महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सृष्टि सञ्चालनका निम्ति नारी जातिको जैविक योगदानलाई प्रकृतिले एक अतुलनीय भुमिका स्वरुप प्रदान गरेको ऋतु चक्रलाई हामी आमरुपमा महिनावारी , रजस्वला , रजोनोवृति , नछोइने भएको लगायत अनेक विशेषणद्वारा सम्बोधन गर्ने गर्छौं !

एक निश्चित उमेरमा पुगेपछि एउटी नारीले वहन गर्नुपर्ने जैविक ऋतुचक्र आफैमा जटिल प्रक्रिया हो । एउटी बालिका युवती हुँदै आमासम्म पुग्न र सृष्टि निर्माणको चरणमा प्रवेश गर्न प्रकृतिको नियमद्वारा निर्धारण गरिएको महिनावारी जस्तो कठिन , जटिल र मनोवैज्ञानिक दृष्टिलेसमेत कष्टसाध्य प्रक्रियालाई कमैले मात्र अनुभव गर्न सक्छन् !

सामान्यतया ११ वर्षदेखि सत्र वर्षसम्म का नारीहरुको जिवनमा हुने महिनावारी सम्बन्धी विषयमा अक्सर उतिसारो बहस छलफल नहुनेगरेको अवस्थामा ” हामी सक्छौं ” We Can ” संस्थाको आयोजनामा आज चन्द्रागिरि नगरपालिका वडा नं १० स्थित स्पार्क हेल्थ केयरको सभाहलमा ” महिनावारी स्वच्छता सचेतना कार्यक्रम गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठको प्रमुख उपस्थिति तथा वडाका अध्यक्ष शिव कुमार महर्जन, स्थानीय जनप्रतिनिधिहरु सीता महर्जन , गमला नेपाली लगायत सम्बद्ध संस्थाका पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो !

कार्यक्रमलाई वडा अध्यक्ष शिव कुमार महर्जन , प्रमुख अतिथि उपमेयर बसन्ती श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा चन्द्रागिरि नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठले महिलाहरुको महिनावारीको बेलामा भोग्नुपर्ने भावात्मक समस्या निक्कै कठिन हुने गरेको साथै भर्खरै युवा वयमा कदम राख्दै गरेका युवतीहरुका निम्ति महिनावारी भन्ने विषय, जिज्ञाशा, डर र रहस्यले भरिएको नवीन अनुभुति हुने भएकाले , परिवार , समाज र राष्ट्रले यस्तो विषयमा विशेष सावधानी र ध्यान पुर्याउनुपर्ने बताइन् । साथै यस्तो गम्भीर र संवेदनशील मुद्दामा केन्द्रित रहेर कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिएकि थिइन् !

Scroll to Top