काठमाडौँ । चन्द्रागिरिको थानकोट त्रिभुवन पार्कमा आजदेखि क्रिकेट प्रशिक्षण सुरु भएको छ ।



चन्द्रागिरि नगरपालिकामा यही वर्ष दर्ता भइ क्रिकेटको विश्वव्यापी लोकप्रियता र क्रिकेट खेलको संस्थागत विकास एवम् विस्तार गर्न स्थापना गरिएको चन्द्रागिरि क्रिकेट एशोसियसन नेपालले आयोजना गरेको सो प्रशिक्षण कार्यलाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी हात्तिवनको सहयोग रहेको बताइएको छ ।
माघ २६ गतेसम्म संचालन हुने सो प्रशिक्षण कार्यको आज चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, वडा नं ४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी लगायतको उपस्थितिमा प्रारम्भ गरिएको हो ।
नेपाल क्रिकेट एसोसिएसन (क्यान)को समेत सहभागिता रहने उक्त क्रिकेट प्रशिक्षण वडा नं ६ मा रहेको प्रस्तावित नगरस्तरिय मदन भण्डारी क्रिकेट मैदान र थानकोट त्रिभुवन पार्कमा संचालन गरिने चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपालका अध्यक्ष प्रजिवन प्रधानले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।
