नेपाल पब्लिक क्याम्पस सङ्घको ३४ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । २०४७ सालमा स्थापना भएको नेपाल पब्लिक क्याम्पस सङ्घले आज चन्द्रागिरि नगरमा रहेको शिक्षा क्याम्पसमा आफ्नो ३४ औं वार्षिकोत्स तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष प्रा.डा देवराज अधिकारी प्रमुख अतिथि, त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा खड्ग केसी तथा चन्द्रागिरि नगरपालिका वडा नं १० का वडाध्यक्ष शिवकुमार महर्जन विशिष्ट अतिथि रहेका थिए ।

अन्य अतिथिहरूमा पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपालका अध्यक्ष नरेन्द्र कोइराला , विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक डुलाराम चिमोरियाका साथै देशभरका विभिन्न सामुदायिक क्याम्पसका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्दै नेपाल पब्लिक क्याम्पस सङ्घका उपाध्यक्ष प्रदिप कटुवालले सामुदायिक क्याम्पसहरुको विद्यमान समस्याहरूबारे अवगत गराउँदै – जग्गा, अनुदान, सम्बन्धन लगाएत समस्याहरू रहेको, सामुदायिक क्याम्पसहरु समस्यामा रहेको, आर्थिकरुपमा कमजोर रहेको, दिनानुदिन दक्ष विद्यार्थी पलायनले जनशक्तिको शंकट देखापरेको र यी सबै समस्याको कारण हाम्रो विद्यमान शिक्षा नीति रहेको बताए । साथै , यस विषयमा गम्भीर समिक्षा गर्न हतार भइसकेको बताए ।

सङ्घका सल्लाहकार धनलाल महर्जनले हाम्रो विश्वविद्यालयहरूका पाठ्यक्रम राम्रो भए पनि समयानुकूल परिमार्जन र संशोधन आवश्यक भएको र समय सापेक्ष पाठ्यक्रम निर्माण गर्नुपर्ने औंल्याए ।

शुभकामना मन्तव्यकै क्रममा १० नं वडाका अध्यक्ष शिव कुमार महर्जनले शिक्षा क्षेत्रको गिर्दो अवस्थाले चिन्ता उत्पन्न गराएको साथै आफुहरुले स्थानिय जनप्रतिनिधिका नाताले वडा र नगरपालिकाले सकेको सहयोग गर्दै आइरहेको र त्यसले निरन्तरता पाउने बताए ।

त्यस्तै , विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्ग केसीले त्रिभुवन विश्वविद्यालय र नेपालको राजनीतिका कारण मात्रै शिक्षा क्षेत्र बिग्रीएको भाष्य निर्माण गर्नु नराम्रो भएको , विश्व भुमण्डलीकरण र मानिसहरूका चाहना र सपनाको विस्तारले समेत शैक्षिक क्षेत्र ध्रुवीकृत हुँदै गएको बताए । कार्यक्रममा बोल्दै उनले विश्वले अपनाइरहेको शिक्षा नीति र हाम्रो शिक्षा नीतिमा तात्विक अर्थभिन्नता नरहेको यद्यपि , विज्ञान , प्रविधि र उत्पादन मूलक व्यवहारिक शिक्षाको सन्दर्भमा सबैको साझा संकल्प आवश्यक रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि , विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले सामुदायिक क्याम्पसहरुले उठाएका मुद्दा र मागहरूप्रति आयोग प्रतिबद्ध रहेको साथै , छिट्टै त्यस सम्बन्धी विषयमा निकास निस्कनेगरी पहल थालिने बताएका थिए । उनले नेपालको शैक्षिक क्षेत्रको विकासमा सामुदायिक क्याम्पसहरूको योगदान अतुलनीय रहेको र नेपाल पब्लिक क्याम्पस सङ्घले आफ्नो ३४ औ वर्ष पार गरेकोमा शुभकामना दिएका थिए ।

त्यस्तै , नेपाल पब्लिक क्याम्पस सङ्घका वर्तमान अध्यक्ष एवम् कार्यक्रमका सभापति शत्रुघ्न प्रसाद गुप्ताले चालू आर्थिक वर्षको समिक्षा , संस्था नविकरण , सामुदायिक क्याम्पसको वर्गीकरण , दोब्बर दस्तुर फिर्ता र मिनाहा , संगठनात्मक गतिविधि , विभिन्न डेलिगेसन , स्थायी लेखा नं सम्बन्धमा , कार्यक्रम सम्बन्धन , शिक्षक – कर्मचारीको स्तर निर्धारण , क्याम्पस मर्जर , सामुदायिक क्याम्पसको विधान लगाएत विषयमा आफ्ना भनाइ राखेका थिए !

संस्था स्थापनाको ३४ औं वार्षिक उत्सवको अवसरमा गरिएको उक्त कार्यक्रममा देशभरका सामुदायिक विद्यालयहरूले २०७९ सालको विभिन्न संकाएमा राम्रो नतिजा ल्याउन सफल विद्यार्थीलाई नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो भने कार्यक्रममा वार्षिक कार्यप्रगति प्रतिवेदन समेटिएको “नेपाल पब्लिक क्याम्पस सङ्घ” नामक स्मारिका विमोचन गरिनुका साथै विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

Scroll to Top