चन्द्रागिरि । छैठाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले उद्घाटन गरेका छन् । प्रतियोगिता चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हुन लागेको हो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित फुटबल ग्राउण्डमा भएको उद्घाटन सत्रमा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्ण प्रसाद खड्कीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा चन्द्रागिरि नगरभित्रका ४७ विद्यालयका २ हजार ७२ जना विद्यार्थीले भाग लिएका छन् ।
प्रतियोगितामा नगरक्षेत्रका १९ सामुदायिक, २५ संस्थागत विद्यालय तथा ३ वटा क्याम्पसका ११४८ जना छात्र र ९२४ जना छात्राले मार्सल आर्टस्, भलिबल, ट्य्राक एण्ड फिल्ड (एथ्लेटिक्स), कबड्डी खेल खेलका १७ वटा स्पर्धामा भाग लिने चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मेयर गिरीका अनुसार प्रतिस्पर्धीहरुले ५४ स्वर्ण ५४ रजत र ८० कास्य पदकका लागि आफ्नो खेल काैशल देखाउँदै छन् ।
प्रतियोगताको भलिबल खेल नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, कबड्डी खेलका स्पर्धाहरू थानकोटस्थित मंगलोदय माविमा हुनेछन् ।
यस्तै, मार्सल आर्टस् विधाका खेलहरू चन्द्रागिरि ५ दुरसञ्चारस्थित रिब्स माविमा हुनेछन् । ट्य्राक एण्ड फिल्डका खेलहरू नैकाप फुटबल मैदान र हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुने तालिका रहेको छ ।
विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक प्रदान प्रतियोगिताको विधागत विजयी विद्यालयलाई कप तथा सबै विधामा हासिल गरेको नतिजाका आधारमा सर्वोत्कृष्ठ विद्यालयलाई रनिङ्ग शिल्ड, कप र दोश्रो तथा तेस्रो सर्वोत्कृष्ठ विद्यालयलाई कप प्रदान गरिने प्रतियोगिताका लागि २५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।
प्रतियोगिता मंसिर २४ गते सम्पन्न हुने तालिका रहेको छ ।