काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सेवा प्रणालीलाई प्रभावकारी बनाउन वडास्तरमै निरीक्षण अभियान सुरु गरेको छ। महानगरको प्रशासन विभाग र सूचना प्रविधि विभागका अधिकारीहरू वडाहरूमा पुगेर अनलाइन सेवा प्रणालीको अवस्था अवलोकन गर्दै सहजीकरणमा जुटेका छन्। मंगलबार सुरु गरिएको यो अभियानअन्तर्गत वडा नं। १६, १, र २६ मा अनलाइन सेवा सञ्चालनको निरीक्षण गरिएको छ।



निरीक्षणका क्रममा जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीहरूसँग छलफल गरी प्रणाली सञ्चालनमा देखिएका चुनौती, सुधार आवश्यकताहरू तथा प्रविधिको प्रभावकारी कार्यान्वयनका उपायहरू टिपोट गरिएको छ। हाल महानगरपालिकाले आफ्नै विकसित ३२ वटा प्रणाली सञ्चालनमा ल्याइसकेको छ, जसमा संघीय सरकार तथा विभिन्न निकायका डिजिटल प्रणालीहरू समेत समावेश छन्।
अबको आवश्यकता स्मार्ट यातायात प्रणाली, प्रिपेड मेट्रो कार्ड, स्मार्ट ग्रिड आधारित खानेपानी तथा विद्युत् वितरण, स्वचालित संकेत बत्ती, डिजिटल पार्किङ सेवा, व्यवस्थित फोहोर व्यवस्थापन, र स्मार्ट पूर्वाधार विकास लाई अझ प्रविधिमैत्री बनाउँदै लैजानु रहेको छ।
महानगरपालिकाले विद्युतीय सेवा प्रणालीलाई व्यापक बनाउन वडास्तरमै अनुगमन तथा सहजीकरण गर्दैछ। प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीको क्षमता अभिवृद्धि, प्रविधिगत पूर्वाधार विस्तार, र डिजिटल प्रणाली सुधार महानगरको प्राथमिकतामा रहेको छ।