नेकपा एसले १० भित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश इन्चार्ज र सचिवहरूलाई केन्द्रीय कमिटी सदस्यहरुको खाका तयार गर्नका लागि जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारीअन्तर्गत केही दिनभित्र केन्द्रीय सदस्यहरुको ड्राफ्ट तयार भएपछि केन्द्रसँग परामर्श गर्ने र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेगरी निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने, ‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यसभन्दा पहिला इन्चार्ज भएकाहरूलाई यथावत गरेका छौँ आन्तरिम व्यवस्थाका लागि । प्रदेशका इन्चार्ज र सचिवहरूसहितको केन्द्रीय कमिटीमा भएका सदस्यहरूसहित परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्नका लागि र केन्द्रीय सदस्यमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गरिएको छ ।

जिम्मेवारीअन्तर्गत केही दिनभित्र उहाँहरूले आफ्नो काम सम्पन्न गर्नुहुनेछ । केन्द्रसँग परामर्श गर्नुहुनेछ । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेछ ।

बढीमा १० दिनभित्रमा काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछौं भन्ने निर्णय भएको छ ।’ पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेको सन्देश दिएकोभन्दै प्रतिनिधिहरु उत्साहित भएर घर फर्किसकेको दाबी गरे ।  

Scroll to Top