काठमाडौं । बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषा सम्बन्धी अनुवादक नियुक्तिका लागि सूचना जारी गरेको छ ।



बागमती प्रदेश सचिवालयले चैत्र ६ गते जारी गरेको सूचना अनुसार तामाङ भाषा र नेपाल भाषाका अनुवादकहरूको नियुक्ती सम्बन्धी कार्यविधि २०८१ अनुसार बागमती प्रदेश सभा सचिवालयका लागि सहायकस्तर पाँचौ तहको एक जना तामाङ र एक जना नेपाल भाषाको अनुवादक माग गरेको हो ।
बागमती प्रदेशको सचिवालयमार्फत जारी गरिएको सूचना अनुसार १५ दिनभित्र ईच्छुक उमेदवारहरूले दर्खास्त दिइसक्नुपर्ने छ भने तामाङ भाषा अनुवादक १ जना र नेपाल भाषा अनुवादक १ जनाका लागि पद खुल्ला गरिएको जनाइएको छ ।
प्रादेशिक नेपाल भाषा अनुवादक र तामाङ भाषा अनुवादक छनौटका लागि
मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम २०० पूर्णाङ्गको भाषा विषय लिई कम्तिमा कक्षा १२ वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको, तामाङ भाषा तथा नेपाल भाषा बोल्न र लेख्न जानेको नेपाली भाषा शुद्धसँग बोल्ने र लेख्न जानेको, कम्प्युटर सम्बन्धी आधारभूत तालिम लिएको र सामयिक लिपिको ज्ञान र सीप भएको हुनुपर्ने उल्लेख गरिएको छ ।
अनुवादक पदका लागि दर्खास्त दिन चाहनेहरूले नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, सम्बन्धित भाषाको आधारभूत ज्ञान पुष्टि हुने प्रमाणपत्र तथा कम्प्युटर सम्बन्धि आधारभूत तालिम लिएको प्रमाणपत्र, पासपोर्ट साईजको फोटो २ प्रति पेस गर्नुपर्नेछ ।
छनौट हुने अनुवादकहरूको
सेवा करार अवधि २०८२ आषाढ मसान्तसम्म हुनेछ भने मासिक तलब सहायकस्तर पाचौं तहको कर्मचारीको तलब स्केल सरह हुने जनाइएको छ ।त्यस्तै ,परीक्षाको किसिम लिखित र अन्तरवार्ताको माध्यमबाट गरिने
छ भने दरखास्त फारम बागमती प्रदेश सभा सचिवालयको वेबसाईटमा उपलब्ध हुने बताइएको छ ।
ईच्छुक अनुवादकहरूले आवेदन शुल्क बापत १ हजार रुपैयाँ बागमती प्रदेश सभा सचिवालयको कार्यालय कोड न २०२००३२०१३ र राजश्च शीर्षक नं
१४२२९ मा दाखिला गरी भौचर अपलोड गर्न सक्नेछन् ।
दरखास्त दिने अन्तिम मिति २०८१ चैत्र २० गतेसम्म तोकिएको छ । त्यस्तै, लिखित परीक्षा २०८२ वैशाख ५ गते दिउँसो १ बजेदेखि हुने बताइएको छ ।