मकवानपुर — मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट प्रहरीले ६ किलो ४० ग्राम चरेशजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा खटिएको प्रहरी टोलीले चित्लाङस्थित प्रहरी चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।
प्रहरीका अनुसार गोर्खा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु ६ टी एसयूभी गाडीलाई रोकेर जाँच गर्दा पछाडिको डिक्कीमा रहेको लगेजभित्र लुकाइराखिएको अवस्थामा पाँचवटा पोका फेला परेका थिए।
सेतो प्लास्टिकले बेरिएका ती पोकामा रहेको पदार्थको तौल प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थायी घर भई हाल बनेपा नगरपालिका–८ बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्। श्रेष्ठ गाडी चालक हुन् भने काफ्ले सोही गाडीमा सवार थिइन्।
प्रहरीले स्थानीय व्यक्ति तथा जनप्रतिनिधिको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरी बरामद पदार्थ, गाडी र दुवै जनालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
फोटो : शम्भु अधिकारी