काठमाडाैं । जेन-जी आन्दोलन, प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गरि क्षति पुर्याइएको चन्द्रागिरि केबलकार कार्तिक २२ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
चन्द्रागिरि हिल्सले दसैं अगाडि नै मर्मत, सम्भार तथा आवश्यक प्राविधिक प्रणाली सुधार गरि केबलकार सञ्चालन गर्न खोजेको भएपनि महत्त्वपूर्ण सामानहरू नआइपुगेकोले केबलकार सञ्चालनमा केहि समय ढिलाई भएको तथापि अब आउँदो सातादेखि नै केबलकार पुनः सञ्चालन हुन लागेको हिल्सका कार्यकारी प्रमुख अरुण प्रधानले बताएका छन् ।
नेपालकै दोस्रो र उपत्यकाको पहिलो केबलकारको रूपमा चिनिएको चन्द्रागिरि केबलकार अत्याधुनिक अस्ट्रियाली प्रविधि र जनशक्तिको नियमनमा सञ्चालन हुँदै आएकोमा हाल केबलकार सञ्चालनका लागि प्राविधिक तथा विशेषज्ञको टिमले तीव्ररूपमा कार्य गरिरहेको हिल्सले जनाएको हो ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा केबलकारको बटम स्टेसनमा ठूलो परिमाणमा क्षति पुगेको थियो भने केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक प्रणाली समेत ध्वस्त भएको थियो ।