपसमा हार्दिकतापूर्ण सद्भावको वातावरण पैदा भैरहेको हुन्छ । साथै दिनभर नै जात्राको खुसियालीमा निम्तालुहरूको ओहोर दोहोर र रमझमले बेग्लै रौनक छाएको देखिन्छ ।
चन्द्रागिरि नगरपालिकाको ल्वहँकोट, बोसिगाउँ, सतुङ्गल र मच्छेगाउँमा सातगाउँको जात्रा अर्थात् बखुमदः बखुमरः जात्रा धुमधामले मनाउने गरिन्छ ।
सिन्हः जात्राका लागि मच्छेगाउँ र सतुङ्गलबाट विष्णुदेवीको खटको साथमा भैरवको प्रतिमूर्ति भ्येलुद्यः, ल्वहँकोट र बोसिगाउँबाट भैरवको प्रतिमूर्ति स्थापित तामाको भ्यलु घ्याम्पो बाजागाजाकासाथ जात्रा गर्दै अघिल्लो दिनको राति नै बल्खुस्थित विष्णुदेवी पीठमा पुऱ्याइन्छन् ।
ती देवी देवताहरूलाई विष्णुदेवी पीठमा पुऱ्याउने सम्बन्धमा एउटा रोचक भनाइ छ । जसअनुसार विष्णुदेवी माताकी ३ सन्तान छन् । जसमध्ये मच्छेगाउँकी ठुली छोरी, बोसीगाउँ र ल्वहँकोटको छोरा भैरवनाथ र सतुङ्गलकी कान्छी छोरी हुन् । ल्वहँकोट र बोसीगाउँको भैरवनाथ एउटै हुन् । ल्वहँकोटबाट बोसीगाउँ छुट्टिएर जाँदा बोसीगाउँले पनि सोही भैरवको प्रतिमूर्ति स्थापना गरेर जात्रा गर्ने गरेको भनाइ छ ।
एकपटक मच्छेगाउँकी जेठी दिदीले भाइ बहिनीलाई बोलाएर आमाको दर्शन गर्न सँगसँगै जाने सल्लाह गरिन् । भेट्न जाने दिनमा श्रृङ्गार पटार गरी बिस्तारै आमाको चरणमा पुग्दा सतुङ्गलकी कान्छी बहिनी पहिले नै आई आमाको काखमा बसेको देखेर रिसाई पिठ्यूँ फर्काएर पश्चिमतिर फर्की बसिन् ।
दशमीको दिन अपरान्हतिर विष्णुदेवी माताको परिसरमा धुमधामकासाथ सिन्हः जात्रा गरिन्छ । अनि बासा लाय्गु भनेर चोखो सेतो कपडा बिछ्याई हर्षोल्लासकासाथ बाजागाजा बजाउँदै देवी देवताहरूलाई आआफ्नो गाउँ भित्र्याई बलि दिएर पूजाआजा गर्छन् र हर्षोल्लासकासाथ गाउँ परिक्रमा गराई रमाई रमाई जात्रा गर्छन् । राति अबेरसम्म जात्रा गर्दै निर्दिष्ट ठाउँमा पुऱ्याएर बिसाएपछि जात्रा सम्पन्न हुन्छ ।
उपसंहार :
माथि उल्लेखित सिन्हः जात्राहरू कहिलेदेखि सुरु भएको हो एकिन तिथिमिति भेटिएको छैन । जे होस् हिन्दुधर्मावलम्बीहरू देवी देवताहरूको साधना र पूजा आराधना गर्न र पुर्खाहरूले छाडी गएको नासोको रूपमा रहेको संस्कृति जोगाउन लागिपरेका हुन्छन् ।
अधिकांश श्रद्धालुहरू यसैमा धार्मिक आस्था दर्शाउने, मन बहलाउने गर्दछन् । चाहे व्यक्ति होस् वा परिवारमा दुःख दरिद्रताको भूमरिबाट उत्रिने भावले भए तापनि देवी देवताको शरणमा परिरहेकै हुन्छन् । चाहे सुख सुविधाले भरिपूर्ण भए तापनि धार्मिक कार्यमा व्यक्तिहरू लिप्त नै हुन्छन् ।
त्यसैले कुनै पनि जात्रा उत्सवहरूमा परम्परा र संस्कृति जोगाउन सबै एकजुट हुन्छन् । विभिन्न जातजाति, गुथि वा समूहहरू एकै ठाउँमा उभिएर सामूहिकतामा काम फत्ते गर्दछन् ।
माथि उल्लेखित सिन्हः जात्रा संस्कृति यसैको उदाहरणीय पर्व हो । विभिन्न गुथि, समूह र निकायहरूले प्रथा प्रचलन अनुसार सम्हाल्दै आएका कामहरू जिम्मेवारीकासाथ सहजै निर्वाह गरिरहेको छन् ।
यसरी निर्वाध रूपमा हाम्रा प्रथा र परम्परा अनुसार अङ्गाल्दै आएका संस्कृति र सांस्कृतिक कार्यहरू समाजले जगेर्ना र जीवन्त तुल्याउँदै आएको छ ।
अतः हाम्रो पहिचान नै संस्कार, संस्कृति र सांस्कृतिक धरोहरमा निर्भर रहेको छ भन्ने कुरामा हामी सचेत हुनैपर्छ । यद्यपि, यहाँका संस्कृतिप्रेमी समुदायहरूको सक्रियता र संलग्नताका कारण सिन्हः जात्रा संस्कृतिको परम्पराले विश्राम लिन पाएको छैन ।
आपसी मिलेमतो, भाइचारा र सहयोगी भावनाका कारण पुख्र्यौली नासो सिन्हः जात्रा संस्कृति अस्तित्वमा रही आएको छ । अझ यसलाई जीवन्त र अक्षुण्ण राख्न सबैले ध्यान पुऱ्याउनु आवश्यक छ ।