अनिता न्यौपानेका गहन – वैचारिक ३ कविता !

अनिता न्यौपाने एक अविछिन्न साहित्य साधक हुन् । साथै , साहित्यिक अभियन्ता समेत हुन् !

मकवानपुरमा बसेर नेपाली साहित्यको सेवा गरिरहेकी अनिता मुलतः कवि हुन् ।

उनको “फूलको विद्रोह” कृति प्रकाशित छ भने , “सम्बन्धको ज्यामिती” निबन्ध सङ्ग्रह तथा “द्रोपदी अश्वत्थामालाई प्राण दिन्छे” लामा कविताहरूको सङ्ग्रह प्रकाशोन्मुख छन् !

आजको “शनिबार साहित्यबार”मा गहन विचारको तहमा उक्लेर साहित्य साधना गरिरहेकी उनै अनिता न्यौपानेको ३ कविता प्रस्तुत गरिएको छ !

म अचेल कुचाे लगाइरहेछु

मन बढार्नुस् या दिमाग
कुचाे लगाउन जरूरी छ ।

जब म कुचाे लगाउन थाल्छु
कहिले हावा मैतिर आउँछ
र सबै सबै फाेहाेर मलाई नै खन्याउँछ
कहिले म कुचाे लगाउन थाल्छु
हावा विपरित दिशातिर वहन्छ
र उडाइदिन्छ सबैसबै फाेहाेर !

तपाईं ठान्नुहुन्छ हाेला
ऋतुचक्रमा धारण गरिने प्याडहरू हाेस्
जथाभावी प्रयोग गरिएका कन्डमहरू
तरकारीका छेस्काहरू हुन्
अझै बच्चाले च्यातेका
कागजका टुक्राहरू
ताछेका पेन्सिलका झिक्राहरू
श्रमले च्यापच्यापिएका कपडाकाे गन्ध
वा / सिंगान पुछेका रूमालहरू
आकाशबाट चराहरूले बिस्टाएका कुराहरू
फूलकाे साथ छाेडेर सुकेर
झरेका पातहरू –

झ्यालमा थुप्रिएकाे धुलाेकाे गन्ध
माटाेमा लत्पतिएका खुट्टाहरू
तरकारी किनेका प्लास्टिका झाेलाहरू
भाँचिएकाे पानी राख्ने भाँडाे
नचलेका घडीहरू
सुगन्ध नआउने फूल –

यी सबै सबै फाेहाेर हुन्
हामीलाई बारम्बार कुचाे लगाउन बाध्य तुल्याउने !

तर
यी फाेहाेर कदापि हैनन्
यी त पात्र मात्रै हुन् फाेहाेरका
जसले सर्लक्कै निलेर सफाका
राज्यलाई दुर्गन्धित घाेषणा गरिरहेका छन् !

सूर्य उदाउनुअघि
आमाले किन कुचाे लगाउँछिन
साेचिरहने बाल मस्तिष्कबाट
आज आफै कुचाे लगाउँदै गर्दा
अझै बेस्कन साेचिरहेछु
कुचाे लगाउन किन जरूरी रहेछ
कुनै सम्बन्धहरूमा
कुनै बाटाेहरूमा
कुनै मनहरूमा
कुनै हार्दिकताहरूमा
कुनै आत्मियताहरूमा
कुनै आफ्नाेपनहरूमा ?

अचेल म कुचाे लगाइरहेछु
मनकाे विकारलाइ फ्याँक्न
मस्तिष्कमा आइरहेकाे वासनाहरूलाई हटाउन
साेचमा बसेकाे थुप्राेहरूलाई आगाे लगाइदिन
दुर्भाव, घृणाका च्यादरहरूलाई च्यात्न
पुरातनकाे पिरामिड भत्काउन
सपनाकाे ऐंठनबाट ब्युँझन
र सफा गरिरहेछु
चुनाैतीकाे राजमार्गमा उभिन !

