काठमाडौँ । एक दशकपछि नेपालमा शान्तिको सन्देश लिएर आउँदै छन् गिनिज वर्ल्डमा ३ ओटा रेकर्ड राख्न सफल प्रेम रावत ।
अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात शान्तिदूत, तीनओटा विधामा गिनिज वर्ल्ड रेकर्ड प्राप्त गर्न सफल तथा सर्वाधिक विक्री भएको पुस्तकका लेखक प्रेम रावत एक दशकभन्दा बढीको अन्तरालपछि पुनः नेपाल आउँदै छन् ।
विगत ५५ वर्षदेखि विश्वभरि शान्ति, आत्मचेतना र आन्तरिक परिपूर्णताको सन्देश फैलाउँदै आएका रावतले रुपन्देहीको विशेष कार्यक्रममार्फत शान्तिको सन्देश दिने भएका छन् ।
२०८२ वैशाख ६ गते शनिबार रूपन्देहीको सैनामैना नगरपालिका–७ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा उनले आफ्नो सन्देश प्रस्तुत गर्न लागेका हुन् । आत्मज्ञान प्रचार संघ नेपालले आयोजना गर्ने सो कार्यक्रम बिहान ७:३० बजेदेखि सुरु भई १० बजेसम्म चल्नेछ ।
रावतले हालैको भारत भ्रमणका क्रममा रायपुर, मिर्जापुर र देहरादुनमा हजारौँ श्रोताहरूलाई सम्बोधन गर्दै “आन्तरिक शान्ति प्रत्येक व्यक्तिको मौलिक आवश्यकता हो” भन्ने महत्त्वपूर्ण सन्देश प्रस्तुत गरेका थिए । “संसारमा सबै कुरा परिवर्तन हुन्छन् तर जबसम्म तपाईँ जीवित रहनुहुन्छ तबसम्म तपाईँको श्वासको लय स्थिर रहन्छ। यो श्वास सृष्टिकर्ताको उपहार हो। यससँग जोडिन सिक्नुभयो भने मात्रै तपाईँको जीवन परिवर्तन हुनेछ ।” भन्ने उनको सन्देश थियो ।
“स्वर्ग र नरक यहीँ छन् । तपाईँ क्रोध र अहङ्कारमा भएका बेला नरकमा हुनुहुन्छ तर जब तपाईँको हृदयमा प्रेम र कृतज्ञता भरिएको हुन्छ तब तपाईँ यहीँ स्वर्गको अनुभव गर्न सक्नुहुन्छ । आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् ।”
“आफ्नो आँखा खोल्नुहोस् अनि आफूभित्र हेर्नुहोस् त्यसपछि पहिलादेखि नै तपाईँभित्र रहेको त्यस चिजलाई अनुभव गर्न सक्नुहुनेछ । तब तपाईँको हृदय आनन्द र कृतज्ञताले भरिनेछ ।” उनले भनेका छन् – “यो केवल शब्द मात्रै होइन । म यसलाई अनुभव गर्ने तरिका पनि बताउन सक्छु । म यसलाई ‘ज्ञान’ भन्दछु ।”
शान्ति शिक्षा कार्यक्रम अन्तर्गत रावतले स्थापना गरेको द प्रेम रावत फाउन्डेसन (TPRF) द्वारा सञ्चालित Peace Education Program (शान्ति शिक्षा कार्यक्रम) संसारका ८७ भन्दा बढी देशहरूमा ४६ भाषामा सञ्चालनमा रहेको छ । स्पष्टता, समझदारी, आत्म–चेतना, चयनजस्ता विषयहरूमा आधारित कार्यशालाहरू समावेश गरिएको कार्यक्रमले विश्वभर ५ लाखभन्दा बढी व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उनका अनुयायीहरूले बताएका छन् ।
विद्यालय, विश्वविद्यालय, सुधारगृह र कारागारहरूमा समेत उनको शान्ति सन्देशको प्रभावकारी प्रयोग भइरहेको दाबी गरिएको छ ।
हालसम्म रावतले ३ ओटा विधामा गिनिज वर्ल्ड रेकर्ड कायम गरिसकेका छन् । सन् २०२३ मा भारतको लखनऊमा भएको उनको पुस्तक स्वयं की आवाज (Hear Yourself) को लोकार्पण कार्यक्रममा १ लाख १४ हजार ७ सय ४ जनाको प्रत्यक्ष उपस्थिति रहेको थियो । त्यस कार्यक्रममार्फत उनले एकल लेखकद्वारा सर्वाधिक श्रोतामाझ वाचन गरिएको विश्वकीर्तिमान कायम गरेका थिए ।
त्यस्तै, सन् २०२३ मै भारतको गयामा आयोजित कार्यक्रममा उनले दोस्रो विश्वकीर्तिमान कायम गरेका थिए । त्यस कार्यक्रममा ३ लाख ७५ हजार ६ सय ३ जना प्रत्यक्ष सहभागीहरूलाई सम्बोधन गर्दै एउटै सम्बोधनमा सबैभन्दा धेरै दर्शकको उपस्थितिको विश्वकीर्तिमान बनाएका थिए ।
सन् २०२५ मा बहुलेखकद्वारा पुस्तक वाचन कार्यक्रममा सर्वाधिक दर्शकको प्रत्यक्ष उपस्थिति अर्थात् १ लाख ३३ हजार २ सय ३४ जनाको सहभागितामा तेस्रो विश्वकीर्तिमान राखेका रावतले २०८२ वैशाख ६ गते शनिवार रूपन्देही जिल्लाको सैनामैना नगरपालिका स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सम्बोधन गर्ने भएका हुन ।