


प्रेमको मृत्युमा एउटा श्रद्धाञ्जलि
मैले सहेको थिएँ
एकतर्फी प्रेमको चौतर्फी यातना
सहेको थिएँ असंख्य पीडा !
थाहा हुनुभन्दा पहिले थाहा थिएन
दुख्दोरहेछ घाउ !
मैले सहेको थिएँ
बिना वस्त्र नाङ्गो शरीर
सहेको थिएँ अनन्त जाडो !
दुख्नुभन्दा पहिले थाहा थिएन
दुख्दोरहेछ घाउ !
पुग्न हिँडेको थिएँ
नपुग्दै फर्कनुपर्ने ठाउँमा
नभएको बाटो
नरहेको गल्ली – दोबाटो र बस्तीमा !
थाहा हुनुभन्दा पहिले थाहा थिएन
थाहा हुनुपर्ने धेरै कुरा !
जे होइन त्यही
जे छैन त्यही
छायाँको छायाँ खोज्दै
म यहाँ आइपुगें !
आकाशभन्दा अलिमुनि
धर्तीभन्दा अलिमाथि
यतै कतै म आइपुगें !
मैले जे जे सम्झनुपर्ने हो त्यही त्यही बिर्सिएँ
मैले जे जे बिर्सनुपर्ने हो त्यही त्यही सम्झिएँ !
यादहरूको पहाडमा उभिएर
तिमीलाई मैले सम्झिएँ !
त्यहीँ थियो प्रेमको मृत देउराली
जहाँ मैले आँसुका केही फूलहरू चढाएँ !

म त्यहीँ छु
म कहाँ छु ?
बगेको जस्तो ।
जमेको जस्तो ।
शून्यमा आकार भर्दै निर्माण भएको मस्तिष्क
अथवा मस्तिष्कमा शून्यता भरिंदै गरेको आकार
च्यापेर हत्यारा साँझको बाटो
पुतली समाउन दौडिरहेको हात
अथवा खुट्टा
अथवा विश्राम खोज्दै तड्पिरहेका चराका बथानहरू
अथवा बाबु आमालाई कतै जान्न भनेर गएको छोरो
कसरी हरायो आफैभित्र ?
उम्रेका लेउ / सुकेका नदीनालाहरू
घाम र छाँयाहरूको दुर्गमता
स्वप्निल आँखाहरूको यात्रा
र घनघोर वर्षातले पखाल्दै लगेका यादहरू !
जहाँसम्म जीवित थियो
त्यो समय त्यसैगरी बित्यो
र त्यहाँसम्म
मैले राखेको जस्तो लागेको थियो आफ्नो विगत !
गएको जस्तो पनि लागेको छ
आएको जस्तो पनि लागेको छ
विडम्बना
मसँग सुरक्षित छैन रहेछ आफ्नै स्मृति !
हो जस्तो
हो जस्तो
होइन जस्तो
होइन जस्तो
त्यो त्यही ठाउँ हो जहाँ अहिले पनि म प्रतीक्षामा छु ।
त्यो चौतारो त्यहीँ उपस्थित छ
त्यो वैचेनी त्यहीँ उपस्थित छ
त्यो एक्लोपन त्यहीँ उपस्थित छ ।
म त्यहीँ छु
जहाँ पहिला थिएँ !
यो सबै तिमीलाई थाहा छ ।
घरहरूले ढोका खोल्न बन्द गरेपछि
झ्यालहरूबाट निस्कँदै गर्दा
वा /अँध्यारोमा हामी रुँदै गर्दा
जसरी अंगालोमा बाँकी थियो ढुकढुकी !
म त्यहीँ छु
जहाँ भयले त्रासलाई निलिरहन्छ ।
म त्यहीँ छु
जहाँ घृणाले प्रेम निलिरहन्छ ।
म त्यहीँ छु
जहाँ अहिले केहि छैन ।
म त्यहीँ छु
जहाँ सँधै तिमी आउँथ्यौ र जान्थ्यौ !
भन्नेहरूले यही भन्छन् –
म त्यहीँ छु भन्छन् हिंडिरहने बटुवाहरूले
म त्यहीँ छु भन्छन् तिमीलाई चिनेका तिम्रा आफन्तहरूले
म त्यहीँ छु भन्छन् रमिता हेर्ने मानीसहरूले
म त्यहीँ छु भन्छन् ढुङ्गाका ईश्वरहरूले !
म त्यहीँ छु
जहाँ तिमी मलाई भेट्न आउँथ्यौ
र म तिम्रो प्रतीक्षामा देउराली झैं उभिरहन्थेँ ।
म त्यहीं छु
जहाँ अहिले झरेका पातहरू छन्
छुटेका साथहरू छन् ।
हो
म त्यहीँ छु ।
जहाँ समाप्त हुन्छ घृणाको सिमाना
र सुरु हुन्छ प्रेमको भुगोल !

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ
म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ ।
हरेक दिन
हरेक रात तिम्रो प्रतीक्षा गरिरहेको थिएँ
हरेक पल
हरेक क्षण तिम्रो प्रतीक्षा गरिरहेको थिएँ ।
तिमी रातहरूमा नआएपछि
मैले रातहरूलाई प्रेम गर्न थालेँ
तिमी दिनहरूमा नआएपछि
मैले दिनहरूलाई प्रेम गर्न थालें ।
तिमी कुनैपनि पल / कुनैपनि क्षण नआएपछि
मैले हरेक क्षण / हरेक पलहरूलाई प्रेम गर्न थालेँ !
म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ –
तिमीलाई फूलहरू उपहार दिन्छु भनेर सोचिरहेको थिएँ !
तिमीलाई सम्झेर म रोइरहेको थिएँ
शीत बनेर खसिरहेको थिएँ
आँसु बनेर जमिरहेको थिएँ ।
जून / तारा र आकाश
घाम / नदी र बतास
बाटो / सपना र यात्रा
मैले तिमीलाई जताततै खोजिरहेको थिएँ ।
मैले तिमीमा आफूलाई खोजिरहेको बेला
मैले तिमीभित्र प्रेम खोजिरहेको बेला
आँखामा जीवनको प्राप्ति र सौन्दर्य साँचेर
उजाड खण्डहरमा फूलहरू फुलिरहेको देखें
ढुंगाको कठोर छातीमा फूलहरू हाँसिरहेको देखें ।
मैले पहिलोपटक थाहा पाएँ
फूलहरू प्रेमका लागि होइनन्
स्वयं प्रेम हुन् ।
म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ
तिमीलाई फूलहरू उपहार दिन्छु भनेर सोचिरहेको थिएँ
तर / म त आजभोलि
फूलहरूको पुजारी भएको छु
फूलहरूको माली भएको छु ।
म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ
तर / आजभोलि
फूलहरूलाई प्रेम गर्न थालेको छु !
प्रेमको अवसानमा
प्रेमकै समाधीमाथि प्रेमपूर्वक फूलिरहने
फूलहरूलाई प्रेम गर्न थालेको छु !
