रारा विमानस्थलको हवाई सेवा चार दिनदेखि अवरुद्ध

हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।

निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ ।

विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौं जानुपरेको बताए । ‘मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए,’ उनले भने ।

निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए । उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन ।

आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । 

खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन । 

यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन/चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ ।

Scroll to Top