काठमाडौं । चन्द्रागिरि नगरपालिकाले खाद्य अनुगमन तीब्र बनाएको छ । संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र किराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल) उद्योग एवं दूधजन्य डेरी उद्योगमा अनुगमनलाई तीव्रता दिएको छ ।




खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ती प्रयोगशाला ‘फुडल्याब भ्यान’ मार्फत स्थलगत रुपमा परीक्षण गरिएको सो अनुगमन टोलीमा चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रतिनिधि रहेका थिए ।

गत पुस २६ गते सो टोलीले अनुगमनका क्रममा चन्द्रागिरि– १२ स्थित बलम्बुमा रहेको ह्वाइट हिमालयन मिल्क प्रालिले बिक्रीवितरणका लागि तयार गरेको दूधको परीक्षण गर्दा अखाद्य बस्तु अर्थात ‘न्युट्रलाइजर पोजेटिभ’ भेटिएको र तत्काल ६०० लिटर दूध नष्ट गरेको थियो । साथै सो उद्योगबाट उत्पादित अखाद्य घिउ, नौनी तथा पनिर समेत अनुगमन टोलीले नष्ट गरेको थियो । नगरपालिकाले सो उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दुईलाख जरिवाना गराइएको जनाइएको छ ।

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ अनुसार सो उद्योगको दूधको गुणस्तर मापदण्ड जाँच गरिएको थियो । अनुगमन टोलीले चन्द्रागिरि वडा नम्बर ११, १२ र १४ मा सञ्चालित विभिन्न तोरी मिलको अनुगमन समेत गरेको नगरपालिकाले जनाएको छ । यसक्रममा ती मिलबाट उत्पादित तेलको गुणस्तर जाँच गर्दा अखाद्यवस्तु मिसावट गरेको नभेटिएको चन्द्रागिरि नगरपालिका उद्योग, वाणिज्य तथा व्यवसाय प्रवर्द्धन शाखाले जनाएको छ ।