म फगत एक मान्छे

तिमीले जति किच्न खाेजेपनि
म किचिन्न
बरु ती चाप र दबाब
यन्त्रणालाई बनाएर बाँसुरी
म फक्रन्छु
र फैलाउँछु सुवास लाेकमा ।

म मेराे लागि घाम हुँ
उज्यालो छरिरहन्छु, बस्तिभरि
म मेराे लागि हावा हुँ, अक्सिजन
भरिरहन्छु प्राणहरूमा
म दीयाे हुँ
चिरिरहन्छु कालाे रात !

तिमी सदियौँदेखि अभ्यस्त छौ थाहा छ
तर मलाई पतन बनाउँने कल्पना गर्दै नगर
तिमी मलाई झार बनाउँछु भन्ने कुरा साेच्दै नसाेच
तिमी मलाई पाइतालाकाे धुलाे सम्झने चेष्टा नराख !

मलाई ढाेका थुनेर राख्ने काेशिस गर्‍यौ भने
म भत्काउने छु घरका भित्ताहरू
फुटाउँनेछु धमनी र शिरा
र निस्कनेछु स्वतन्त्र यात्रामा
मेराे खुट्टामा बाँधिदियाै भने
जञ्जिरकाे धागाे
चुँडाल्नेछु र तय गर्नेछु शिखरकाे यात्रा !

म तुइन हैन
जतिबेला पनि चुँडिन सक्ने
म भिर हैन
जतिबेला पनि भत्कन सक्ने
म धुलाे हैन
जतिबेला पनि उडाउन सक्ने
म मान्छे हुँ
एक मान्छे, जसले
तिम्राे विचारकाे गिदीलाई
मुछेर मेरा विचारहरूसँग
मारेर विषाक्त पुस्तैनी विचार
एक नूतन ब्रह्माण्ड तयार गर्न सक्छु !

सत्ताले रङ बदलिरहन्छ

पुग्नुअघि सत्तामा
सडकमा उभिएर उसले एक्लै सही
धारे हात लगाइरह्याे
पजेराे चढेकालाई
पानीकाे फाेहाेरामा भिजेर
शान्तिगीत गाउन पनि भ्यायाे
भयको ढुङ्गाले हानेर हाेस्
या बालेर आफ्नै छातीको टायर
समयको सडकमा रातै आँसुको हाेली खेल्याे
अश्रुग्यास खाएर अथवा अनुहारमा पम्प्लेट टाँसेर
सुनामी दिनकाे मुस्कानको सपना देख्याे
जिन्दावाद र मुर्दावादमा गाइरह्याे
संसद् भवन अगाडि उभिएर
धेरैपटक

त्यहीँबाट चुनियाे एउटा वाचाल जवान
घामलाई सबैभन्दा अधिक ढुङ्गा हान्न जान्ने
माइक पाएपछि रातभन्दा चर्को कराउन सक्ने
उता पुग्दा उतै हाे भन्ने
यता आए यतै ठिक भन्ने
ऊ उही थियाे
जसले सत्ताको भाषा बुझ्याे
अनि प्रवेश गर्‍यो संसदीय भाका गाउने रोदीघरमा
फुकाल्याे निधारमा बाँधिएका
विरोधका काला पट्टीहरू
धुलाम्य लुगा निकालेर विषाक्त जिउबाट
सर्लक्क लगायाे
चुनावी दाैरा-सुरूवाल र लोकतन्त्रको कालाे काेट
पिर्कामा उभिएर हाेस् या
उपरखुट्टी लाएरै गुलियो कुर्सीमाथि
अहमको सलामी चाख्याे
विकासको गाडीमा चढेर
जनताका छातीमा भाषणका गोलीहरू दाग्न थाल्याे
रातो चश्माले हेरेर बलात्कारमा
सुन्दरताकाे अपरिमित परिभाषा गायाे
अनि नाङ्गै उभिएर
उघ्न थाल्यो
अभिमानको आँगनमा !

सानाे झ्यालबाट –
ठुलो संसार देखियाे भनेर
चिच्याउने
हामीजस्ता जनताको बुद्धिमा
उपहासको नुनचुक दलेर
हाम्रा आकांक्षाका लासमा
सपनाको च्यादर ओढाएर
सत्ता आफूलाई महान् मानिरहन्छ !
चिन्ताको खोरिया खनेको अभिनयमा
सत्ता आफ्नाे रङ बद्लिरहन्छ !

Scroll to Top