काठमाडाैं । चन्द्रागिरि विकास मञ्चले आयोजना गरेको पाँचौं चन्द्रागिरि नगर कप ब्याडमिन्टन प्रतियोगिता २०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
राष्ट्रव्यापी खुल्ला भेट्रान्समा ३१ टिमको सहभागीता रहेको प्रतियोगितामा संजय कपाली र सुदिप योञ्जनको जोडीले हरि खत्री र राजकुमार पोखरेलेको जोडीलाई हराउँदै प्रथम हुन सफल भएका छन् भने, विशाल खड्का, दानबहादुर गुरुङ र उमेश केसी, राजु गुप्ता तेश्रो हुन सफल भएका छन् ।
चन्द्रागिरि नगरस्तरीय “बी” समूहमा मनिष केसी, प्रनिश मैनारको जोडीले राम नारायण घिमिरे, विकास लामाको जोडीलाई हराउँदै प्रथम हुन सफल भएका छन् । त्यस्तै, पुष्प बस्नेत, सानु श्रेष्ठ, सन्तोष महर्जन, गम्भीर महर्जन तेश्रो हुन सफल भएका छन् ।
अन्तर-नगरपालिका अन्तर्गत चन्द्रागिरि, दक्षिणकाली र कीर्तिपुर सहभागी प्रतियोगितामा अमृत थापा र आदित्य विक प्रथम हुन सफल भए भने अमित महर्जन, दिप्रिषमुनि बज्राचार्य दोश्रो हुन सफल भएका छन् । साथै, प्रमोद महर्जन, उज्वल महर्जन र आकाश जोशी, विकास राई तेश्रो भएका छन् ।
पाँचौ चन्द्रागिरि नगर कप ब्याडमिन्टन प्रतियोगिता २०८२ को उदयमान खेलाडीको पुरस्कारद्वार विप्लप खड्का र स्वभाव विष्टलाई सम्मान गरिएको थियो ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यता तथा उपप्रमुख बसन्ती श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार साथै तेस्रो हुने दुई टोलीलाई ५, ५ हजार नगर पुरस्कार, ट्रफी, मेडल वितरण गरिएको छ ।
त्यस्तै, राष्ट्रव्यापी खुल्ला भेट्रान्समा भने प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुने दुई टोलीलाई ५, ५ हजार नगर पुरस्कार, ट्रफी, मेडल वितरण गरिएको छ ।
त्यस्तै, चन्द्रागिरि नगर स्तरीय “बी” समूहमा भने प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने दुई टोलीलाई ५, ५ हजार नगर पुरस्कार, ट्रफी, मेडल वितरण गरिएको छ ।