सरकारले सडक सम्बन्धी ६० योजनालाई पहिलो प्राथमिकतामा, डेढ खर्ब लगानी हुने

राजेश बर्मा

काठमाडौं । सरकारले सडक सम्बन्धी ६० योजनालाई पहिलो प्राथमिकतामा राखेको छ ।

सरकारले आर्थिक बर्ष २०८१/८२ को बजेटमार्फत सडक पूर्वाधारतर्फ ६७ वटा कार्यक्रम कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो । जसमध्ये पहिलो प्राथमिकतामा १ खर्ब ४४ अर्ब ३४ करोड ७२ लाख रुपैयाँबराबरका ६० वटा कार्यक्रम परेका छन् ।

मन्त्रालयको रातो किताबअनुसार पहिलो प्राथमिकतामा काठमाडौं-तराई मधेश  द्रुतमार्ग, क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजना, बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम र काकरभिट्टा-इनरुवा-पथलैया-नारायणघाट खण्ड बजेटको हिसाबले सबैभन्दा उच्च प्राथमिकतामा परेको छ ।

यसमध्ये सबैभन्दा बढि काठमाडौं-तराई मधेश  द्रुतमार्गलाई बजेट उपलब्ध गराइएको छ । यस योजनालाई २२ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसपछि क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजनालाई १० अर्ब ४६ लाख, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमलाई १० अर्ब ६७ करोड ५२ लाख र काकरभिट्टा-इनरुवा-पथलैया-नारायणघाट सडक खण्डलाई १० अर्ब ३२ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी मदन भण्डारी राजमार्ग (बाहुनडाँगीदेखि रुपालसम्म) आयोजनालाई ३ अर्ब ५९ करोड ९५ लाख, गल्छी-त्रिशुली-मैलुङ्ग–स्याफ्रुवेशी-रसुवागढी सडक आयोजनालाई १ अर्ब ८० करोड ३८ लाख, शहिद मार्ग (घोराही-नुवागाउँ-तिला-घर्तिगाउ-थवाङ्ग-मुसिकोट-मैकोट) आयोजनालाई १ अर्ब २४ करोड ५९ लाख, पुष्पलाल राजमार्ग (मध्यपहाडी राजमार्ग) आयोजनालाई ३ अर्ब ६८ करोड ५४ लाख, भेरी करिडोर (जाजरकोट-दुनै-मरिम-तिन्जे धौ) लाई १ अर्ब ६ करोड १६ लाख र उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालिगण्डकी र कोशी) आयोजनालाई ४ अर्ब ४३ करोड १ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी स्थानीय सडक पुल निर्माण योजनालाई ३ अर्ब ५५ करोड ९१ लाख, हुलाकी राजमार्ग (पुलसहित) योजनालाई ३ अर्ब ३० करोड ७१ लाख, औद्योगिक करिडोर (व्यापारिक मार्ग) विस्तार आयोजनालाई १ अर्ब ११ करोड ४२ लाख, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण योजनालाई २ अर्ब ४६ करोड १८ लाख, राजमार्ग स्तरोन्नती तथा पुनस्र्थापना कार्यक्रमलाई ६ अर्ब ५४ करोड २८ लाख, नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनालाई ४ अर्ब ५९ करोड ७८ लाख र सासेक सडक सुधार आयोजनालाई ६ अर्ब ४० करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पहिलो प्राथमिकताअन्तर्गत नै चक्रपथ विस्तार आयोजनालाई १ अर्ब २५ करोड २१ लाख, सासेक मुगलिङ्ग-पोखरा सडक योजनालाई ६ अर्ब ३९ करोड २९ लाख, मिर्चैया-कटारी-घुर्मी योजनालाई १ अर्ब ५० करोड, सुर्यविनायक-धुलिखेल र कोटेश्वर-बानेश्वर-त्रिपुरेश्वर सडक योजनालाई १ अर्ब ५९ करोड र चतरा-मुलघाट-माझीटार- दोभान–ओलाङ्गचुङ्गगोला (तमोर करिडोर) योजनालाई १ अर्ब ९९ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी निर्बाचन क्षेत्र रणनैतिक सडक योजनलाई ४ अर्ब ९० करोड ५९ लाख, पूर्व-पश्चिम एसियाको यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमलाई ५ अर्ब २६ करोड ६८ लाख, रेल-मेट्रो रेल तथा मोनो रेल विकास आयोजना ३ अर्ब २० करोड, यातायात व्यवस्था सुदृढिकरण आयोजनालाई १ अर्ब ४१ करोड र सडक बोर्डलाई ४ अर्ब ३७ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

यी हुन् दोश्रो प्राथमिकतामा परेका ७ योजना

यसैगरि, दोस्रो प्राथमिकतामा ६ अर्ब १८ करोड ४९ लाख रुपैयाँबराबरको ७ वटा कार्यक्रम परेका छन् ।

यस कार्यक्रम अन्तर्गत ६४ करोड ७७ लाख बजेट भएको हेभी इक्वीपमेन्ट डिभिजनहरु, ४ करोड २५ लाख बजेट भएको मेकानिकल तालिम केन्द्र, ७ करोड ७९ लाख बजेट भएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, ३८ करोड १० लाख बजेट भएको दमक-चिसापानी सडक परेको छ ।

यस्तै ४ अर्ब ४३ करोड ५८ लाख बजेट भएको सडक सुधार आयोजना, २० करोड बजेट भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजना तथा ४० करोड बजेट भएको रणनैतिक सडक पुलहरुको विस्तृत सम्भाव्यता अध्ययन कार्यक्रम पनि परेको छ।

Scroll to Top